तरकारीको भाउ बढेको बढ्यै

 साउन १८, २०७७ आइतबार ७:१९:२९ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - कीर्तिपुर बस्ने राजेश थारुको भान्सामा हिजोआज हरियो तरकारी कम मात्रै पाक्छ । उहाँले हरियो तरकारीको सट्टामा गेडागुडीको प्रयोग गर्न थाल्नुभएको छ ।

पहिला दुई थरी तरकारी पकाउने थारुले, अहिले एकथरी गेडागुडीले टार्दै आउनुभएको छ । उहाँको भान्सामा हरियो तरकारी २/३ दिनमा एक छाक मात्रै पाक्छ ।

उहाँको तीन जनाको परिवार छ । तीन जनाको परिवारले नियमित हरियो तरकारी खाने हो भने दिनमा सय रुपैयाँले पनि पुग्दैन । त्यही भएर उहाँले विकल्पमा गेडागुडीको प्रयोग गर्न थाल्नुभएको हो ।

थारु भन्नुहुन्छ ‘तरकारीको भाउ छोइसक्नु छैन । लकडाउन खुलेपछि तरकारीको भाउ घट्ने आशा थियो, तर झन् महँगो भयो ।’  

अहिले बन्दा, घिरौँला, मूला, फर्सी, चिचिन्डो लगायतका सबैजसो हरियो तरकारीको भाउ छोइसक्नु छैन । यस्तै हुने हो भने भाडामा बस्ने र कम आम्दानी हुने त कसरी टिक्नु ? तरकारीको भाउ बढ्दा राजेशजस्तै धेरै उपभोक्ता चिन्तामा छन् ।

सबै तरकारीको भाउ बढ्यो

बजारमा प्रायः सबैखालका तरकारीको भाउ बढेको छ ।  सबैको भान्सामा प्रयोग हुने रातो आलु गएको हप्तासम्म प्रतिकिलो औसत मूल्य ४८ मा बिक्री हुने गरेको थियो । तर अहिले त्यसको भाउ  बढेर ६९ रुपैयाँ पुगेको छ ।

त्यस्तै किलोको ४८ रुपैयाँमा बिक्री हुने मुडेको आलुको भाउ ५६ रुपैयाँ पुगेको छ । प्रायः सबैले तरकारीमा प्रयोग गर्ने सानो गोलभेँडाको भाउ पनि सामान्य अवस्थामा भन्दा निकै बढेको छ । किलोमा औसतमा २५ देखि ३० रुपैयाँमा पाइने सानो गोलभेँडा अहिले ४५ देखि ५० रुपैयाँसम्म पुगेको छ ।

यस्तै गएको हप्तासम्म ३० देखि ३५ रुपैयाँसम्ममा पाइने ठूलो गोलभेँडा अहिले किलोमा औषतमा ६५ देखि ७० रुपैयाँसम्म पुगेको छ । यस्तै बन्दा, बोडी, भन्टा लाम्चो, घिउसिमी, तितो करेला, लौका, परवर, लौका,

घिरौंला, भिण्डीलगायत सम्पूर्ण हरियो सागपातमा पनि धेरै नै मात्रामा भाउ बढेको छ । 

आयात र उत्पादनमा कमीका कारण भाउ घट्यो 

तरकारीको आयात र उत्पादनमा कमी आएकाले भाउ घट्न नसकेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सदस्य राजन न्यौपानेले जानकारी दिनुभयो । उहाँकाअनुसार कालीमाटीमा सामान्य अवस्था दैनिक ७ देखि ९ सय टन तरकारी भित्रने गरेकोमा अहिले ४ देखि ५ सय टन मात्रै भित्रने गरेको छ ।

कोरोना भाइरसका कारण गरिएको लकडाउनपछि भारतबाट आउने तरकारीमध्ये एक चौथाई तरकारी मात्र नेपाल भित्रने गरेको छ । पहिले नेपाली बजारमा आधा तरकारी भारतबाट आयात हुने गरेको थियो । 

नेपालमा वर्षातको समयमा उत्पादन कम नै हुने गरेको थियो । तर यसपटक भने कोरोनाका कारण भएको लकडाउनले आपूर्ति कम हुँदा भएका तरकारी पनि किसानले बजारसम्म लैजान नसक्दा आपूर्ति कम भएको हो । लकडाउन खुलेपछि बाढी र पहिरोका कारण धेरै तरकारी नोक्सानी भएको उहाँ बताउनुहुन्छ । 

लकडाउन अघि ठूलो जनसंख्या उपत्यका बाहिर गएको र लकडाउन खुलेसँगै आउने क्रम जारी भएकाले माग बढ्दै गएको  र आपूर्ति घट्दै गएकाले तत्काल भाउ घट्ने सम्भावना नभएको उहाँको भनाइ छ ।

बिस्तारै होटल तथा व्यवसाय पनि सुरु हुने क्रममा भएकाले भाउ अझै बढ्न सक्ने उहाँ बताउनुहुन्छ । कोरोना तथा बाढी पहिरोको प्रभावका कारण तरकारीको भाउमा केही प्रभाव परे पनि  भाउ बढ्नु हरेक वर्षको समस्या भएकाले यसको समाधान नगरे दीर्घकालीन रुपमा असर पर्ने उहाँको भनाइ छ ।

बिचौलिया सधैँकाे समस्या

तरकारी महङ्गो हुनुको विभिन्न कारणमध्ये बिचौलिया हावी हुनु पनि एक मुख्य कारण भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डाक्टर हरीबहादुर केसी बताउनुहुन्छ ।

बाढी , पहिरो तथा कोरोना तरकारीको भाउ बढ्नुमा जिम्मेवार मानिए पनि केही हदसम्म बिचौलिया हावी हुनु सधैँको समस्या भएको उहाँको भनाइ छ । 

किसानलाई खेतबारीमा उब्जाएको तरकारी बजारसम्म पुर्‍याउनै गाह्रो छ । तरकारी किन्न खेतसम्म थोक व्यापारी गए पनि उब्जनीको थोरै कम मात्रै मूल्य पाउने समस्या छ ।

एकातिर किसानले आफूले उब्जाएको तरकारीको उचित मूल्य पाउन सकेका छैनन् भने अर्कोतिर उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको उहाँले बताउनुभयो । 

‘तत्काल अनुगमन हुन्छ’ 

उद्योग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रविन्द्र आचार्य तरकारीको भाउ बढेको गुनासो बढिरहेकाले तत्काल अनुगमन गर्ने बताउनुहुन्छ । 

केही दिन पहिले मात्रै पनि आफूले कालीमाटीमा अनुगमन गर्दा तोकिएको भाउ भन्दा केही बढी लिएर व्यापारीले बेचेको पाएको बताउनुभयो । केही तरकारीको नमुनाको रुपमा अनुगमन गर्दा किलोमा १५ देखि २० रुपैयाँसम्म भाउ बढाएको पाइएको बताउनुभयो ।

आउँदो आइतबार छलफल गरेर तत्काल फेरि छापा मार्ने उहाँले बताउनुभयो । बाढी र पहिरोका कारण तरकारीको भाउ बढ्यो भन्नु बहाना मात्रै भएको उहाँको दाबी छ ।

‘फलफुलको भाउ नबढ्ने, तरकारीको भाउ मात्रै बढ्ने भन्ने हुँदैन’  उहाँ भन्नुहुन्छ, ‘बढ्ने भए फलफुलको पनि बढ्थ्यो ।’ 

अब तत्काल अनुगमन गर्ने र बढी मूल्य लिएर बेच्ने व्यापारीलाई कारबाही गरिने उहाँ बताउनुहुन्छ ।  विभिन्न कारण देखाएर लकडाउनकै समयदेखि दिन प्रतिदिन तरकारीको भाउ बढेको बढ्यै छ । विना कारण यसरी तरकारीमा मनलाग्दी भाउ बढाउँदा नागरिक मारमा परेका छन् । 

मानिसको आधारभूत आवश्यकता दुई छाक खाना र तरकारी खान पनि डराउनुपर्ने स्थिति सृजना हुनु दुःखद कुरा हो । यस्तो संकटको घडीमा गरिएको कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्नु सरकारको मुख्य दायित्व हो र सुपथ मूल्यमा खाद्य वस्तु उपभोग गर्न पाउनु नागरिकको अधिकार हो । 

अन्तिम अपडेट: चैत ४, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया