पहिरोका कारण विभिन्न सडकखण्ड बन्द, यात्रु मर्कामा

 साउन ५, २०७७ सोमबार १३:२७:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – केही दिनदेखि परिरहेकाे पानीका कारण पहिराे खस्दा विभिन्न सडकखण्ड बन्द भएका छन् । 

सिन्धुलीको सुनकोशी गाउँपालिका १ कमेरेफाँटमा खसेको पहिरोका कारण वीपी राजमार्ग बन्द भएको छ । सिन्धुलीमा बिहान पौने १२ बजे पहिरो खसेको प्रहरीले जनाएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीकाे भनाइ छ । 

यस्तै धादिङ र चितवनको सीमामा पर्ने मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द भएको छ । सडक बन्द हुँदा चितवनर धादिङ हुँदै काठमाण्डौ आउने गाडी पनि बीच बाटोमा नै रोकिएका छन् । गाडी रोकिँदा मौवाखोला आसपास गाडीको जाम भएको छ । पानी परिरहेकाले गाडी चल्न कति समय लाग्छ भन्न सकिने अवस्था नभएको धादिङ प्रहरीले जनाएको छ । 

यसैबीच पहिरोका कारण बन्द नारायणगढ–मुग्लिन सडकखण्ड अझै सञ्चालनमा आएको छैन । इच्छाकामना गाउँपालिका ६ चारकिलो भन्ने ठाउँमा बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको हो । 

पानी लगातार परिरहेको र माथिबाटसमेत थप पहिरो खसिरहेकाले आज दिनभर जस्तो सडक बन्द हुन सक्ने प्रहरीले जनाएको छ । यात्रुलाई वैकल्पिक बाटो भएर आवत जावत गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

यो सडकखण्डमा पटक–पटक पहिरो जाने गरेकाले बाटो बन्द हुने गरेको छ । खोलाले गरेको कटान र पहिरोका कारण यस अगाडि बन्द भएका केही सडक पनि अझै सञ्चालनमा आउन नसकेकाे सडक विभागले जनाएको छ । 

रसुवाकाे गोसाईँकुण्ड गाउँपालिका ३ कुलुङ पुलमा स्याँफ्रुबेसी–टिमुरे पासाङ ल्हामु सडकखण्ड पहिरोका कारण पूर्णरुपमा बन्द भएको छ । प्रहरी चौकी स्याँफ्रुबेसीबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।

लमजुङकाे मर्स्याङ्दी गाउँपालिका ४ च्याम्चेमा पहिरोले बेसीसहर ​मनाङ सडकखण्ड पनि बन्द भएको छ । प्रहरी चौकी बाहुन डाँडाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । प्युठानकाे सरूमारानी गाउँपालिका ४ काे पाकुरी खोलाकाे भालुबाङ रोल्पा सडकखण्ड बिहानदेखि बन्द छ । प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।

चितवनकाे इच्छाकामना गाउँपालिका ६ मुग्लिन–नारायणघाट सडकखण्डको चारकिलोमा पहिरो झरेर बिहानदेखि सडक बन्द भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टाेलीले सडक खुलाउन पहल गरिरहेको छ ।

दाङकाे घोराही उपमहानगरपालिका १९ च्यानगैरामा घोराही–रोल्पा–होलेरी सडकखण्ड बन्द छ । प्रहरी चौकी दुई खोलीबाट खटिएको टाेलीले सडक खुलाउन पहल गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया