ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीलाई सङ्क्रमणबाट जोगाउन चुनौती

 भदौ १४, २०७७ आइतबार ७:३४:१५ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै - कोरोना नियन्त्रण र रोकथामको लागि काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा लगाइए पनि दिनहुँ सङ्क्रमितको संख्या बढ्दै गएको छ । 

सङ्क्रमितमध्ये आधाभन्दा धेरै युवा छन् । सरकारले कोरोना सङ्क्रमण समुदायमा व्यापक रुपमा फैलिनसकेको बताउँदै आएको छ । तर कोरोनाको सङ्क्रमण व्यापक रुपमा समुदायमा फैलिने अवस्थामा वृद्धवृद्धा, बालबालिका तथा सुत्केरी/गर्भवती लगायत जोखिम समूह अझै प्रभावित हुने देखिएको छ । युवामा सङ्क्रमण बढ्दै जानु र सङ्क्रमितमध्ये जोखिम समूह जस्तै ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका तथा सुत्केरी/गर्भवतीको ज्यान जानुले जोखिम झन् बढाएको हो ।

‘अहिले बालबालिका, वृद्धवृद्धामा पनि कोरोना सङ्क्रमण देखिन थालेको छ, ‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले भन्नुभयो, ‘धेरै ठाउँहरु कोरोनाको हटस्पटकै रुपमा रहेका छन् । बढी जोखिम हुने यो समूहमा सङ्क्रमण फैलियो भने मृत्युदर पक्कै बढ्नेछ ।’ 

सङ्क्रमितमध्ये झण्डै ६० प्रतिशत होम आइसोलेशनमा छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर पाण्डेका अनुसार होम आइसोलेशनमै बस्नेहरुले स्वास्थ्यका मापदण्ड पालना गरे सङ्क्रमण थप फैलन पाउँदैन । हेलचेक्र्याइँ भइहाल्यो भने परिवारका अन्य सदस्य समेत सङ्क्रमित हुनेछन् । परिवारमा वृद्धवृद्धा, बालबालिका तथा गर्भवती/सुत्केरी भएको अवस्थामा बढी जोखिम हुन्छ ।

सरकारको तयारी कमजोर 

गएको साउन ६ गते रातिदेखि लकडाउन खुल्यो । लकडाउनयता दिनहुँ कोरोनाका सङ्क्रमित बढेका बढ्यै छन् । तराईका ठाउँमा सङ्क्रमण थप बढ्यो । भारतबाट काम गर्ने कामदार नेपाल भित्रिएका र काम गर्ने ठाउँमा चहलपहल बढेपछि सङ्क्रमण फैलिएको महाशाखाका निर्देशक डाक्टर पाण्डेको दाबी छ । 

लकडाउनले जोखिम केही घटाए पनि लकडाउन खुलेपछि बढ्ने क्रम सुरु भयो । अबका दिनमा जोखिम वर्ग तथा समूहमा कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै गर्दा सरकारको तयारी भने कमजोर छ । नेपालमा यसको नियन्त्रण गर्नलाई भारत र अरु देशहरुसँग समन्वय गरेर काम गर्नुपर्ने महाशाखाका निर्देशक डाक्टर पाण्डे बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘एक व्यक्तिबाट अर्को व्यक्ति हुँदै स्थानीय रुपमा धेरै ठाउँमा हटस्पटकै रुपमा विकास भयो । काठमाण्डौमा पनि सङ्क्रमित बढ्न थालेपछि त्यसलाई ब्रेक गर्न निषेधाज्ञा जारी भएको हो ।’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर पाण्डेले रोग प्रतिरोधात्मक क्षमता कम भएका र बुढापाकालाई सङ्क्रमणबाट जोगाउनु अबको मुख्य चुनौती भएको बताउनुभयो ।

‘ठाउँ-ठाउँमा लकडाउन र निषेधाज्ञा हुँदा समेत सङ्क्रमित बढेका छन् । यो सङ्क्रमणको बढ्दो अवस्थालाई हेर्दा जोखिम समूह र दीर्घरोगीलाई अझ बढी जोखिम थपिदै गएको छ’ उहाँ भन्नुहुन्छ ।

अब के गर्ने ?

निषेधाज्ञाकै बीचमा स्वास्थ्य मन्त्रालय र पालिकाको समन्वयमा कन्ट्रयाक ट्रेसिङ, परीक्षण र पत्ता लागेका व्यक्तिलाई आइसोलेशन गर्ने काम हुँदै आएको छ । त्यस्तै आइसोलेशनको क्षमता बढाउने काम भैरहेको सरकारले जनाएको छ । सरकारले काठमाण्डौ उपत्यकामा झण्डै ९ हजार आइसोलेशन थप्ने तयारी गरेको छ ।

अस्पतालको क्षमता पनि बढाउने काम गरेको छ । अबका दिनमा सबैलाई टेस्टिङ  गर्ने, रोग फैलिन नदिन मन्त्रालय, प्रदेश सरकार, जिल्ला स्वास्थ्य कार्यालय, पालिकाहरुहरुबाट हरेक घरपरिवारको तथ्याङ्क लिने, सङ्क्रमित भए/नभएको पत्ता लगाउने, सङ्क्रमित छन् भने कस्तो अवस्थामा बसेका छन् बुझेर आवश्यक व्यवस्थापन गर्नुपर्नेमा डाक्टर पाण्डेको जोड छ । 

सरकारले गरिरहेका कामलाई सहयोग गर्न पनि उहाँको आग्रह छ । साथै काठमाण्डौ उपत्यका बाहिर बढी सङ्क्रमित देखिएको दुई नम्बर प्रदेशमा कमजोरी किन भैरहेको छ ? भनेर स्वास्थ्य मन्त्रालयले छलफल गरेको छ । त्यहाँ पनि ट्रेसिङ र स्याम्पल कलेक्सन भैरहेको छ । अबको जोखिमलाई ध्यानमा राखेर सरकारले जारी गरेका स्वास्थ्य मापदण्डको पालना गर्न उहाँको आग्रह छ । 

‘कतिपय घरमै आइसोलेशनमा बस्नुभएको छ । तर एउटै कोठामा सबैसँग बस्नुभएन । एउटै कोठा छ र सङ्क्रमित हुनुहुन्छ भने आइसोलेशन सेन्टरमा जानुपर्ने हुन्छ’ उहाँले भन्नुभयो, ‘सरकारले राख्न सक्ने ठाउँ व्यवस्थापन गरेकाले सङ्क्रमितले जानकारी गराउन सक्नुहुन्छ । हामी राख्छौँ । राख्ने ठाउँ छ । चिन्ता गर्नु पर्दैन ।’ 

घरमै बस्नेलाई सुझाव

कोरोना एक व्यक्तिबाट अर्कोमा थुक, खकार, हाच्छ्युँबाट सर्ने भए पनि हावाको माध्यमबाट एउटा कोठाबाट अर्को कोठामा नजाने डाक्टर पाण्डेको दाबी छ ।

घरमा बस्दा जोखिमयुक्त समूह सकेसम्म छुट्टै बस्नुपर्ने, कोरोना सङ्क्रमितलाई पनि छुट्टिएर परिवारका सदस्यबाट अलग्गै बस्न उहाँको सुझाव छ । सङ्क्रमण देखिएका तर लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएकालाई निको हुने, तर जोखिमयुक्त समूहलाई सङ्क्रमण भइहाले गम्भीर हुने भएकाले बढी ध्यान दिनुपर्नेमा उहाँको जोड छ। 

डाक्टर पाण्डे भन्नुहुन्छ, ‘बुढाबुढी, बच्चाबच्ची, गर्भवती तथा सुत्केरी, दीर्घरोगी, औषधी खाइरहेका व्यक्तिहरु छुट्टिएर बस्नु नै उपयुक्त हुन्छ ।’ आफूलाई समस्या देखिएको शंका लागेमा जानकारी गराउन, त्यसपछि १४ दिन आइसोलेशनमा बस्न र निको भयो भन्दैमा फेरि हेलचेक्रयाइँ नगर्न पनि उहाँको सुझाव छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया