धान खेतीमा कोरोना र मनसुनको साथ : डुबान र रोगकीरा बाधक

 साउन ९, २०७७ शुक्रबार १२:४७:८ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ - धेरै क्षेत्रमा नकारात्मक असर पारेको कोरोनाले धान रोपाइँमा भने सकारात्मक असर पारेको छ । त्यसमाथि यसपालि बेलैमा मनसुन सक्रिय भएपछि रोपाइँ राम्रो भएको छ ।

 मनसुन र कोरोना सङ्क्रमणको जोखिमका कारण घरगाउँ पुगेकाको सक्रियताले धानको उत्पादन बढ्ने संकेत देखिएको कृषि मन्त्रालयले जनाएको छ । ‘यसपटक मनसुन र काम गर्ने जनशक्ति निकै सक्रिय भएकाले धानको उत्पादन नै बढ्ने देखिएको छ’ कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भन्नुभयो, ‘विगतको तुलनामा रोपाइँ समेत अलि धेरै भएको छ ।’

झण्डै ९२ प्रतिशत रोपाइँ

अहिलेसम्म देशभर गरी झण्डै ९२ प्रतिशत रोपाइँ भएको छ । असार मसान्तसम्म ८१ प्रतिशत रोपाइँ भएकोमा त्यसपछि झण्डै ११ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले रोपाइँको अन्तिम तथ्याङ्क संकलनको काम भैरहेको जनाएको छ । अघिल्लो वर्ष साउन पहिलो हप्तासम्म झण्डै ६४ प्रतिशत रोपाइँ भएको थियो ।

कोरोनाको जोखिमका कारण शहरबाट गाउँ गएका तथा विदेशबाट घर फर्केकाहरु समेत खेतीमा सक्रिय भएका र मौसमले समेत साथ दिएपछि धान रोपाइँमा समेत सहज भएको मन्त्रालयको भनाइ छ । 
‘लगभग रोपाइँ सकिएको छ’ कृषि मन्त्रालयका प्रवक्ता केसीले भन्नुभयो, ‘बाढी नआएको भए यसै हप्ता सकिन्थ्यो, अब कहीँ कतै थोरै ठाउँमा मात्रै रोपाइँको काम बाँकी होला ।’ मनसुनका बेला झण्डै १३ लाख ७१ हजार हेक्टरमा रोपाइँ हुने गरेकोमा अहिलेसम्म १२ लाख ५७ हजार हेक्टरमा रोपाइँ भैसकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार अहिलेसम्म विभिन्न प्रदेशमा रोपाइँको अवस्था यस्तो छ :
प्रदेश १- ८२ दशमलव ४१ प्रतिशत

प्रदेश २- ९६ दशमलव ७७ प्रतिशत

वाग्मती प्रदेश- ८२ दशमलव २२ प्रतिशत

गण्डकी प्रदेश- ९१ दशमलव ११ प्रतिशत

प्रदेश ५- ९५ दशमलव १४ प्रतिशत

कर्णाली प्रदेश-९६ दशमलव २३ प्रतिशत

सुदूरपश्चिम प्रदेश- ९५ दशमलव ४९ प्रतिशत

बाढी र डुबानको असर

गएको जेठ ३० गतेदेखि नेपालमा मनसुन भित्रियो । त्यसको १० दिनपछि देशैभर मनसुन सक्रिय भयो । मनसुन सक्रिय भएपछि धमाधाम रोपाइँको काम सुरु भयो । यसवर्ष पानी समयमै परेकाले रोपाइँको काम निकै सहज भयो । रोपाइँ बेलैमा सकेका किसान खुसी भए । 

तर केही दिनयता लगातार परिरहेको पानीले बाढी आएपछि धानखेती नै डुबानमा परेको छ । ठूला साना नदी तथा खोलाहरूमा आएको बाढीले रोपिसकेको धान खेत नै डुबानमा पारेको हो ।

साउन लागेलगत्तै दिनहुँजसो लगातार परेको पानीले धान रोपाइँ र रोपिसकेको धानको बेर्नामा पनि असर गरेको छ । बल्लतल्ल धान रोपिसकेको खेतमा बाढी पसेर डुबानमा पारेपछि किसान मारमा परेका छन् । तर मन्त्रालयले डुबानको असरबारे विवरण संकलन भैरहेको जनाएको छ ।

‘बाढीका कारण धानबालीमा केही क्षति पुगेको छ, रोपाइँमा पनि असर पारेको छ’ मन्त्रालयका प्रवक्ता केसीले भन्नुभयो, ‘देशभर भएको क्षतिको विवरण लिने र संकलन गर्ने काम भैरहेकाले के कति क्षति भयो भनेर विवरण अध्ययनपछि मात्रै भन्न सकिन्छ ।’

बाढी, डुबान र रोग कीराबाट जोगाउन सके धानको उत्पादन बढ्ने विज्ञले जनाएका छन् । बाढी, डुबान तथा रोग कीराले धानबालीमा असर गर्ने भएकाले किसानलाई सचेत रहन नेपाल कृषि अनुसन्धान परिषद् नार्कको राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक सुरज वैद्यको सुझाव छ। त्यसका लागि किसानले मुख्यगरी धानको बेर्नालाई डुबानबाट जोगाउने र रोग लागे तत्काल उपचार पद्धती खोज्नुपर्नेमा उहाँको जोड छ । 

धानबालीमा लाग्ने मुख्य रोगकीरा

नेपाल कृषि अनुसन्धान परिषद् नार्कको राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक वैद्यका अनुसार उत्पादन बढाउन मल बीउको छनोट र रोगकीराबाट जोगाउन मुख्य ध्यान दिनुपर्छ । बीउको छनोट गरी रोपाइँ गरिसकेको अवस्थामा मलखाद, गोलमेड र रोगको सङ्क्रमणतर्फ सचेत रहन उहाँको आग्रह छ ।

यो बेला पानी धेरै भएको ठाउँमा धानको बेर्ना, जरा, फेद र डाँठमा विभिन्न रोग लाग्ने भएकाले पानीको निकासमा मुख्य ध्यान दिन उहाँको सुझाव छ । ‘धानको बेर्ना, जरा, फेद, डाँठ, पात र बालामा समेत रोग लाग्छ’ विज्ञ वैद्यले भन्नुभयो, ‘पानी धेरै भयो भने उत्पादनमा पनि असर पर्न सक्छ त्यसैले खेतमा पानीको निकासको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्छ ।’ धानबालीमा मरुवा, डडुवा सहित ढुसीजन्य रोग देखिन्छ । पहाडी जिल्लामा मरुवा रोग र तराईका जिल्लामा डडुवा रोग बढी लाग्छ । यी रोगले धानबाली फस्टाउन दिँदैन ।

ब्लाष्ट रोग

यो धानमा देखिने मुख्य रोग हो । यो रोग लागे टिका टिका भएका खैरो थोप्ला देखिन्छ । खेतमा पानी बढी भए यो रोग देखिन सक्ने विज्ञ वैद्यले बताउनुभयो ।

ब्याक्टेरियल लिफ ब्लाइट

बेर्नाको पातमा किनाराबाट लामो पहेँला वा खैरा रङ्गका धर्साहरु देखिन्छ । पात टुप्पोबाट सुक्दै मर्न सक्छ । यसका लागि सिफारिस अनुसार रासायनिक मल हाल्न, रोग लागेको खेतमा केही दिन पानी सुकाउन उहाँको सुझाव छ ।

फेद कुहिने रोग

खेतमा रोग लागेको बिरुवा अग्लो नहुने, पहेँलिने र फेद कुहिएर मर्ने हुन्छ । यस्तो बिरुवा उखेलेर हटाउने वा जलाएर नष्ट गर्न सकिन्छ । त्यस्तै पातको फेद डढुवा रोग लागे बोट सुकेर डढेको जस्तो देखिने बालीरोग विज्ञ वैद्यले बताउनुभयो ।

धानको जुका

धानमा लाग्ने जुकाले धानको जरामा आक्रमण गर्छ । जुकाले आक्रमण गरे जराबाट बिरुवाले आवश्यक पर्ने खाद्य तत्व लिन सक्दैन । त्यसका लागि खेतमा पानीको उचित निकास मिलाउनुपर्नेमा उहाँको सुझाव छ । 

रोगकीराबाट धानबालीलाई जोगाउन सकेसम्म कृषि प्राविधिकसँग सल्लाह गरी विषादी प्रयोग गर्न, गोडमेल र मलखादको प्रयोगमा ध्यान दिन पनि नेपाल कृषि अनुसन्धान परिषद् नार्कको राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक वैद्यको सुझाव छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया