दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले बाढी र पहिरोले घर पूर्णरूपमा क्षति भएका परिवारलाई बसोबासका लागि सघाउने गरी प्रकृया अगाडि बढाएको छ ।
सकेसम्म घर नै पुनर्निर्माण गर्नेगरी योजना अघि बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अहिले विधि र प्रकृयाबारे छलफल चलिरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार यसै हप्ताभित्र स्पस्ट कार्ययोजना ल्याउनेगरी तयारी भएको छ । तथ्याङ्क जुटाउन समय लाग्ने भएकाले केही समस्या भैरहेको उहाँको भनाई छ । पोखरेलका अनुसार विपद् प्रभावित क्षेत्रमा त्यहाँका पालिका र प्रदेश सरकारको समन्वयमा घरबारबिहीनलाई घर पुनर्निर्माणमा सघाउने गरी तथ्याङ्क संकलनको काम भैरहेको छ ।
बाढी पहिरोमा ज्यान गुमाउनेका परिवारलाई सरकारले एक लाख रुपैयाँ राहत स्वरूप दिने गरेको छ । त्यसबाहेक पनि प्रदेश र पालिकाले आफूहरूको क्षमता अनुसार राहत दिंदै आएका छन् । सरकारले दिदै आएको राहत पीडितका लागि अपुग रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलको भनाई छ ।
सिन्धुपाल्चोकका बाढीपहिरो पीडितको वाग्मती प्रदेश सरकारले घर बनाइदिने निर्णय गरिसकेको छ । सरकारले घर पुनर्निर्माणमा सघाउने तयारी गरेका बेला भूगर्भविज्ञले भने पुरानो पहिरो क्षेत्रमा फेरि पनि घर बनाउने, बस्ती बसाल्ने गल्ती नगर्न सुझाव दिएका छन् ।
मुख्यगरी बसोबासलाई ध्यान दिएर यसअघि व्यवस्थापन गर्न नसक्दा जोखिम बढेको र क्षति भोग्नुपरेको भूगर्भका विज्ञ लिलानाथ रिमालले बताउनुभयो । बाढी पहिरो, भूकम्प जस्ता विपद् निरन्तर आउने भएकाले विपद्बाट हुने क्षति र जोखिम घटाउन पूर्व तयारी र सावधानी नै महत्वपूर्ण हुने उहाँको भनाई छ ।
पुरानो पहिरोमा बस्ती विस्तार हुनबाट रोक्न, खोला खोल्सामा बस्ती नबसाउन, जमिन प्रयोगको योजना बनाएर कार्यान्वयन गर्नुपर्ने भूगर्भका विज्ञ रिमालको जोड छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।