नेपालको भूभाग र सीमासम्बन्धी पुस्तक सार्वजनिक

 भदौ ३१, २०७७ बुधबार ७:६:५६ | रासस
unn.prixa.net

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतीय अतिक्रमणमा परेको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री' पुस्तक सार्वजनिक गरेको छ ।

मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूभाग र सिमानासम्बन्धी जानकारी दिने उद्देश्यले प्रकाशन गरेको सो पुस्तक मंगलबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भर्चुअलरुपमा सार्वजनिक गर्नुभयो । गएकाे २ नोभेम्बर २०१९ मा भारतले एकतर्फीरूपमा जारी गरेको नक्सामा लिपुलेक–कालापानी–लिम्पियाधुरासिहतको नेपालको भूभागलाई भारतीय क्षेत्रमा देखाएको र सो भूभागमा सडकसमेत बनाएको र नेपालले पनि आफ्नो नक्सा परिवर्तन गरी संविधानमा समेत संशोधन गरिसकेको स्थितिमा विद्यार्थी तथा जनसमुदायमा नेपालको सीमासम्बन्धी वास्तविक अवस्थाको जानकारी गराउन विज्ञको परामर्शमा पुस्तक तयार गरिएको हो ।

पुस्तकको लेखन कार्य ‘सीमा बचाऔँ अभियान’ का अभियानकर्मी कोमलचन्द्र बराल, त्रिभुवन विश्वविद्यालयका भूगोलविद् शेरबहादुर गुरुङ र भूगोलविद् एवं पाठ्यपुस्तक लेखक सहप्राध्यापक केशवराज ढकालसहितको कार्यदलबाट र संयोजन पाठ्यक्रम विकास केन्द्रका निर्देशक प्रेम भट्टराईले गर्नुभएको हो ।

पुस्तक तयारको सिलसिलामा पुस्तकको मस्यौदामा विभिन्न राजनीतिक ओहोदामा रहनुभएका राजनीतिक नेताबाट सुझाव प्राप्त भएको मन्त्रालयले जनाएको छ । यसको पाण्डुलिपिको अध्ययन गरी सीमाविद् बुद्धिनारायण श्रेष्ठ, नदीविज्ञ जगत भुसाल, विश्लेषक श्याम श्रेष्ठलगायतले सुझाव दिनुभएको थियो । यो पुस्तक गत असार १९ गतेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट विद्यालय तहमा सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्ने गरी स्वीकृत गरिएको थियो ।

मन्त्री पोखरेलले राष्ट्र, राष्ट्रियता र भौगोलिक अखण्डताको संरक्षणका लागि विद्यार्थीका साथै जनतामा सचेतता र संवेदनशीलताको विकास गर्नु, भूपरिवेष्टित अवस्थिति र संवेदनशील भूराजनीतिक अवस्थामा रहेको नेपालको सिमाना जोडिएका छिमेकी देशसँग बेलाबेलामा देखापर्ने गरेका र भविष्यमा समेत सिर्जना हुन सक्ने सीमा विवादहरूको जानकारी राख्न र समाधानमा सहजीकरणका लागि पुस्तक सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकमा नेपालको प्राचीन, मध्यकालीन लगायत सन् १८१६ मा भएको सुगौली सन्धिसम्मको नेपालको सिमाना र क्षेत्रफलको विस्तार र सङ्कुचनको ऐतिहासिक सन्दर्भ, अन्तर्राष्ट्रिय सीमाको अवधारणा, सिद्धान्त, नदी सीमामा उद्गमस्थलको पहिचान, सीमा विवाद, सीमा विवाद हुने कारण र समाधानका उपायको जानकारी दिइएको छ ।

नेपालको सीमा निर्धारण, छिमेकी देश चीन र भारतसँगको सीमा सम्बन्ध, सीमा विवाद र समाधानका प्रयास र नेपाल र भारतबीचको सीमा विवाद रहेका विशेष गरी पश्चिमोत्तर सीमा क्षेत्रका भारतद्वारा अतिक्रमित नेपालका लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रको सीमा विवादका कारण, समाधान र यससँग सम्बन्धित ऐतिहासिक, प्रशासनिक र भूराजनीतिक प्रमाण पुस्तकमा संलग्न छन् ।

यस्तै नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुस्ता क्षेत्रको अतिक्रमणसम्बन्धी छोटो जानकारी तथा नेपालको अद्यावधिक नक्सा निर्माण अभ्यास र नक्साको परिचय र प्रयोगसम्बन्धी विषयवस्तु पनि समावेश गरिएका छन् ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया