‘अहिले देखिएका कोरोना सङ्क्रमित निषेधाज्ञा हुनुभन्दा अघिकै’

 भदौ १५, २०७७ सोमबार ८:३४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको समयमा कोरोना सङ्क्रमणको दर झन बढ्दै गएको छ । काठमाण्डौ उपत्यकामा आइतबार मात्रै ४२९ जना सङ्क्रमित थपिएका छन् । काठमाण्डौ उपत्यकामा अहिलेसम्म कोरोना सङ्क्रमितको संख्या साढे ५ हजार पुगेको छ । 

कोरोना सङ्क्रमणको एउटा चक्र पार गर्न कम्तीमा २० दिन लाग्ने भएकोले निषेधाज्ञाको समयमा पनि सङ्क्रमित बढेको जस्तो देखिएको सरकारको भनाइ छ । मान्छेको आवतजावत कम भएर सङ्क्रमणको दर कम हुन सरदर २० दिनको समय लाग्ने भएकोले निषेधाज्ञाको दुई हप्तासम्ममा पनि सङ्क्रमणको दर बढिरहेको जस्तो देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । 

यो सङ्क्रमण निषेधाज्ञा हुनुभन्दा पहिलेको नै भएको उहाँको भनाइ छ । १४ दिनअघि शरीरमा भाइरस प्रवेश गरेकाहरुमा लक्षण देखिने बेला यही भएकोले सङ्क्रमणदर बढेको जस्तो देखिएको उहाँको भनाइ छ ।

उहाँको भनाइअनुसार २० दिनपछि अर्को चक्रबाट सङ्क्रमणको दरलाई गुणात्मक वृद्धिलाई घटाउँदै लैजान सकियो भने सङ्क्रमण न्यूनिकरण गर्न सहज हुनेछ । यस्तै यसबीचमा परीक्षणको दायर बढेकाले पनि सङ्क्रमित संख्यात्मक हिसाबले बढी देखिएको उहाँले बताउनुभयो । अरु रोग र प्राकृतिक प्रकोपजस्तो सङ्क्रामक रोग नियन्त्रणका लागि केही समयमै सम्भव नहुने भएकोले निषेधाज्ञा मात्रै पनि न्यूनीकरणको अन्तिम विकल्प नभएको उहाँको भनाइ छ । 

कुन ठाउँमा सबैभन्दा धेरै सङ्क्रमितको संख्या बढिरहेको छ भनेर पत्ता लगाउनका लागि पनि निषेधाज्ञा गर्नुपरेको मन्त्रालयका सह-प्रवक्ता डाक्टर अधिकारीले बताउनुभयो । यसबीचमा सरकारले आइसोलेशन, भेन्टिलेटर, बेडलगायत पूर्वाधार विकासका कामहरु गरिरहेको उहाँले बताउनुभयो । 

यस्तै उहाँले आफूले देखेका र भेटेका मानिसहरु सबै सङ्क्रमित हुन् भन्ने हेक्का राखेर व्यवहार गर्न आग्रह गर्नुभएको छ । कोरोनासँग लड्न जनस्वास्थ्यका मापदण्ड पालन गर्नुको अर्को विकल्प नभएकोले त्यही अनुसारको व्यवहार परिवर्तन गर्नुपर्ने उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया