फुटपाथमा अटो वर्कशपको काम गर्न नपाइने

 भदौ २९, २०७७ सोमबार २०:२८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकामा सञ्चालित अटो वर्कशपहरु व्यवस्थित गरिने भएको छ ।

ललितपुर महानगरपालिकाको नगर प्रहरी बलले (सडक, पेटी) फुटपाथ अतिक्रणविरुद्धको अभियान सञ्चालन गरेर पहिलो चरणमा पसल अगाडि रहेका, फुटपाथमा भइरहेको अटो वर्कशपका काम बन्द गराउने भएको हो । 

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले नेपाल अटो मेकानिक्स व्यवसायी सङ्घसँच छलफल गरी आवश्यक काम कारबाही अघि बढाउन लागेको जानकारी दिनुभयो । नगर प्रहरी प्रमुख हाछेथु र सङ्घका अध्यक्ष राजकुमार बिकेसहितको टोलीसँग आइतबार यस विषयमा छलफल भएको छ ।

अटो वर्कशपहरुले फुटपाथमै काम गर्ने र कतिपयले व्यवसाय नै सञ्चालन गरेको पाइएको र पैदलयात्रीलाई आवत जावत गर्न पनि समस्या भइरहेकाले यस्तो  नगर्न सङ्घलाई पत्राचार गरिएको हाछेथुले जानकारी दिनुभयो । उहाँले असोज १ गतेदेखि यस्ता वर्कशपलाई नियमअनुसार कारबाही गरिने जानकारी दिनुभयो ।

यसैगरी सामुदायिक प्रहरी र सरोकारवाला निकायसँग सहकार्य गरी फुटपाथबाट निर्माण सामग्री र पसलहरु हटाउँदै जाने योजना रहेको ललितपुर महानगरपालिकाको नगर प्रहरी बलले जनाएको छ ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया