'काेराेना नियन्त्रणकाे काम थप प्रभावकारी बनाऔँ, प्रोत्साहन भत्ता र बीमामा विभेद हुन्न'

 भदौ १७, २०७७ बुधबार २०:३३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले तीनै तहका सरकारले मिलेर कोभिड–१९ रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । 

बुधबार प्रदेश सरकारका सामाजिक विकास मन्त्रीहरुसँग भर्चुअल बैठक गर्दै मन्त्री ढकालले कोभिड–१९ रोकथामका लागि भएका कामहरु थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि तीनै तहले समन्वयात्मक काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले जनस्वास्थ्यको मापदण्ड पालनाका निम्ति सचेतनाको काम प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कोभिड–१९ को अहिलेसम्म कुनै खोपको विकास नभइसकेका कारण सावधानी अपनाउनुको विकल्प नभएकाले त्यसका लागि प्रदेश र पालिकाले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

मन्त्री ढकालले सङ्घीय सरकारले आवश्यक सबै खालका सहयोग गर्न तयार रहेको भन्दै समस्या समाधानका लागि व्यवहारिक रुपमै प्रभावकारी काम हुनुपर्ने बताउनुभयो । उहाँले कोभिड अवस्था रहेसम्म प्राेत्साहन भत्ता र बीमाको कुरा जारी रहने बताउनुभयो । प्राविधिक कारण केही समस्या भएर कसैले जोखिम भत्ता नपाएको भए पनि काेराेनाविरुद्धकाे लडाइँमा काम गरेका मान्छेले भत्ताबाट विमुख हुन नपर्ने बताउनुभयो ।

मन्त्री ढकालले सरकारी प्रयोगशालाहरुले नै दैनिक १८ हजार पाँच सय जनाको नमुना परीक्षण गर्न सक्ने क्षमताको विकास गरिएको भन्दै कुनै विशेष कारणभन्दा बाहेक २४ घण्टाभित्रमा रिपोर्ट आउने व्यवस्था मिलाइने बताउनुभयो । उहाँले अहिलेको परिस्थितिमा समय तोकेर नै नमुना परीक्षणको रिपोर्ट दिनुको विकल्प नरहेको पनि बताउनुभयो ।

आइसाेलेशन निर्माणका लागि मात्र सरकारले ३८ करोड बजेट प्रदेश सरकारमार्फत पालिकामा पठाएको स्मरण गर्दै उहाँले केन्द्रमा तीन सय शय्याकाे सरुवा रोग अस्पताल र प्रत्येक प्रदेशमा ५० शय्याकाे अस्पताल सञ्चालनका लागि गृहकार्य भइरहेको बताउनुभयो । मन्त्री ढकालले अबदेखि हरेक १५ दिनमा सामाजिक विकास मन्त्रीसँग बैठक गर्ने जानकारी पनि दिनुभयो ।

भर्चुअल बैठकमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदी, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावल, प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन मंगोल, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन र वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल सहभागी रहनुभएको थियो । प्रदेश १ का सामाजिक विका समन्त्री कोरोना पोजेटिभ भएर आइसाेलेशनमा रहनुभएको र प्रदेश २ का सामाजिक विकास मन्त्रीले समयको व्यवस्थापन गर्न नभ्याउनु भएकोले बुधबारको भर्चुअल बैठकमा सहभागी हुनुभएन ।

सामाजिक विकास मन्त्रीहरुले कोभिड–१९ व्यवस्थापनका लागि व्यापक काम भए पनि प्रभावकारी समन्वयको अभाव देखिएको भन्दै कोही पनि अलमलमा नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया