ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - केही दिनअघि मात्रै नेपालमा नवजात शिशुको मृत्युदर तीन गुणाले बढेको एक अध्ययन प्रतिवेदन सार्वजनिक भयो । विश्वकै सबैभन्दा पुरानो स्वास्थ्य सम्बन्धी जर्नल ल्यानसेटले कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनपछि नेपालमा शिशुको मृत्युदर तीन गुणाले बढेको जनाएको थियो ।
यस्तै अध्ययनमा स्वास्थ्य संस्थामा हुने जन्ममा पनि ५० प्रतिशतले कमी आएको जनाइएको थियो । यस्तै जन्मेको २४ घण्टाभित्रै सुत्केरीमा हुने समस्याका कारण नवजात शिशुको मृत्युदर पनि उच्च रहेको देखिएको छ । नवजात शिशु मृत्युदरमा दुई तिहाई शिशुको मृत्यु २४ घन्टा भित्रै हुने गर्छ ।
परिवार कल्याण महाशाखाका अनुसार नेपालमा हरेक वर्ष ६ लाख ५० हजार शिशु जन्मिने गरेका छन् । हरेक महिना झण्डै ३४ हजार महिला गर्भवती हुने गरेको सरकारी तथ्यांक छ । प्रत्येक हजार जीवित शिशुको जन्म हुँदा २१ को ज्यान जान्छ । यसअनुसार नेपालमा नवजात शिशु मृत्युदर अर्थात् जन्मेको पहिलो २८ दिनभित्र हुने मृत्युदर झनै बढी छ ।
धनीभन्दा गरिबमा शिशु मृत्युदर उच्च
नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रत्येक हजारमा ३९ रहेको छ । यसरी ज्यान जानेमा धनीभन्दा गरिब वर्गका धेरै भएको पाइएको छ । कम उमेरमा बच्चा जन्माउनाले पनि शिशु मृत्युदर बढेको छ । शिशु मृत्युदर कम गर्नका लागि सरकारले नवजात शिशुको सबै उपचार निःशुल्क गरेको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो ।
अहिले प्रतिहजार जीवित जन्ममा २१ को ज्यान जाने गरेकोमा आउने सन् २०३० सम्ममा १२ मा झार्ने सरकारको लक्ष्य रहेको उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वर्षयता मातृशिशु मृत्यु कम गर्न विभिन्न कार्यक्रम गरेको भए पनि सुधार भने हुन सकेको छैन
एक वर्षमा मात्रै १५ सय ३९ शिशुको ज्यान गयो
परिवार कल्याण विभागकी नर्सिङ अफिसर लक्ष्मी मरासिनी आचार्यका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा मात्रै देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा १५ सय ३९ शिशुको ज्यान गएको छ । जसमध्ये जन्मेदेखि २७ दिनभित्र २१ प्रतिशतको ज्यान जाने गरेको छ ।
एक घण्टाभित्र १७ प्रतिशत, २४ देखि १ सय ६७ घण्टामा २२ प्रतिशत र १ देखि २३ घण्टाभित्र ४० प्रतिशत शिशुको ज्यान जाने गरेको छ । ज्यान जानुमा निमोनिया, कुपोषण, इन्फेक्सन, गर्भावस्थामा हुने जटिलता लगायतका कारण देखिएको छ ।
घरमा हुने शिशु मृत्युदर बढ्यो
कोरोनाका कारण भएको लकडाउनपछि घरमै ज्यान गुमाउने शिशुको संख्या झनै डरलाग्दो छ । लकडाउनको अवधिको तीन महिनामा निकालिएको तथ्यांकमा एक हजार ३८ शिशुको घरमै र २ सय ८४ शिशुको स्वास्थ्य संस्थामा ज्यान गएको छ ।
यो तथ्याङ्क गएको वर्षको तुलनामा निकै नै बढी हो । पहिला घरमा भन्दा स्वास्थ्य संस्थामा हुने शिशुको मृत्युदर बढी हुने गरेको थियो । मानिसमा कोरोनाको डरका कारण अस्पताल नजानाले पनि घरमा हुने मृत्युदर बढेको हुन सक्ने पोषणविद् डाक्टर कल्पना तिवारी बताउनुहुन्छ ।
कतिले अस्पताल जानका लागि सहज वातावरण पनि पाएनन् । कतिपयले भने वातावरण पाए पनि कोरोनाको सङ्क्रमण हुन सक्ने डरले अस्पताल गएनन् । घरमै जोखिम मोलेर सुत्केरी हुँदा शिशु मृत्युदर बढेको हुन सक्ने उहाँको भनाइ छ ।
गर्भावस्थादेखि नै ध्यान दिन आवश्यक
शिशु मृत्युदर नेपालमा पहिलेदेखि नै उच्च छ । शिशुको ज्यान जाने अरु पनि धेरै कारण छन् । निमोनिया, कुपोषण, डायरियालगायतका कारण शिशुको ज्यान जाने गरेको पोषणविद् कल्पना तिवारी बताउनुहुन्छ । कतिपय शिशु जन्मँदा नै कुपोषित भएर जन्मने भएकाले जन्मेको २८ दिनभित्र नै ज्यान जाने सम्भावना धेरै हुन्छ ।
गर्भावस्थादेखि नै आमाले खानपानमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । बच्चा पेटमा भएदेखि नै सरसफाई र पोषिलो खानेकुरा खानुपर्छ । बच्चा जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराएमा शिशु मृत्युदर कम हुने सम्भावना हुन्छ । डाक्टरहरुकाअनुसार स्तनपानले बच्चामा खोपको काम गर्छ ।
ग्रामिण क्षेत्रमा शिशु मृत्युदर बढी हुनुमा भने चेतनाको अभाव, कम उमेरमा विवाह लगायतका कुराहरु बढी जिम्मेवार छन् । गर्भावस्थामा आमालाई साविकको बेलाभन्दा पोषिलो खानेकुरा खुवाउनुपर्ने हुन्छ । प्रशस्त आराम पनि आवश्यक पर्छ । तर ग्रामिण क्षेत्रमा यी कुरामा खासै ध्यान दिने गरेको पाइँदैन ।
शिशु मृत्युदर उच्च हुनुमा कोरोनालाई मात्र दोष दिन नमिल्ने डाक्टर तिवारी बताउनुुहुन्छ । नेपालमा पहिला पनि शिशु मृत्युदर उच्च थियो । शिशु मृत्युदर कम गर्नका लागि सबैले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने उहाँको भनाई छ ।
साढे २ किलोभन्दा कम तौलको शिशु जन्मिएमा बढी ध्यान दिनुपर्छ । जन्मेको १ घण्टाभित्र शिशुलाई स्तनपान गराउनुपर्छ । आमालाई कोरोना भएको छ भने पनि सावधानी अपनाएर शिशुलाई दुध चुसाउन सकिने उहाँ बताउनुहुन्छ ।
आमाको दूधबाट कोरोना भाइरस सर्दैन । आमाको दूधले बच्चालाई रोग प्रतिरोधात्मक क्षमताको विकास गराउन सहयोग पुग्छ । यस्तै कम तौलको बच्चा जन्मिएको छ अथवा कुपोषित शिशु जन्मिएको छ भने कंगारु केयर अर्थात् बच्चालाई छातीमा टाँसेमा छिटो बढ्ने र अरु रोगसँग लड्न सक्ने क्षमताको विकास हुने उहाँ बताउनुहुन्छ ।
डा. तिवारी भन्नुहुन्छ, ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको शिशुलाई विभिन्न किसिमका रोग लाग्न नदिनु हो । लागिहाल्यो भने सुरक्षाको उपाय अपनाउँदै अस्पताल लैजानु पर्छ ।’ सानोतिनो समस्या मात्रै छ भने फोनमार्फत् विज्ञको सल्लाह लिन सकिने उहाँ बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।