निश्चित ठेकेदारलाई पाेस्न हचुवाकाे भरमा रेलमार्ग निर्माणका लागि ठेक्का दिनु गलत : नेता पाैडेल

 भदौ १७, २०७७ बुधबार २०:४५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँकडभिट्टा–इनरुवा रेल मार्ग निर्माणमा सार्वजनिक रुपमा विभिन्न विषय बाहिर आएकोप्रति आफ्नाे धारणा राख्नुभएकाे छ । उहाँले खुला प्रतिस्पर्धा विना निश्चित ठेकेदारलाई लाभ हुने गरी हचुवाका भरमा ठेक्का दिनु गलत भएको उल्लेख गर्नुभएको छ ।

उहाँले बुधबार प्रेस विज्ञप्तिमार्फत परियोजना निर्माणस्थलको धरातल प्रष्ट नभइ सार्वजनिक खरिद ऐनको दफा ८, ९, १० र १५ तथा नियमावली (६) विपरीत रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धा विना निश्चित ठेकेदारलाई दिनु गलत भएको बताउनुभएको हो ।

राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रुपैयाँ हचुवाका भरमा खर्च गर्नु अनुचित भएको बताउँदै नेता पौडेलले रेलमार्गमा पर्ने बजारको व्यवस्थापन र त्याे क्षेत्रमा जनताले उपभोग गर्दै आएको जग्गाको मुआब्जा वितरणसमेत नगरि रेलमार्ग निर्माणको प्रक्रिया थाल्नु गलत भएको उल्लेख गर्नुभएको छ ।

नेता पौडेलले तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर त्यसबारे छानबिन गर्न संसदीय लेखा समिति, विकास तथा प्रविधि समिति, नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बद्ध न्यायिक निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया