चाँगुनारायण नगरपालिकाद्वारा ‘होम आइसोलेशनमा डाक्टर’ सेवा सुरु

 भदौ २६, २०७७ शुक्रबार १५:५०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - चाँगुनारायण नगरपालिकाले होम आइसोलेशनमा बसेका कोभिड-१९ सङ्क्रमितका लागि दैनिक ‘होम आइसोलेशनमा डाक्टर’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

होम आइसोलेशनमा बसेका सङ्क्रमितले डाक्टरको परामर्श लिन नपाउने र कुनै समस्या भएमा अन्याेलको अवस्था आउने भएपछि प्रत्येक दिन सङ्क्रमितलाई डाक्टरसँग जुममार्फत परामर्श गर्ने नगरपालिकाले व्यवस्था गरेको हो । सङ्क्रमितलाई डिप्रेसन नहोस, आत्मबल बढोस्, एक अर्काको अनुभव सुन्ने सुनाउने काम होस र समस्याको समाधान गर्न सजिलो होस भनेर सुरु गरेको यो सेवामा सातजना डाक्टरले निःशुल्क परामर्श दिने गरेका छन् 

। हरेक दिन एक डाक्टरको पालो आउने गरी सात दिनको तालिका बनाएर जुममार्फत होम आइसोलेशनमा रहेका १६ सङ्क्रमितसँग स्वास्थ्यका बिभिन्न पक्षकाबारेमा छलफल गर्ने गरिएको छ । परामर्शका लागि डा. यज्ञ तिमिल्सिना, डा.संजय गेलाल, डा. विवेक नेपाल, डा. श्रेया श्रेष्ठ, डा. ज्ञानेश्वर श्रेष्ठलगायत सात जनाको टोली यसका लागि परिचालित छन् । 

गएकाे मंगलबारबाट सुरु भएको यो सेवामा होम आइसोलेशनमा बसेका सङ्क्रमितको सहभागिता प्रभावकारी रुपमा रहेको र नगरपालिकाले गर्नुपर्ने कामको सुझाब आएमा त्यसलाई समेत सम्बोधन गर्ने प्रमुख मिश्र बताउनुहुन्छ । यसका अलावा नगरपालिकाले प्रत्येक वडाका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीमार्फत प्रत्येक दिन होम आइसोलेशनमा बसेकाहरुसँग फोनमार्फत परामर्श गर्ने कार्य पनि गरिरहेको छ ।

त्यसैगरी नगरपालिकाले विदेशबाट फर्किएका नागरिकलाई राख्न ताथलीको जनकपुर इन्जिनियरिङ कलेजलाई क्वरेण्टीन बनाएको छ । आवश्यकता परेमा त्यसलाई १०० शय्याको आइसोलेशनमा बनाउन सकिने गरी नगरपालिकाले तयारी गरेको छ । 

 तत्कालै ५०० शय्याको आइसोलेशन बनाउन सक्ने गरी नगरपालिका तयारी अवस्थामा रहेको छ। भक्तपुरमा चाँगुनारायण नगरपालिका कम सङ्क्रमित रहेको पालिका हो ।  दुवाकोटको काठमाण्डौ मेडिकल कलेजलाई भक्तपुर जिल्लाका सङ्क्रमितको उपचार गर्नेगरी आइसोलेशन बनाउने प्रस्ताव भएपछि हाल सबैतिरको सङ्क्रमितको उपचार भइरहेको छ । 

आवश्यक पर्दा केएमसीको होस्टेललाई नै ५०० शय्याको आइसोलेशन बनाउन सक्ने गरी नगरपालिका तयारी रहेको नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख अग्निप्रसाद अधिकारीले जानकारी दिनुभयो । बिरामी ओसार्नका लागि नगरपालिकाले एम्बुलेन्स तयारी अबस्थामा राखेको उहाँको भनाई छ । 

चाँगुनारायणमा विशेष गरी दैनिक काठमाण्डौ ओहोरदोहोर गर्नेहरुले सङ्क्रमण फैलाएको नगरपालिकाको भनाइ छ । बाक्लो र नयाँ बस्ती धेरै नभएका कारण चाँगुनारायणमा सङ्क्रमित कम भएको नगरपालिकाको ठहर छ । 

प्रत्येक घरमा स्वास्थ्य बीमा : 

त्यसैगरी नगरपालिकाले प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा गराउने भएको छ । सरकारले ल्याएको एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमालाई नगरपालिकाले अनिवार्य गर्दै अनुदान दिने भएको हो । पछिल्लो समयमा विभिन्न रोगको सङ्क्रमण बढ्दै गएको र आर्थिक अभावले उपचारमा समस्या आइरहेको बताउदै नगरप्रमुख मिश्रले स्वास्थ्य बीमामा नगरपालिकाले ५० प्रतिशत अनुदान प्रदान गर्ने जानकारी दिनुभयो । 

नगरपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउन प्रत्येक परिवारको बीमामा लाग्ने शुल्कमा ५० प्रतिशत नगरपालिकाले अनुदान दिने कार्यक्रम ल्याएको उहाँको भनाई छ । सबैलाई स्वास्थ्य बीमामा ल्याउन सके स्वास्थ्य उपचारदेखि औषधि खरिदमा समेत सहज हुने भएकाले नगरपालिकाले अनुदान दिएर भएपनि सबै नागरिकको पहुँचमा बीमा पुर्याउने भएको बताउनुभयो । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया