सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिको शृङ्खला : पहिरोको विनाशदेखि भूकम्पको धक्कासम्म

 भदौ ३१, २०७७ बुधबार ८:५२:३४ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गयो । पहिरो र भूकम्पले धेरै क्षति गरेको सिन्धुपाल्चोकमा फेरि गएको अर्को भूकम्पले विपत् थप्ने हो कि भन्ने चिन्ता थपिएको छ ।

रातभर पानी परेको र बिहान ठूलो भूकम्प गएपछि पहिरोको जोखिम बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेल बताउनुहुन्छ ।

‘जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार अहिलेसम्म भूकम्पका कारण क्षति भएको जानकारी आएको छैन’ उहाँ भन्नुहुन्छ, ‘तर आज बिहान भूकम्पको केन्द्र बनेको सिन्धुपाल्चोकमा यसकै कारण जमिन चिरा पर्दा पहिरो अझै  जाने जोखिम बढेको छ । सिन्धुपाल्चोकमा रातभर निकै ठूलो पानी परेको थियो ।’ 

६ वर्षदेखि प्राकृतिक विपत्तिमा सिन्धुपाल्चोक

२०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा पहिरो खस्दा १ सय ४५ जनाको ज्यान गयो । त्यतिबेला पहिरोले भोटेकोशी नदी २४ घण्टा थुनिएको थियो  । नदी थुनिँदा महिनौंसम्म अरनिको राजमार्ग अवरुद्ध भएको थियो । यो पहिरोले घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मसहित १ सय ५३ घरमा पूर्ण रूपमा क्षति भएको थियो । 

२०७२ वैशाख १२ गते गोरखा केन्द्र भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको  भूकम्पका कारण जमिन कमजोर बनेपछि सिन्धुपाल्चोक विपतकाे केन्द्र बन्दै आएको छ ।

०७२ वैशाख १२, १३ र २९ गते गएको भूकम्पका कारण सिन्धुपाल्चोकमा मात्रै ३ हजार ५ सय ७१ जनाको ज्यान गएको थियो । १ हजार ५ सय ६५ जना घाइते भएका थिए । भूकम्पमा परेर ८ जना बेपत्ता भए । भूकम्पले ७८ हजार ५ सय ३७ घर पूर्ण रुपमा क्षति भयो । विद्यालय र सरकारी भवनमासमेत भूकम्पको प्रभाव नराम्रो परेको थियो । 

२०७३ असार २१ मा भोटेकोशीमा नदीमा आएको बाढीले चीनको तिब्बतसँगको सीमा नाका लिपिङ बजारदेखि बाह्रबिसे बजारसम्मका र तल्लो तटीय क्षेत्रका ६० घर बगायो । लिपिङ बजारका ३० घर बगाउनुका साथै तातोपानी नयाँ बस्तीका ३० घरमा क्षति गरेको थियो । यसैगरी भोटेकोशीको तटीय क्षेत्रका बस्ती र अरनिको राजमार्गका विभिन्न ठाउँमा क्षति पुर्याएको थियो । 

२०७४ साउन ८ राति खसेको पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद भयो । अरनिको राजमार्ग पनि अवरुद्ध बन्यो । २०७५ भदौ २ मा साँधी खोलामा आएको पहिरोले पक्की पुल बगायो । पहिरोका कारण २२ घरमा लेदो पसेको थियो भने १२ घर जोखिममा परेका थिए । 

तीन महिनामा ७० जनाको ज्यान गयो, ३८ बेपत्ता 

गएको असार २४ बाह्रविसे नगरपालिका–५ को जम्बु बजारमा माथिबाट खसेको पहिरोले बस्ती पुरै पुरिँदा दुई जनाको ज्यान गयो, १७ जना बेपत्ता भए । पहिरोले २५ घरमा क्षति भएको छ । बाह्रबिसे नगरपालिकाको खागदलमा बाढी पहिरोले बस्ती पुरियो जसका कारण २२ घरमा बस्न नमिल्ने गरी क्षति भयो । भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोमा एक जनाको ज्यान गयो भने तीन जना बेपत्ता भए । 

यसैगरी असार २४ गते राति नै भोटेकोशीको लार्चामा गएको पहिरोले १३ घर क्षति गर्यो भने गाउँ नै विस्थापित भयो । जम्बुमा २५ घर र खागदलमा २२ घर क्षतिग्रस्त भए । अरनिको राजमार्गका खागदल र बुल्कुटेको २ वटा पक्की पुलमा क्षति पुग्यो  । भोटेकोशी गाउँपालिका लार्चाका पहिरोबाट विस्थापित भएकाहरुलाई तातोपानीमा रहेको ड्राइपोर्टमा राखिएको छ । 

यस्तै असार ३१ राति भोटेकोशी गाउँपालिकाको फुल्पिङ गाउँमा खसेको पहिरोमा एकै परिवारका ५ जनाको ज्यान गयो । तीन घरमा पूर्ण क्षति हुँदा विद्यालय भवनमा आंशिक क्षति भयो ।

गएको साउन १८ राति मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ८ जना मजदुरको ज्यान गयो । त्यही दिन बरुवा स्वास्थ्यचौकीसँगै जोडिएको घर पहिरोले बगाउँदा २ जनाको ज्यान गयो । 

साउन २२ मा चौतारा साँगाचोकगढी नगरपालिका २ सेराफाँटमा ४ घर पुरिए । यस्तै बाढीले बलेफी जलबिरे ढाँडे कात्तिके सडक ठाउँठाउँमा अवरुद्ध भयो । बलेफी गाउँपालिकाको १, २, ३ र ४ का जलविरे, नौबिसे, ढाँडेखोला, कामिटार, झोलंगे, जुगल गाउँपालिकाको राम्चेमा सयौं रोपनी धान खेत बगायो ।  

साउन ३० गते बिहान जुगल गाउँपालिका वडा नम्बर २, गोल्चेको लिदीमा पहिरोले ३७ घर पुरिँदा बेपत्ता भएका ३९ जनामध्ये ३७ जनाको शव भेटियो । दुई जना अझै बेपत्ता छन् । पहिरोले १३ घरमा पूर्ण रुपमा क्षति पुर्याउँदा २४ घर बस्न नमिल्ने भएका छन् । 

चार दिनअघि मात्रै बाह्रबिसे नगरपालिका वडा नम्बर ७ घुम्थाङको भीरकोट, नेवारटोल र नागपुजेमा पहिरोमा पुरिएर बेपत्ता भएका ३१ जनामध्ये १५ जनाको शव भेटिएको छ । हराइरहेका १६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोले भीरखर्कका ६, नाकपुजेका ११ र नेवार टोलका १३ गरी ३० घरमा पूर्ण क्षति भएको छ । १७ घर उच्च जोखिममा छन् ।

अर्को ठूलो पहिरो गएको चार दिनपछि फेरि सिन्धुपाल्चोक नै केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । यसले धनजनको क्षति गरेको जानकारी नआए पनि पहिरोको जोखिम बढाएको छ । सिन्धुपाल्चोकमा पटकपटकको प्राकृतिक विपत्तिले सबैलाई चिन्तित तुल्याएको छ । जोखिममा रहेका बस्ती छिटो सार्न सरकारलाई दबाब बढेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया