पोखरामा चट्टान र सुरुङ विषयको पढाइ सुरु

 भदौ ३०, २०७७ मंगलबार १४:१७:२० | रासस
unn.prixa.net

कास्की– त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलो पटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इन्जिनियरिङकाे पढाइ सुरु भएको छ । सुरुङ इन्जिनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको लक्ष्यसहित स्नातकोत्तर तहमा यस वर्षबाट याे कार्यक्रमको पढाइ सुरु गरिएको हो । 

सिभिल इन्जिनियरिङमा स्नातक पास भइ इन्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा उत्तीर्ण एक सय मध्येबाट ‘मेरिट लिस्ट’ का आधारमा सिट क्षमताअनुसार पहिलो वर्ष तीन महिलासहित २० जना विद्यार्थी छनोट गरी अध्यापन सुरु गरिएको क्याम्पस प्रमुख इन्जिनियर रामप्रसाद पौडेलले बताउनुभयो ।

उहाँका अनुसार कोरोना जोखिमका कारण अहिलेलाई सोमबारदेखि भर्चुअल विधिबाट अध्ययन/अध्यापन सुरु गरिएको छ । याे कार्यक्रम दुई वर्षे कोर्सकाे हुनेछ । यसअघि गएकाे वैशाख १५ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी रहे पनि लकडाउनका कारण ढिलाइ भएको क्याम्पस प्रशासनले जनाएको छ । आउँदाे असोज, कात्तिक र मङ्सिरमा सैद्धान्तिक कक्षा सञ्चालनपछि प्रयोगात्मक कक्षा सुरु हुनेछ ।

पहाडी भूगोल भएको देशमा तीव्र पूर्वाधार विकासका लागि सुरुङ निर्माणको विकल्प नभएको र त्यसका लागि आवश्यक जनशक्ति देशभित्रै उत्पादन गरेर मात्र पूर्वाधार निर्माण अघि बढाउन सहज हुने भएकाले मागका आधारमा सुरुङ इन्जिनियरिको अध्यापन गरिएको क्याम्पस प्रमुख पौडेलले जानकारी  दिनुभयो । उहाँले भन्नुभयो, 'रक एण्ड टनेल अहिलेकाे अवस्थामा बढी जनशक्ति माग भएको क्षेत्र हो, देशले खोजेको जनशक्ति स्वदेशमै उत्पादनका गर्ने योजनाअनुसार यस वर्षदेखि कक्षा सुरु गरेका हौँ, कोरोनाले प्रभाव पारे पनि अहिले अनलाइन विधिबाट अध्यापन थालनी गरेका छौँ ।'

क्याम्पसले प्रयोगात्मक कक्षाका लागि नेपाल टनेलिङ एसाेसिएशन, हाइड्रो ल्याब, एनईए इन्जिनियरिङ लगायतका विभिन्न संस्थासँग सहकार्य गर्ने र उनीहरुको स्रोत साधन उपयोग गर्ने योजना रहेको जनाएको छ । त्याे कार्यक्रमको कोर्स सैद्धान्तिकभन्दा अधिकांश प्रयोगात्मक छ । सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाका लागि क्याम्पसले अहिले विदेशमा रहेका नेपाली विषय विज्ञलाई नै आमन्त्रण गर्ने योजना बनाएको छ । विदेशमा रहेका नेपाली विज्ञले समेत अध्यापनका लागि आउने प्रतिबद्धता जनाएको क्याम्पसले जनाएको छ ।

'नेपाली विषयविज्ञ जो अहिले विदेशमा हुनुहुन्छ उहाँहरु अध्यापनका लागि आउन तयार रहनुभएको छ, त्यसका साथै नेपाल टनेलिङ एसाेसिएशनमा दुई सय जना जति विज्ञ आबद्ध हुनुहुन्छ, उहाँहरुबाट सैद्धान्तिक र प्रयोगात्मक कक्षा लिन्छौँ', उहाँले भन्नुभयो । यसअघि क्याम्पसले विषयविज्ञ भेला गरी सुरुङ  इन्जिनियरिङको पाठ्यक्रम तयार गरेको थियो । त्याे पाठ्यक्रमलाई त्रिविले अनुमोदन गरेपछि पढाइ सुरु गरिएको क्याम्पसका चट्टान तथा सुरुङ कार्यक्रममा संयोजक कौशलचन्द्र जिसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'प्राेग्रामका हिसाबले रक एण्ड टनेल देशमै पहिलो हो, हाम्रोजस्तो पहाडी चट्टानी भौगोलिक अवस्था भएको देशमा रेल, सडक, जलविद्युत्, सिँचाइलगायत जति पनि पूर्वाधारका काममा सुरुङ निर्माण अपरिहार्य छ । गण्डकी प्रदेश सरकारले पनि यस विषयमा चासो देखाएको छ ।'

यस विषयको पाठ्यक्रम भौगोलिक अवस्थिति अध्ययन, चट्टान अन्वेषण, अन्वेषण प्रविधि, कन्स्ट्रक्सन प्रविधिलगायतमा केन्द्रित रहेको संयोजक जिसीको भनाइ छ । यसबाट उत्पादित जनशक्ति पूर्वाधार आयोजनामा उच्च माग भएका हुने बताइन्छ । गण्डकी प्रदेश सरकारले सुरुङ इन्जिनियरिङको पठनपाठनमा सहयोग गरेको छ । पाठ्यक्रम तयार गर्न १० लाख रुपैयाँ बजेट उपलब्ध गराएको सरकारले चालु वर्षमा कार्यक्रम सञ्चालनका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

इन्जिनियरिङ अध्ययन संस्थानका डिन डाक्टर शशीधरराम जोशीले राष्ट्रको आवश्यकता र मागका आधारमा नयाँ नयाँ कोर्स सुरु गर्दै जाने बताउनुभयो । उहाँले पहिलो ब्याचका विद्यार्थीलाई शुभकामना दिँदै देशले खोजेको जस्तो दक्ष जनशक्ति उत्पादन हुने विश्वास लिनुभयो । चट्टान तथा सुरुङ इन्जिनियरिङको जनशक्तिको अहिले देशभित्र माग उच्च रहेको बताउँदै उहाँले भन्नुभयो, 'सुरुङमार्ग निर्माणका कतिपय योजना रहे पनि जनशक्ति अभावमा ती योजना आशातीतरुपमा अघि बढ्न सकेका छैनन्, देशभित्रै दक्ष जनशक्तिको उत्पादनमा यहीँको शिक्षाले सघाउने छ ।' 

पश्चिमाञ्चल क्याम्पसमा याे कोर्सकाे अध्यापनका लागि नर्वेजियन इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (एनटीएनयू) विश्वविद्यालयले प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । पाठ्यक्रम निर्माण, प्राध्यापक व्यवस्थापन लगायतमा त्याे विश्वविद्यालयले सघाएको थियो । एनटीएनयूका प्रोफेसर डा. कृष्णकान्त पन्थीले चट्टान तथा टनेल इन्जिनियरिङमा नेपालले क्षमता विकास गर्नु आवश्यक रहेको बताउनुभयो । 

नेपाल टनेलिङ एसाेसिएशनका अध्यक्ष डा. ज्ञानेन्द्रलाल श्रेष्ठले कोर्षको सफलताका लागि एसाेसिएशनले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी पश्चिमाञ्चल क्याम्पसले यसै वर्षदेखि स्नातकोत्तर तहमा ‘जिइयोम्याट्रिक्स इन्जिनियरिङ’ को पनि पढाइ सुरु गरेको छ । काठमाण्डाै विश्वविद्यालय पछि पोखरामा यस विषयको पढाइ सुरु भएको हो । जिइयोम्याट्रिक्समा स्नातक विसं २०६९ बाट सुरु भएकाेमा अहिले स्नातकोत्तरको समेत अध्यापन सुरु गरिएको सहायक क्याम्पस प्रमुख सुनिल दाहालले बताउनुभयो । यस कार्यक्रममा १६ जना विद्यार्थी छन् । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया