सन्दीपले लिए पहिलो खेलमै विकेट

 भदौ ४, २०७७ बिहिबार १२:०:२९ | रासस
unn.prixa.net

काठमाण्डाै – क्यारेबियन प्रिमियर लिग सीपीएल ट्वान्टी ट्वान्टी क्रिकेट अन्तर्गत बुधबारराति भएको आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।

सेन्ट लुसियाविरुद्धको खेलमा सन्दीपले एक विकेट लिएका हुन् । यो खेलमा उनको टिम जमैका तलावाज विजयी भयो । जमैकाले सेन्ट लुसियालाई पाँच विकेटले हराएको हो । सन्दीपले आफ्नो टोलीबाट सबैभन्दा किफायती बलिङ गरे ।

सन्दीपले चार ओभर बलिङ गर्दै २३ रन खर्चेर एक विकेट लिएका थिए । नवौँ ओभरमा बलिङ गर्न आएका उनले पहिलो ओभरमा आठ रन दिए । त्यसपछि ११ औं ओभरमा सन्दीपले तीन रन मात्रै खर्चे । यस्तै खेलको १३औं ओभरमा उनले आठ रन दिए ।

सन्दीपले १५औं ओभरको दोस्रो बलमा विकट लिए । २१ बलमा २५ रन बनाएर खेलिरहेका सेन्ट लुसियाका नाजिबुल्लाह जाड्रनको विकेट लिएका थिए । उनले चौथो ओभरमा मात्र चार रन खर्चे । ट्रीनिडाड एन्ड टोबेगोमा जमैकाको कप्तानी रोभमन पावेलले तथा सेन्ट लुसियाको कप्तानी ड्यारेन स्यामीले गरेका थिए । जमैकाले टस जितेर फिल्डिङ राजेको थियो ।

सेन्ट लुसियाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनायो । एक सय ५९ को विजय लक्ष्यका साथ जमैकाले १८ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । सेन्ट लुसियाका लागि रोस्टन चेसले ५२ रन बनाए ।

यस्तै नाजिबउल्लाह जाड्रनले २५, आन्द्रे फ्लेटचरले २२ तथा मार्क डियलले १७ र मोहमद नाबीले १३ रनको योगदान दिए । बलिङतर्फ जमैकाका मुजिब उर रहमान र भिरासामी परमाउलले दुई दुई तथा आन्द्रे रसेलले एक विकेट लिए ।

जमैकाका लागि असिफ अलीले अविजित ४७, ग्लेन फिलिप्सले ४४, कप्तान रोभमन पावेलले २६ तथा आन्द्रे रसेलले १६ रनको योगदान दिए । जमैकाको शुरुआत राम्रो रहेन । जमैकाले पाँच रनमा पहिलो विकेट तथा १३ रनमा दोस्रो विकेट गुमाएको थियो । तेस्रो विकेटका लागि पावेल र फिलिप्सले अर्धशतकीय पारी खेले ।

बलिङतर्फ सेन्ट सुसियाका केस्रिक विलियम्सले दुई तथा आवेड मकेय, स्कट कगेल्जिन र राहकिम क्रनवालले एक एक विकेट लिए । अब सन्दीपको टोली जमैकाले शनिबार ट्रिबागो नाइट राइटर्ससित दोस्रो खेल खेल्नेछ । यो खेल बिहान सवा तीन बजे सुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया