फूड बैंक : ‘आवश्यक भए लिएर जानुस्, नत्र दिएर जानुस्’

 भदौ १६, २०७७ मंगलबार ९:४१:४५ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेपछि देशभरी नै विभिन्न ठाउँहरुमा खाद्यवस्तु वा खाना वितरण गरियो । लकडाउनका कारण समस्यामा परेकाहरुलाई विभिन्न संघ, संस्था तथा मनकारी व्यक्तिहरुले राहत वितरण गरे । सरकारले एक्कासी लकडाउनको घोषणा गरेकाले अलपत्र परेकाहरुलाई लागि त्यसले तत्कालका लागि राम्रै भयो । 

लकडाउनका कारण बाटोमा अलपत्र भएकाहरुको लागि राहत वितरण चलिरहेका  बेला धादिङको गजुरी गाउँपालिकाले भने राहतको लागि फरक उपाय थाल्यो ।   गाउँपालिकाले अप्ठ्यारोमा परेकाहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले फूड बैंकको सुरुवात गर्यो  । चैत २० गते स्थापना गरेको फुड बैँकले अहिलेसम्म ३२ सय परिवारलाई राहत  प्रदान गरिसकेको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले जानकारी दिनुभयो  । 

फूड बैँकबाट एकजनाका लागि एक पटकमा ५ किलो चामल, १ किलो दाल, तेल, नुन लगायतका सामग्री प्रदान गर्ने गरिएको छ । ५ जनाको परिवार छ भने त्यो परिवारलाई एक पटकमा २५ किलो चामल, त्यही अनुसारको दाल, नुन र तेल वितरण गर्ने गरिएको उहाँले बताउनुभयो । 

फूड बैँकमा अहिले पहिला जस्तो मानिसको भिडभाड हुँदैन । किसानले मकै भित्र्याएकाले हिजोआज पहिलेजस्तो भिडभाड नभएको उहाँले बताउनुभयो । तर अझै पनि कोठामा बस्ने, आर्थिक अवस्था कमजोर भएका, ज्याला मजदुरी गर्नेलाई भने फुड बैँकमार्फत् सहयोग पुगेको छ । 

फूड बैंकमा मानिस आउन कम भए पनि यसलाई निरन्तरता दिने सोच रहेको गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभयो । ‘गजुरी गाउँपालिकामा चेपाङ, दलित र तामाङ लगायतको बस्ती छ । तीमध्ये धेरैको आर्थिक अवस्था एकदमै कमजोर छ । उनीहरुलाई मध्यनजर गर्दै फूड बैँक निरन्तरता आवश्यक छ ।’ 

फूड बैंकमा आफूसँग हुने र अरुलाई सहयोग गर्न चाहनेले दिएर जान्छन भने आवश्यक भएकाहरुले लिएर जाने गर्दछन् । फूड बैँक स्थापना भएपछि विभिन्न दाताहरुले पनि सहयोग गर्दै आइरहेका छन् ।

ठाउँठाउँमा फुड बैंक

धादिङको गजुरी गाउँपालिकाले फूड बैँकको स्थापना गरेपछि पछिल्लो समय देशका अरु ठाउँमा पनि फूड बैँक स्थापना हुन थालेका छन् । दुई हप्ताअघि मात्रै काभ्रेको पनौती नगरपालिकामा फुड बैँकको स्थापना भएको छ । पनौती नगरपालिकाले पनि अति विपन्न परिवार, कोठामा बस्ने तर आर्थिक अवस्था कमजोर भएका, अशक्त लगायतलाई लक्षित गरेर फूड बैँक सञ्चालनमा ल्याएको  नगरपालिकाकी उपमेयर गीता बन्जाराले जानकारी दिनुभयो ।

दुई हप्ताको अवधिमा पनि नगरपालिकाले लगभग १२ हजार  जनालाई राहत दिइसकेको उहाँले बताउनुभयो । नगरपालिकाले आर्थिक अवस्था हेरेर एक जनालाई १५ दिनदेखि दुई महिनासम्मको लागि पुग्ने गरी चामल, दाल, तेल, नुन, साबुन, सरफ, गेडागुडी लगायतका सामग्री राहत दिने गरेको छ । विभिन्न दाता र नगरपालिकाको सहयोगमा बैँक स्थापना भएको हो । 

उपमेयर बन्जाराका अनुसार कोरोनाको समस्या रहेसम्म फूड बैंकलाई निरन्तरता दिईने छ । त्यपछि निरन्तरता दिने वा नदिने भन्ने विषयमा त्यतिखेरको अवस्थाले निर्धारण गर्ने उहाँले बताउनुभयो ।

गजुरी गाउँपालिका र पनौती नगरपालिका जस्तै पछिल्लो समय देशका विभिन्न ठाउँहरुमा फुड बैँक सञ्चालनमा आएका छन् । फूड बैँकमा चामल, दाल, नुन, तेल, सोयाबिन, आलु, प्याज, तरकारी, मसला , पिठो, आवश्यकता अनुसार हुनेबाट लिइने  र नहुनेलाई वितरण गर्ने सञ्चालनकहरुले बताएका छन् । 

पोखरामा १० वर्षीया बालिका प्रिन्सा रेग्मीले पनि भोक उपचार केन्द्र नाम दिएर फूड बैँक सञ्चालनमा ल्याएकी छिन् । 

निरन्तरता दिन आवश्यक 

समस्या जसलाई जतिसुकै बेला पर्न सक्छ । यस्ता महामारी र विपत्ति जुनसुकै बेला आउन सक्छ । त्यसैले यस्ता फूड बैँकहरु सञ्चालन गर्न आवश्यक छ । यस्ता उपकारमूलक काम हुन सकेमा कोही व्यक्ति पनि भोकका कारण मर्नुपर्ने अवस्था आउँदैन । कोरोनाको समयमा सञ्चालनमा ल्याइएका  कतिपय फूड बैँकहरु फेरि बन्द भएका पनि छन् । त्यसलाई निरन्तरता दिन आवश्यक छ । 

राहत वितरण भन्दा फूड बैँक प्रभावकारी पनि हुन्छ । राहत वितरणमा तामझामसहित फोटो खिच्ने र सामाजिक सञ्जालमा हाल्ने चलन छ । यसले एकातिर कोरोनाको जोखिम बढ्छ भने अर्कोतिर भिडभाड देखेर आवश्यक हुने पनि लिन जाँदैनन् । जानेले पनि हिनताबोध महसुस गर्छन् । तर फूड बैँकमा भने त्यस्तो हुँदैन । 

अझै समाजमा मानवता नहराएको संकेत 

पछिल्लो समय फुड बैँक सञ्चालनमा आउनु समाजमा अझै पनि मानवता नहराएको संकेत भएको समाजशास्त्री दिनेश प्रसाईं बताउनुहुन्छ । कतिपय ठाउँमा मानिसहरुले मानवता हरायो, मानिस स्वार्थी भए भन्ने कुरालाई यसले अप्रमाणित गर्ने उहाँ बताउहुुन्छ । समाजमा अझै पनि सकारात्मक सोच भएका मानिस छन् । हरेक विपत्तिमा यो देखिन्छ । जस्तै भूकम्पको बेलामा पनि मानिसहरुले एकले अर्कालाई सहयोग गरेका थिए । 

‘यही समाजमा कालोबजारी गर्ने मानिस पनि छन्, भ्रष्टाचार गर्ने मानिस पनि छन् तर सहयोगी मनको खाँचो पनि छैन भन्ने उदाहरण यसले दिन्छ’ उहाँ बताउनुहुन्छ । कोरोना सङ्क्रमितलाई घृणा गर्ने मानिस पनि यही समाजमा भएका र सहयोग र सद्भाव राख्ने मानिस पनि यही समाजमा भएका उहँले बताउनुभयो । 

अबका दिनमा फूड बैँकलाई निरन्तरता दिनुपर्ने उहाँको भनाई छ । ‘अहिले मानिसको रोजगारी गुमेको छ । आर्थिक अवस्था कमजोर भएको छ । दीर्घकालीन रुपमा अगाडि बढाउन सकेमा त धेरै राम्रो हो । त्यति नसके पनि तत्कालको लागि फूड बैँक स्थापना हुन पनि धेरै राम्रो हो’ समाजशास्त्री प्रसाईंले भन्नुभयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया