'नाै वर्षसम्म विद्यालयले मूल्याङ्कन गर्दा कसैलाई केही नहुने, अन्तिम वर्षमा चाहिँ मजाक बनाइयाे'

 भदौ ५, २०७७ शुक्रबार २०:२३:२ | रासस
unn.prixa.net

इलाम – माध्यमिक शिक्षा परिक्षा (एसईई) को परीक्षाफल प्रकाशितपछि विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । कोरोनाको कारण एसईईकाे परीक्षा नभएपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गरिएको थियो । सामाजिक सञ्जाल र चिया गफमा समेत एसईईको मापदण्ड खस्किएको, विद्यालयले 'सित्तैमा प्रमाणपत्र दिएको' लगायतका टिप्पणीले बालबालिकामाथिको हिंसा भएको शिक्षा क्षेत्रका सरोकारवालाले बताएका छन् ।

परीक्षाको पूर्ण तयारीपछि एसईई स्थगित भएको थियो । परीक्षाको अघिल्लो दिन परीक्षा स्थगित भएपछि कतिपय विद्यार्थी त परीक्षा लेख्न नपाएकामा खिन्न भए । यतिबेला परीक्षाफल प्रकाशित भएपछि भने विद्यार्थीको ‘मनोविज्ञान’ नै प्रभाव पर्ने किसिमको प्रतिक्रिया आइरहेको आदर्श माध्यमिक विद्यालय इलामका शिक्षक शिरोमणि भट्टराई बताउनुहुन्छ । 

'नौ वर्ष विद्यालयले मूल्याङ्कन गर्दा कसैलाई केही नहुने तर अन्तिम वर्ष वा दशौं वर्षमा मूल्याङ्कन चाहिँ मजाक बनाउनु दुःखद छ' भट्टराई भन्नुहुन्छ, 'हामीले राम्ररी परीक्षा लेखाएर परीक्षाफल पठाएका हौँ । प्रश्नपत्र अहिले पनि हेर्न सकिन्छ । यति हुँदाहुँदै पनि परीक्षाफल शून्य भएको कसरी मान्न सकिन्छ ?'

उत्कृष्ट र मेधावी विद्यार्थीका लागि भने आन्तरिक मूल्याङ्कन चित्तबुझ्दो मापदण्ड नभए पनि सामाजिक सञ्जालमा प्रतिक्रिया आएजस्तो नभएको भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार विद्यार्थीको अध्ययन र क्षमताकै आधारमा  परीक्षाफल विद्यालयले पठाएको हो । 

हुन त एसईईको मापदण्ड विगतमा पनि परीक्षाफल प्रकाशित हुँदा बढी र अरू बेला कम हुने गरेको थियो । केही वर्षअघि प्रवेशिका परीक्षा एसएलसीलाई अहिले एसईईमा रुपान्तरण गरिएको हो । परीक्षाको नाम भिन्न भए पनि परीक्षाको ढाँचा एकै किसिमको छ । एसएलसीमा दिइने श्रेणी (डिभिजन) लाई एसईईमा ग्रेडिङका रूपमा प्राप्ताङ्क दिइन्छ । 

समय परिस्थितिअनुसार मूल्याङ्कन गर्ने पद्धतिकाे ढाँचामा परिवर्तन भएको बताउनुहुन्छ, महेन्द्र रत्न बहुमुखी क्याम्पसका शिक्षा अर्थशास्त्र सङ्कायका उपप्राध्यापक पूर्णप्रसाद ढुङ्गाना । 'एउटा विद्यालयले आफ्ना विद्यार्थी दशौं वर्षदेखि मूल्याङ्कन गरेको छ । एकैदिनमा १२ घण्टासम्म शिक्षक–विद्यार्थीसँगै रहेर अध्ययन गरेका छन्', ढुङ्गाना भन्नुहुन्छ, 'तल्लो कक्षामा यही मूल्याङ्कन वैज्ञानिक ठहरिने र माथिल्लो कक्षा १० मा भने अवैज्ञानिक ठहरिने हुँदैन ।' 

ढुङ्गाना एउटै परीक्षाले विद्यार्थीको भविष्य किटान गर्न नसकिने भएकाले अनावश्यक प्रतिक्रियाले विद्यार्थीको मस्तिष्कमा समस्या उत्पन्न हुन सक्ने बताउनुहुन्छ ।

विशेष परिस्थितिले एसईई परीक्षा गराउन नसकिए पनि समयअनुसारको उत्कृष्ट ढाँचा रहेको शिक्षा सरोकारवालाको भनाइ छ । कतिपय शिक्षा सरोकारवाला भने तीन घण्टा परीक्षा लेखेका भरमा विद्यार्थीको मूल्याङ्कन गरिनु दुःखद प्रणाली रहेको बताउँछन् ।

विगतका परीक्षा प्रणाली पनि वैज्ञानिक नभएकाले अहिलेको मापदण्ड नै प्रभावकारी नभएको नेपाल शिक्षक सङ्घका प्रदेश नम्बर १ का अध्यक्ष पूर्ण गौतम बताउनुहुन्छ । 'शिक्षकले विद्यार्थी सबै पक्ष बुझेरै मापदण्ड बनाएका हुन्छन् । त्यसैले यसलाई हचुवाको भरमा नकारात्मक टिप्पणी गर्न मिल्दैन', गौतमले भन्नुभयो, 'यस्ता टिप्पणीले बालबालिकामा मनोविज्ञान र मनोसामाजिक प्रभाव पर्छ ।'  

बाहिरी टिकाटिप्पणीले बालमनोविज्ञानमा असर गर्ने भन्दै यसबाट सचेत भएर अघि बढ्न शिक्षा कार्यालयले भनेको छ । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख शम्भु थापामगरले अघिल्लो वर्षको परीक्षाफल, आन्तरिक परीक्षा, आवधिक परीक्षाका आधारमा एसईईको मूल्याङ्कन गरिएको बताउनुभयो । 

परिस्थितिजन्य परीक्षाका रूपमा एसईईको परीक्षा भएकाले यसबाट सबै परीक्षाको मूल्याङ्कन हुन नसक्ने उहाँको भनाइ छ । 'केही विद्यालयले परीक्षाको मूल्याङ्कनमा तलमाथि गरेका होलान्', मगरले भन्नुभयो, 'यसो भन्दैमा सबै विद्यालय, विद्यार्थी र शिक्षक शिक्षिकालाई यसरी मुछ्नु हुँदैन ।' 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया