दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – आज साउनको पहिलो सोमबार । अघिल्ला वर्षहरुमा पशुपतिमा रातिदेखि नै दर्शनार्थीको घुईंचो लाग्थ्यो । तर यस वर्ष पशुपति मन्दिर सुनसानजस्तै छ । पशुपति क्षेत्र विकास कोषले मन्दिर खोल्न असमर्थ रहेको जनाएको छ ।
कोरोना भाइरसको जोखिमका कारण गएको चैत ११ गतेदेखि नै बन्द गरिएको पशुपतिनाथको मन्दिर आज पनि नखुल्ने भएको हो ।
सरकारले भिडभाड हुने सार्वजनिक ठाउँ, मन्दिर, विद्यालय लगायत नखोल्ने निर्णय गरेकाले साउन महिनाको पहिलो सोमबार भए पनि दर्शनार्थीका लागि मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदिप ढकालले जानकारी दिनुभयो ।
ढकाल भन्नुहुन्छ, ‘दर्शनार्थीको आस्थाको हामी सम्मान गर्छौं, तर कोरोनाको जोखिम उच्च रहेकाले मन्दिर नखुलाउन हामी बाध्य छौँ । यसलाई यहि हिसाबले बुझिदिन भक्तजनलाई आग्रह गर्छौं ।’
उहाँले कोरोनाको जोखिम कायमै रहेकाले घर घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गर्नुभएको छ । पशुपति मन्दिर मात्रै नभएर अन्य ठाउँका मन्दिरमा पनि नजान पशुपति क्षेत्र विकास कोषको सुझाव छ ।
महामारीको विषम परिस्थिति भएकाले यस्तो बेला घरमा नै पूजापाठ गर्न कोषले आग्रह गरेको हो ।
कोरोना कहरकैबीच पशुपति क्षेत्र विकास कोषले चाँडै नै दर्शनार्थीका लागि मन्दिर खुलाउने तयारी गरेको छ । तर कसरी ?
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदिप ढकाल भन्नुहुन्छ, ‘दर्शनार्थीको लागि मन्दिर खोलेपछि हामी सबैभन्दा पहिले व्यक्ति व्यक्तिबीचको दूरीलाई कायम गर्नेछाैं।’
दूरी कायम गर्न कोषले मन्दिर प्रवेश गर्ने र मन्दिरबाट बाहिरिने ढोकासँगै बाटो छुट्याउने छ । यस्तै ठाउँ ठाउँमा साबुनपानीले हात धुने व्यवस्था गरिनेछ भने स्यानिटाइजर पनि राखिनेछ । यस्तै मास्कलाई अनिवार्य गरिनेछ ।
तर मन्दिर खुले पनि पहिलेको जस्तो लाइनमा उभिएर दर्शन भने गर्न पाईने छैन । भक्तजनले चढाउन ल्याएको फूलमालासहितको सामग्री बाहिरै राख्नुपर्नेछ र कोषले बनाएको नियम अनुसार दर्शनार्थीले मन्दिरको दर्शन गर्नुपर्ने हुन्छ ।
सरकारले साउन ७ गतेसम्म लकडाउन गरेकाले यसपछि हुने थप निर्णय पर्खेर मन्दिर खोल्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ ।
साउनको दोस्रो सोमबार भने सुरक्षा मापदण्ड पूरा गरेर मन्दिर खोल्ने कोषको तयारी छ, तर निर्णय भने भईसकेको छैन ।
पशुपति मन्दिरमा हुने नियमित नित्य पूजा भने आज पनि हुनेछ । लकडाउनका बेला दर्शनार्थीका लागि पशुपति मन्दिर नखुलाए पनि मन्दिरमा हुँदै आएको नित्य पूजा भईरहेकै छ । यस्तै बेलुका हुने आरती पनि विधिपूर्वक एक जनाले गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।