सुनको भाउ बढेपछि जलप लगाइएका गरगहनामा आकर्षण

 साउन २३, २०७७ शुक्रबार ७:४९:३१ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - कीर्तिपुर बस्ने दिना पौडेलले यो वर्षको तीजका लागि नक्कली सुन अर्थात् सुनको जलप लगाइएका सुनजस्तै देखिने गहना किन्ने योजना बनाउनुभएको छ । यसपालिको तीज नक्कली गहनाले टार्ने उहाँको तयारी छ । 

सुनजस्तै देखिने, सुनभन्दा धेरै नै सस्तो हुने भएकोले त्यही किन्ने विचार गरेको पौडेलले भन्नुभयो । नक्कली सुनमा आफूलाई मन लागेको डिजाइन रोजेर लगाउन पाइन्छ  ।

‘फेरि हराइहाले पनि खासै डर मान्नु परेन’ उहाँ हाँस्दै भन्नुहुन्छ ‘यसपालि दिदी र म दुवै जना नक्कली गहना लगाउने विचारमा छौँ।’ 

पाल्पा घर भई कीर्तिपुरमा नै बस्दै आएकी सिर्जना भट्टराई पनि अहिलेको तीजमा नक्कली गहनाले नै टार्ने सोचमा हुनुहुन्छ । सुन लगाउन रहर लागे पनि सुनको भाउले आकाश छोएको र महामारीको बेला कम महत्वका काममा खर्च गर्ने समय नभएकाले नक्कली गहना किनेर सुनको रहर मेटाउन लागेको उहाँले बताउनुभयो ।

सुनको भाउ तोलाकै एक लाख रुपैयाँभन्दा बढी पर्न थालेपछि धेरैले सुन किन्ने आँट गरेका छैनन् । अधिकांश सुनचाँदी पसल दिनभर खाली हुन्छन् । सुनको भाउ बढ्दै गएपछि नक्कली गहनाप्रति धेरैको आकर्षण बढ्न थालेपछि सक्कली सुन पसलका व्यापारीहरु निराश बनेका छन् ।

सक्कली सुनचाँदी पसलहरुमा सुन बेच्ने मात्र आउने गरेको र नयाँ गहना बनाउनेहरुले पनि आफ्नै गहना लिएर आउने गरेको व्यवसायी बताउँछन् । नक्कली सुनका गरगहना व्यापार गर्नेहरु पनि लकडाउन र कोरोनाको कारण व्यापार नबढेको बताउँछन् ।

पछिल्ला केही दिनयता व्यापार अलि बढ्न थाले पनि पोहोरपरारको सिजनमा जस्तो व्यापार भने नभएको काठमाण्डौ भेडासिंगका व्यापारी सुसन बहादुर प्रधान बताउनुहुन्छ । सुनको भाउले जति नै आकाश छोए पनि विवाह लगायतका शुभ कार्यमा सक्कली सुन नै चाहिने भएकाले नक्कली सुनको व्यापार त्यति नबढ्ने उहाँको भनाइ छ । 

लकडाउनका कारण लामो समय थला परेको व्यवसायले केही राहत महशुस गर्न थाले पनि सोचेअनुसारको कारोबार नभएको उहाँ बताउनुहुन्छ । गंगा गोल्ड प्लेटेडका सञ्चालक उहाँ सामान्य अवस्थामा दैनिक २० हजार रुपैयाँसम्म कमाउनुहुन्थ्यो  । 

तर अहिले त्यसको आधा पनि कमाइ छैन । ‘मानिसको आम्दानीको स्रोत घटेको छ, के खाउँ भन्ने अवस्था छ, अहिले त पहिलाजस्तो कारोबार त हुने कुरै भएन नि’ उहाँ भन्नुुहुन्छ । सुनको कारोबार शून्य नै भए पनि केही दिन यता नक्कली सुन किन्ने ग्राहक भने बढ्न थालेका छन् । अब बिस्तारै राम्रो हुँदै जाने उहाँ बताउनुहुन्छ । उहाँले पसल सञ्चालन गर्नुभएको १७ वर्ष भइसकेको छ । १७ वर्षको अवधिमा अहिले जस्तो सुख्खा कहिल्यै नलागेको उहाँको अनुभव छ । 

भन्नुहुन्छ ‘मेरो पाँच जनाको परिवार छ । पाँच जनाको परिवार राम्रैसँग चलिरहेको थियो । तर कोरोना भाइरसका कारण गरिएको लकडाउनले व्यवसाय धरापमा पार्यो कि भन्ने सोचेको  थिएँ । धन्न  केही दिनयता आशालाग्दो हुन थालेको छ ।’ 

उहाँले अनलाइन अर्डर पनि लिने गर्नुभएको छ । उहाँको पसलमा सुनको जलप लगाइएका झुम्का, टप, तिलहरी, मगलसुत्र लगायतका गहना पाइन्छ । रमा गोल्ड प्लेटेड ज्वेलर्स पाटनका सञ्चालक तथा व्यवसायी विशाल दयाल भने केही दिन यता नक्कली गहनाको माग बढेको बताउनुहुन्छ । लकडाउन खुलेपछिको केही समय निराशाजनक भए पनि अहिले भने राम्रै व्यापार हुन थालेको बताउनुहुन्छ । 

महिलाहरुले नयाँ, नयाँ डिजाइनका गहना मन पराउने र नक्कली गहना सस्तो पनि हुने भएकाले व्यापार बढेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘पोहोर परारको जस्तो आम्दानी नभए पनि दैनिक खर्च पानी राम्रै धानेको छु ।’

उहाँले होलसेलमा अरु विभिन्न पसलमा पनि गहना बेच्नु हुन्छ । त्यसैले व्यापार राम्रै भइरहेको छ । उहाँले नक्कली गहना आफ्नै पसलमा बनाउनुहुन्छ ।

४ जना अरु कामदार पनि राख्नुभएको छ । चार जनालाई महिनामा तलब पनि दिनुहुन्छ । अहिले ग्राहकले अरु गहनाभन्दा पनि रानीहार बढी अर्डर गरेको उहाँ बताउनुहुन्छ । उहाँले नक्कली गहना बनाउनका लागि आवश्यक कच्चा पर्दाथ भने बाहिरबाट नै किनेर ल्याउनु हुन्छ । 

व्यवसायीहरुले निश्चित दिनको भाडा लिएर पनि सुन जस्तै देखिने नक्कली गहना ग्राहकलाई प्रयोग गर्न दिने सेवा चलाएका छन् ।  यसले गर्दा फेर्दै गहना लगाउन इच्छा हुनेले रहर पूरा गर्न पाएका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया