रासायनिक मल पाउनै गाह्रो, विकल्पमा के गर्ने ?

 भदौ १८, २०७७ बिहिबार १०:४४:४१ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै - देशभर नै रासायनिक मलको अभाव छ । यो वर्ष रासायनिक मलको अभाव हुनुमा कोरोनालाई दोष दिइए पनि मलको अभाव हरेक वर्ष हुने गरेको छ ।

आपूर्तिमा असहज हुँदा यो वर्ष गएका वर्षको तुलनामा मलको अभाव बढी भएको कृषि मन्त्रालयले जनाएको छ । सरकारले बंगलादेशबाट मल पैँचो मागेको छ । थोरै आयात हुँदा मल पाइने पसलमा घण्टौं लाइनमा उभिएर थोरै मात्र मल किन्न किसान बाध्य छन् ।

रासायनिक मलको अभावका कारण उत्पादन घट्न सक्ने भन्दै किसान चिन्तित भएका छन् । मल नहुँदा धानबाली मात्र होइन तरकारी र अरु बाली पनि राम्रो फस्टाउँदैन । यस्तो अवस्थामा तत्काल रासायनिक मलको विकल्प खोज्नुपर्ने विज्ञहरुले बताउँदै आएका छन् । 

अहिले मुख्य समस्या धानबालीमा रासायनिक महल छर्न नपाएर भएको छ । कतिपय ठाउँमा ढिलो हुन लागिसकेको छ । एकदमै ढिला भएको ठाउँमा तत्काल कुखुराको मल वा चुना लगेर छरिहाल्न नेपाल कृषि अनुसन्धान परिषद् नार्कका विज्ञ हरिकृष्ण उप्रेतीले सुझाव दिनुभएको छ । यसो गर्दा धान उत्पादन धेरै घट्न नपाउने उहाँको भनाइ छ । 

ढिला गरेर धान रोपेको ठाउँमा भने १५ दिनमै जैविक मल तयार गरेर प्रयोग गर्न सकिन्छ । कोरोनाको जोखिम कहिलेसम्म हुन्छ  वा मलको आयात राम्ररी कहिलेदेखि सुरु हुन्छ भन्ने कुनै ठेगान छैन । त्यसैले  धानसँगै गहुँ, तरकारी लगायतका अरु बालीनालीलाई पनि अहिलेदेखि नै रासायनिक मलको विकल्प खोज्न मल विज्ञ तथा महेन्द्र रत्न क्याम्पस इलाममा कृषि विषयमा अध्यापन गराउँदै आउनुभएका सह-प्राध्यापक डाक्टर योगेन्द्रमान श्रेष्ठको सुझाव छ । 

त्यसका लागि जैविक, कम्पोष्ट र गँड्यौला मलको प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।   रासायनिक मलको विकल्प अहिलेको लागि मात्रै नभई सधैंको समस्या समाधानका लागि खोज्नुपर्ने उहाँ बताउनुहुन्छ ।  मलको तत्कालको आवश्यकता पूरा गर्नका लागि जैविक मलको प्रयोग गर्न सकिन्छ । 

जैविक मल कसरी बनाउने ? 

जैविक मल स्थानीयस्तरमै तयार पार्न सकिन्छ । धेरै खर्च पनि लाग्दैन । माटो, खरानी, गाईको गहुँत, गोठेमल, ढुटो र पीनाको प्रयोगबाट बनाउन सकिन्छ । जैविक मल बनाउनका लागि खेतीपाती गरिरहेको ठाउँको २० सेन्टिमिटर गहिरोसम्मको माटो, पाकेको गोठेमल, धानको ढुटो, खरानी र गहुँत  मिसाउनुपर्छ । 

मिसाउँदा सबैको मात्रा बराबर हुनुपर्छ ।  उदाहरणका लागि २ किलो माटो मिसाइएको छ भने त्यसमा गोठेमल, ढुटो र  खरानी पनि  २/२ किलो नै मिसाउनुपर्छ । अरु सामग्री २ किलो मिसाएको छ भने गाईको गहुँत ५ लिटरजति मिलाउनुपर्छ । 

ढुटो र गोठेमल तथा  माटो र पीना मिसाउनु उपयुक्त हुन्छ । यो भनेको एउटा अलि चिसो र अर्को कम चिसो मिसाउँदा दुवैमा चिसोको मात्रा मिल्न जान्छ । त्यसरी एकछिन मिसाएर मात्रा मिलाएपछि भने सबैलाई एकै ठाउँमा मिसाउन सकिन्छ । सुख्खा भएमा अलिकति गाईको गहुँत थप्नुपर्छ । अलिअलि अँध्यारो भएको ठाउँमा राख्न सकिन्छ । एक दिन बिराएर त्यसलाई चलाइरहनु पर्छ । सात पटक चलाएपछि त्यो मलको रुपमा तयार हुन्छ । 

जैविक मल खाद्यान्न, फलफूल सबै बालीमा प्रयोग गर्न सकिन्छ । छोटो समयमा तयार हुने भएकाले अहिले रासायनिक मलको एकदमै अभाव भएको बेला यो मलको प्रयोग उचित हुन्छ । यस्तो मल एक रोपनी क्षेत्रफलका लागि ५ सय किलो चाहिन्छ ।

जैविक मल १५ दिनमा नै तयार हुने भएकाले अझै पनि धानबाली लगायतका अरु बालीमा प्रयोग गर्न सकिन्छ । तर अझै कोरोनाको जोखिम कायम भएको र मल आयात कहिलेदेखि निरन्तर हुन सक्छ भन्ने यकिन नभएकाले अरु बालीमा प्रयोग गर्नका लागि कम्पोष्ट मल र गँड्यौला मल पनि तयार गर्दैगर्दा राम्रो हुने डाक्टर योगेन्द्रमान श्रेष्ठ बताउनुहुन्छ । 

कम्पोस्ट मल बनाउने तरिका 

पराल, छ्वाली, गोबर, विभिन्न घाँसपातहरू, खरानी, चुन आदिलाई नियमित तवरले तह-तह पारी क्रमैसँग राखी पटक-पटक पल्टाएर कुहाएर तयार पारिएको मललाई कम्पोष्ट मल भनिन्छ । 

१) पराल, छ्‌वाली, गोबर, घाँसपात, खरानी, चुन आदिलाई तहतह पारी जमिनमाथि थुपार्ने 

२) त्यसमा पानी छर्कने ।

३) निश्चित उचाइ अर्थात् झण्डै  १ मिटर जति  भएपछि माटोले लिप्ने गर्नुपर्छ यसो गर्दा नाइट्रोजन मल उडेर जानबाट बच्ने र दुर्गन्ध पनि नआउने हुन्छ ।

४ खाडल तरिकामा जस्तै बेलाबेला मल प्रयोग गर्नुपर्छ । 

५ वर्षायाममा पानीबाट बचाउन छोप्ने वा छानोको व्यवस्था गर्नुपर्छ । 

६) कुहाउन हालेको सामग्री लतक्क कालो देखिएमा वा पहिला राखेको सामग्री नचिनिने भएमा त्यो पाकेको मल हुन्छ । यो मल लगभग ६० दिनमा तयार हुन्छ । 

गँड्यौला मल बनाउने तरिका 

गँड्यौला मल बनाउने विधि लगभग कम्पोष्ट मल बनाउने जस्तै नै हुन्छ । कम्पोष्ट मल बनाउन तयार पारिएको सामग्रीमा गँड्यौला राखेर मल बनाउने हो । गँड्यौला मल बनाउनका लागि गोबर, झारपात, पराल तथा छ्वाली भिजाएर हावा चल्ने  ठाउँमा थुप्रो बनाएर राख्नुपर्छ । घरेलु फोहोर भए पानीले नभिजाई त्यतिकै थुप्रो बनाएर राख्नु पर्छ ।

थुप्रोमा केही दिनपछि तापक्रम ६०-६५ डिग्री सेल्सियससम्म पुग्छ र  कम्पोष्ट मल बनाउन राखिएको बस्तुहरु गलेर नरम हुन्छ । यसमा रहेका सबै अनावश्यक जीवाणुहरु र कीराहरु मर्दछन् र कम्पोष्टको थुप्रो सेलाएर जान्छ ।त्यसपछि १ सय वटा गँड्यौला प्रति वर्ग मिटरको दरले राखेमा गँड्यौलाले प्राङ्गारिक पदार्थहरु खाई ४ देखि ६ हप्तामा नै त्यो संख्या बढेर ४ सय वटा प्रति वर्ग मिटरमा पुग्दछन् ।

त्यसपछि गँड्यौला मल तयार पार्न सकिन्छ । गँड्यौला मलमा खाद्यतत्वको मात्रा बढी हुने भएकाले बोटबिरुवाका लागि राम्रो हुन्छ । यसले माटोको उर्वराशक्ति पनि बढाउने काम गर्छ । साधारण तरिकारले बनाएको कम्पोष्ट मल भन्दा यो अलि थोरै प्रयोग गर्दा पनि हुन्छ । गँड्यौला मल प्रति हेक्टरमा १० टनका दरले प्रयोग गर्न सकिन्छ । निर्वाहमूखी खेती गरिने ठाउँमा भने गोठेमलको मात्रै प्रयोग गरिने गरिएको छ।

गोठेमललाई नै रासायनिक मलको रुपमा प्रयोग गर्न सकिए पनि धेरै परिमाणमा चाहिने हुन्छ । १ किलो रासायनिक मलले काम गर्ने ठाउँमा ४ डोको गोठे मल चाहिन्छ । तर  सुधारिएको गोठेमल प्रयोग गर्दा भने एक किलो रासायनिक मलले गर्ने काम एक डोको गोठे मलले पनि गर्छ ।
  
देशमा वार्षिक सात लाख मेट्रिक टनभन्दा धेरै  मलको माग हुने गरेको छ । तर मागको तीनदेखि साढे तीन लाख मेट्रिक टन मल आपूर्ति गर्न नसकिएको कृषि सामग्री कम्पनीका सूचना अधिकारी विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । ग्लोबल टेन्डरबाट खरिद गर्नका लागि कम्तीमा ६ महिना लाग्छ । त्यसैले जीटुजी प्रक्रियाबाहेक खरिद गर्ने अन्य विकल्प नभएको पोख्रेलले बताउनुभयो । मन्त्रालयले जिटुजी प्रक्रियामा पनि ढिलाइ गर्ने गरेकोले अभाव हुने गरेको छ  । 

कुल अनुदानको मलमध्ये ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशन र ७० प्रतिशत कृषि सामग्री कम्पनीले वितरण गर्दै आएका छन् । यस्ता विभिन्न समस्या झेल्दै  ल्याउनुपर्ने र माटोको उर्वराशक्ति नास गर्ने रासायनिक मल सधैंका लागि विस्थापित गर्न पहल गर्नुपर्ने विज्ञले बताउँदै आएका छन् । 

अन्तिम अपडेट: असोज १४, २०७७

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

1 Comments

  • Sandip khanal

    Sept. 3, 2020, 5:32 p.m.

    हैन यो कृषीप्रधान देशमा एउटा रासायनिक मलको कारखाना खोल्न सक्दैन भनेको ..नै समस्या संधैको लागि खतम /

  •  0 Reply

तपाईको प्रतिक्रिया