'डाेजर किने जस्ताे गरी पीसीआर मेसिन किन्ने लहर चलेकाे छ'

 भदौ २३, २०७७ मंगलबार १९:५६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पालिकाहरुले अनावश्यक रुपमा पीसीआर मेसिन खरिद गरेकाे भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । अहिले नेपालमा स्थापना भएका प्रयोगशालाको क्षमताले नेपालका लागि पुग्ने भएकाले थप पीसीआर मेसिन आवश्यक नभएको उनीहरुले बताएका हुन् । 

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर कृष्णप्रसाद अधिकारीले सरकारकाे पीसीआर ल्याब निकै खर्चिलो भएको र अहिले स्थापना भएका ल्याबको क्षमताले नेपालका लागि पुग्ने भएकाले ल्याबको सङ्ख्या बढाउने विषयलाई रोक्नुपर्ने बताउनुभयो । संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा कोभिड–१९ सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको बैठकमा उहाँले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले हरेक पालिकाले डोजर किने जस्तो गरी पीसीआर मेसिन किन्ने लहर चलेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । करोडौँ खर्च गरी पीसीआर मेसिन खरिद गर्न नहुने उल्लेख गर्दै उहाँले व्यापारीहरुले पीसीआर मेसिन बिकाउन हल्ला चलाउने गरेको र नेतृत्वकर्ताहरु त्यसको पछि लाग्ने प्रवृत्ति देखा परेको बताउनुभयो । 

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराज खनालले पनि पीसीआर ल्याबको सङ्ख्या नेपालमा धेरै भइसकेको बताउनुभयो । उहाँले पीसीआरको विकल्पमा एन्टिजम परीक्षण र एन्टिबडी परीक्षण हुने र ती परीक्षण अहिलेका पीसीआर मेसिनबाट हुन नसक्ने भएकाले कोभिड नियन्त्रणमा आएपछि पीसीआर मेसिनको काम नलाग्ने बताउनुभयो ।

पीसीआरले कुनै पनि रोगको जिनको परीक्षण नगर्ने भएकाले नेपालमा ती मेसिन काम नलाग्ने स्थितिमा आउन सक्ने बताउनुभयो । उहाँले पछिल्लो समय राजनीतिक रुपमा नै पीसीआर ल्याब बढाउँदै जाने प्रवृत्ति देखा परेकाले त्यसलाई पनि रोक्नुपर्ने बताउनुभयो । 

अहिले नेपालमा सरकारी र निजी गरी ४८ पीसीआर ल्याब स्थापना भइसकेका छन् । अहिले पनि कतिपय पालिकाले पीसीआर ल्याब निर्माण गर्ने भन्दै अगाडि बढिरहेका छन् । नेपालमा अहिले स्थापना भएका पीसीआर ल्याबबाट दैनिक २५ हजारभन्दा बढीको परीक्षण सम्भव भएको उनीहरुको भनाइ छ ।

सरोकारवालाहरुले पीसीआर ल्याब निर्माण गर्नुलाई राजनीतिक विषय बनाउन नहुने पनि बताएका छन् ।  

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया