भीडभाड हुन नदिन आलोपालो प्रणाली

 भदौ २७, २०७७ शनिबार १२:१३:१२ | रासस
unn.prixa.net

काठमाण्डौ - कोभिड-१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै घरेलुु तथा साना उद्योग कार्यालय स्याङ्जाले सेवाग्राहीलाई आलोपालो पद्धतिबाट सेवा दिने भएको छ । 

सङ्क्रमणका कारण स्याङ्जा उच्च जोखिममा रहेको अवस्थामा कार्यालयमा सेवा लिन आउनेको सङ्ख्या बढेकाले बार तोकेर भोलिदेखि सेवा दिने तयारी भएको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले बताउनुभयो । 

कार्यालयमा विगतदेखि रोकी रहेका फर्म दर्ता, फर्म नवीकरण, नामसारी, ठाउँसारी लगायतका कामकाजका लागि सेवाग्राही जिल्लाभरिबाट आउने गरेकाले निश्चित दिनमा निश्चित पालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्दा सङ्ख्या सीमित हुने र सङ्क्रमणको जोखिम कम हुने विश्वास कार्यालय प्रमुख रेग्मीको छ । 

कार्यालयले स्वास्थ्य, सावधानी र सुरक्षालाई मध्यनजर गर्दै आइतबारदेखि शुक्रबारसम्म सेवा प्रवाह गर्ने तालिका सार्वजनिक गरेको हो । आइतबार वालिङ नगरपालिका र बिरुवा गाउँपालिका, सोमबार पुतली बजार नगरपालिका र फेदीखोला गाउँपालिका, मङ्गलबार चापाकोट नगरपालिका र हरिनास गाउँपालिका, बुधबार गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका, बिहीबार भीरकोट नगरपालिका र अर्जुनचौपारी गाउँपालिका, शुक्रबार आँधीखोला गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने कार्यालय प्रमुख रेग्मीले बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया