नेकपा नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक

 भदौ ३०, २०७७ मंगलबार १३:५८:२९ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घ संस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला र पालिकामा कुनै पनि शाखा गठन र गतिविधि गर्न रोक लगाउने निर्देशन दिएको हो । 

नेकपाले ती नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घ संस्थामध्ये अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि रोक लगाउने निर्देशन दिएको हो । केन्द्रमा भने कुनै रोक लगाइएको छैन ।  
पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी, जीवराज आश्रित, नरबहादुर कर्माचार्य, निर्मल लामा, सुरेश वाग्ले, कृष्णसेन इच्छुक मोतीदेवी, सहाना प्रधान, झलनाथ खनाललगायतका नाममा त्यस्ता संस्था खोलिएका छन् । तीमध्ये केहीका केन्द्रमा मात्र र केहीका जिल्लाहरुमा पनि शाखा खोलिएका छन् । 

पार्टी सचिवालय बैठकले प्रतिष्ठानसम्बन्धी अध्ययन गर्न कार्यदल बनाएर प्रतिवेदन सार्वजनिक नगरेसम्म तिनका शाखा गठन र गतिविधि नगर्न निर्देशन दिएको हो । 

अन्तरपार्टी निर्देशन मा सचिवालयले प्रतिष्ठानको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न स्पष्ट कार्यादेशसहितको कार्यदल गठन गर्ने उल्लेख गरिएको छ । कार्यदलको प्रतिवेदन प्राप्त भएपछि त्यसमाथि छलफल गरी प्रतिष्ठानबारे आवश्यक निर्णय गर्ने जनाइएको छ । 

नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले नेताका नाममा प्रतिष्ठान खोल्नु राम्रो भए पनि त्यसबाट पार्टीलाई नै नोक्सान पुर्‍याउने किसिमको गुटबन्दी गर्न नहुने बताउनुभयो । उहाँले नेताका नाममा खोलिएका अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अङ्कुश लगाउनुपरेको स्पष्ट गर्नुभयो ।

'नेताका नाममा खोलिएका प्रतिष्ठानले तिनै नेताको विचार र आदर्शलाई प्रचारप्रसार र तिनले  पुर्‍याएकाे योगदानको चर्चा गर्दै वैचारिक बहस गर्नुपर्ने हो ', उहाँले भन्नुभयो, 'तर त्यसरी खोलिएका प्रतिष्ठानले नेताहरुको विचार र आदर्शलाई भुलेर पार्टीभित्र गुटबन्दी गर्न थालेकाले व्यवस्थित बनाउन अहिलेलाई रोक लगाइएको हो ।'

उहाँले प्रतिष्ठानले पार्टीको नीति बाहिर रहेर समानान्तर गतिविधि सञ्चालन गर्न थालेकाले व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नेताका नाममा स्थापना हुने प्रतिष्ठानलाई पार्टी मातहत ल्याएर सञ्चालन गर्नुपर्ने धारणा पनि राख्नुभयो । 

अर्का स्थायी कमिटी सदस्य मणि थापाले पार्टीका नेताका नाममा प्रतिष्ठान वा कुनै सङ्घसंस्था स्थापना गर्नु आवश्यक रहे पनि त्यसका नाममा पार्टीभित्र गुटबन्दी गर्नु पार्टीकै हित विपरीत हुने बताउनुभयो । उहाँ प्रतिष्ठानलाई पार्टीकै गतिविधि नगरि गैरराजनीतिक क्रियाकलाप गर्न छुट दिनुपर्ने सुझाव दिनुहुन्छ । पार्टीभित्र विद्यमान प्रतिष्ठानले गुटबन्दी गरेकाले त्यसलाई व्यवस्थित बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया