लकडाउन सुरु भएदेखि अहिलेसम्म १ सय ३३ गर्भवती तथा सुत्केरीको उद्धार

 भदौ १९, २०७७ शुक्रबार ८:२४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लकडाउन सुरु भएदेखि अहिलेसम्म देशभरबाट १ सय ३३ गर्भवती तथा सुत्केरीको उद्धार भएको छ । 

हुम्ला, डोल्पा, अछाम, बाजुरा, धादिङ,दोलखा, खोटाङलगायत जिल्लाका गरी १ सय ३३  जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाई उद्धारसम्बन्धी समन्वय इकाई प्रमुख अञ्जु ढुंगानाले जानकारी दिनुभयो ।

उद्धार गरिएकाहरुमध्ये २२ जना २० वर्षभन्दा कम उमेरका किशोरी छन् । स्वास्थ्य अवस्था जटिल भएका, यातायातको पहुँच नभएका, दुर्गम क्षेत्र र आर्थिक अवस्था कमजोर भएका गर्भवती तथा सुत्केरीको सरकारले उद्धार गर्दै आएको छ । 

लामो समय सुत्केरी व्यथा लागेर बच्चा जन्माउन समस्या भएको, गर्भमा नै बच्चाको ज्यान गएको, गर्भवती अवस्थामा शरीर सुन्निएको, सुत्केरी भएपछि धेरै रगत बगेका, रक्तअल्पता भएका गर्भवती र स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवतीको  उद्धारको काम हुँदै आएको छ । सडक सञ्जालको पहुँच नपुगेका दुर्गम हिमाली तथा पहाडी ३० जिल्लामा पूर्ण र ४ जिल्लाका २० दुर्गम पालिकामा निःशुल्क हवाई उद्धार हुँदै आएको छ । 

नेपालमा घरमा नै सुत्केरी हुँदा स्वास्थ्य जटिलता भएर ज्यान गुमाउनुपर्ने अवस्था अहिले पनि छ । ‘गर्भवती तथा सुत्केरी हुँदा समस्यामा परेकाहरुका लागि बेलैमा उद्धार गर्न सके उनीहरुको ज्यान जोगाउन सकिन्छ। ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि २०७५ सालदेखि यो कार्यक्रम लागू भएको भए पनि उद्धारको काम भने वि.सं. २०७६ साउन १ गतेदेखि सुरु भएको हो ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया