स्वास्थ्य सावधानी अपनाएर पर्यटक बस सञ्चालन गर्ने तयारी

 भदौ ३१, २०७७ बुधबार १०:३५:४० | रासस
unn.prixa.net

काठमाण्डाै – पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी थालेका छन् ।

टुरिष्ट बस एशाेसिएशन अफ नेपाल टिवानका अध्यक्ष ईश्वर शर्माले पूर्ण रूपमा सुरक्षाका उपाय अपनाएर पर्यटकीय बस सञ्चालनको तयारी गरेको जानकारी दिनुभयो । यात्रुको शरीरको तापक्रम नाप्ने, चालक, सहचालक र यात्रुले मास्क र पञ्जा अनिवार्य रूपमा लगाउनुपर्ने, बसभित्र सेनिटाइज गर्ने जस्ता व्यवस्था गरेर बस चलाउने उहाँले बताउनुभयो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ का कारण स्थगित भएको थियो । बाह्य पर्यटक तत्काल आउन नसके पनि आन्तरिक पर्यटकलाई लक्षित गरेर बससेवा सञ्चालन गर्न लागेको टिवानका अध्यक्ष शर्माले बताउनुभयो ।

यसअघि काठमाण्डौबाट पोखरा, चितवन, लुम्बिनी र जनकपुरमा झण्डै सय वटा पर्यटक बसले सेवा प्रदान गर्दै आएका छन् । टिवानका महासचिव दीपेन्द्र अधिकारीले सरकारले पर्यटक बस सेवालाई प्राथमिकता दिन नसकेको बताउनुभयो । छुट्टै बसपार्क नहुँदा समस्या भैरहेको उहाँको भनाई छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक बसपार्क निर्माणका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको बताउनुभयो । कोभिड–१९ को सङ्क्रमणभन्दा पहिला पर्यटक बसले दैनिक झण्डै तीन हजारदेखि चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्य स्थलमा पुर्याउँदै आएका थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया