धोनीको कप्तानीको त्यो १० निर्णय, सबै दाउ 'हिट'

 साउन ३२, २०७७ आइतबार २०:२२:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतीय क्रिकेट टिमका पूर्वकप्तान तथा विकेटकीपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीले सामाजिक सञ्जाल इन्स्टाग्राममा भावुक पोस्ट लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरे । 
क्रिकेटमा महेन्द्र सिंह धोनीले नजितेको कुनै ट्रफी छैन । 

५० ओभरको प्रतिस्पर्धामा धोनीले विश्व कप र च्याम्पियन्स ट्रफी जितेका छन् ।  

२० ओभरको खेलमा उनले विश्व टी–२०, इण्डियन प्रिमियर लिग (आईपीएल) र च्याम्पियन्स लिग जितेका छन् । 

टेस्ट क्रिकेटमा पनि उनले भारतीय टिमलाई नम्बर एकको ताज दिलाइसकेका छन् ।   

धोनीको त्यो १० महत्त्वपूर्ण निर्णलाई फर्केर हेरौँ, जसले भारतीय क्रिकेटमा नयाँ इतिहास रचे । 

१. जोगिन्दरलाई हिरो बनाए 

सन् २००७ विश्व टी–२० को फाइनलमा महेन्द्र सिंह धोनीले जोगिन्दर शर्माबाट अन्तिम ओभर नगराएको भए उनी विश्व च्याम्पियनको एक हिस्सा थिए भन्ने थाहा हुँदैन थियो होला । 

फाइनल खेलको अन्तिम ओभरमा पाकिस्तानलाई जितको लागि १३ रन आवश्यक थियो । भारतलाई मात्र एक विकेट चाहिएको थियो तर क्रिजमा इन फर्म मिस्बाह उल हक थिए । 

यस्तो महत्त्वपूर्ण मौकामा धोनीले अनुभवी हरभजन सिंहको ठाउँमा जोगिन्दरको हातमा बल थमाए । जोगिन्दरले ओभरको तेस्रो बलमा मिस्बाहको विकेट लिएर धोनीको दाउलाई सधैँको लागि यादगार बनाए । 

२. बल आउटमा पनि महत्त्वपूर्ण निर्णय

सन् २००७ को विश्व टी–२० को लिग राउण्डमा पाकिस्तानविरुद्धको खेलमा भारत बराबरीमा रोकिएको थियो । 

खेलको फैसला बल आउटको माध्यमबाट हुने थियो । बल आउटमा बलरले एकैपटक बल गरेर स्टम्प उडाउनुपर्ने थियो । 

पाकिस्तानले नियमित बलर छान्दा धोनीले भने हरभजन सिंहका अलावा वीरेन्द्र सहवाग र रबिन उथप्पा जस्ता पार्ट टाइम बलर छाने र खेल जिताए । 

३. धोनीको त्यो छक्का र भारत च्याम्पियन

सन् २०११ को विश्व कप फाइनलमा कुलशेखराको बलमा धोनीको खेल जिताउने छक्का कसले बिर्सिएको होला र ?

भारतलाई २८ वर्षपछि विश्व कप जिताउने धोनीले फाइनल खेलमा अविजित ९१ रन बनाए । त्यो खेलमा धोनीको ब्याट नचलेको भए आलोचकको सामना गर्नुपर्ने हुन्थ्यो । 

यही कारण फाइनलअघि धोनीको ब्याट चलेको थिएन । उनले अर्धशतकसम्म बनाउन सकेका थिएनन् । 

फाइनलमा धोनी इन फर्म अलराउण्डर युवराज सिंहको ठाउँमा आफैलाई प्रमोट गर्दै धोनी पाँचौँ नम्बरमा आए । 

कारण यो थियो कि क्रिजमा बायाँ हातका ब्याट्सम्यान गौतम गम्भीर थिए र धोनी क्रिजमा बायाँ–दायाँ हातको तालमेल मिलाउन चाहन्थे । 

दोस्रो कारण यो थियो कि धोनी श्रीलङ्काको स्पिनरको विरुद्ध सजिलैसँग रन बनाउन सक्थे । धोनीले जे सोचे त्यही नै भयो । 

४. युवराज सिंहको पहिचान उनको ब्याटिङ हो । तर धोनीले सन् २०११ विश्व कपमा युवराजलाई नियमित बलर सरह प्रयोग गर्दै सफलता हात पारे । 

युवराजले नौ खेलमा ७५ ओभर गर्दै १५ विकेट लिए । उनले क्वार्टर फाइनल, सेमी फाइनल र फाइनलमा दुई–दुई विकेट लिए ।  

५. ‘लुकेका प्रतिभा’ अश्विन–रैना

सन् २०११ को विश्व कपमा धोनीले सुरेश रैना र रविचन्द्रन अश्विनलाई सुरुवाती खेलमा मैदानमा उतारेनन् र नकआउट चरणमा ‘सरप्राइज प्याकेज’ को रुपमा प्रयोग गरे ।  

अश्विनले सन् २०११ को विश्व कपमा मात्र दुई खेल खेले । तीमध्ये एक खेल अस्ट्रेलियाविरुद्ध क्वार्टर फाइनल खेलेका थिए । यो खेलमा धोनीले अश्विनबाट बलिङको सुरुवात गराए । 

दुई विकेट लिने अश्विनले अस्ट्रेलियाको लय बिगारिदिए । सुरेश रैनाले पनि अस्ट्रेलियाविरुद्ध अविजित ३४ रन बनाएर जितमा योगदान दिए ।  

रैनाले पाकिस्तानविरुद्ध सेमिफाइनलमा पनि अविजित ३६ रन बनाए । 

६. निसानामा नेहरा 

सन् २०११ विश्व कपको सुरुवाती खेलमा तीव्र गतिका बलर आशीष नेहरा चल्न सकेनन् । तर पाकिस्तानविरुद्ध सेमिफाइनल खेलमा धोनीले उनलाई मौका दिए ।  

अस्ट्रेलियाविरुद्धको खेलमा प्रभावशाली देखिएका अश्विनको ठाउँमा नेहरालाई स्थान दिइएको थियो । धोनीको यो दाउले पनि काम गर्याे । 

१० ओभरमा मात्र ३३ रन दिएर दुई विकेट लिएका नेहरा फाइनलको टिकट दिलाउन सहयोगी साबित भए । 

७. युवा खेलाडीमाथि भरोसा

अस्ट्रेलियामा सन् २००८ मा भएको त्रिकोणीय सिरिजको लागि धोनीले चयनकर्तासामु युवा टिम छान्नको लागि माग राखे । 

अस्ट्रेलियाको ठूलौ मैदानमा धेरै उमेरका खेलाडी रन रोक्न असफल हुने धोनीको मान्यता थियो । 

यो निर्णयपछि धोनीको आलोचना त खुब भयो तर यो निर्णयको आधारमा उनले भारतीय टिमलाई अस्ट्रेलियामा पहिलो पटक त्रिकोणीय सिरिजको ट्रफी जिताउन सके । 

यो जितमा गौतम गम्भीर, रोहित शर्मा र प्रवीण कुमार जस्ता युवा खेलाडीहरुको भूमिका अहम् रह्यो । 

८. ईशान्त बने सान

सन् २०१३ मा इङ्ग्ल्याण्डमा खेलिएको आईसीसी च्याम्पियन्स ट्रफीमा वर्षापछि फाइनल खेलमा २०–२० ओभरमा झारिएको थियो । भारतले इङ्ग्ल्याण्डलाई जितको लागि एक सय ३० रनको चुनौती दिएको थियो ।   

मर्गन र बोपाराले उत्कृष्ट साझेदारी गर्दै इङ्ग्ल्याण्डलाई जिततर्फ धकेलिरहेका थिए । 

आयोजक टिमलाई अन्तिम तीन ओभरमा मात्र २८ रन चाहिएको थियो । यस्तो अवस्थामा धोनीले आफ्नो सबैभन्दा खर्चिलो बलर ईशान्त शर्माको हातमा बल थमाए । 

फैसला बराबरीको थियो तर ईशान्तले एकै ओभरमा मर्गन र बोपारालाई आउट गर्दै इङ्ग्ल्याण्ड टिमलाई तहसनहस बनाए । 

९. रोहितको भाग्य फेरियो 

मध्य क्रममा ब्याटिङ गर्ने रोहित लामो समयसम्म आफ्नो प्रतिभा देखाउन सकेका थिएनन् ।   

धोनीले एकदिवसीयमा रोहितलाई ओपनरको भूमिकामा अघि बढाए र रोहितको भाग्य फेरियो । ओपनरको रुपमा रोहित शर्मा अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा प्रभावी खेलाडीको रुपमा उभिए । 

१०. सबै दाउ हिट

भारतीय क्रिकेट टिमको अलावा धोनीले आईपीएलमा चेन्नई सुपर किङ्ग्सलाई पनि सबैभन्दा प्रभावशाली टिम बनाए । टिम प्रमोटर एन श्रीनिवासनको चाहनापछि पनि टिमको तर्फबाट एक खेलाडीलाई अनुबन्धित गर्न नमानेको उनले जानकारी दिएका थिए ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया