लामो दूरीका सार्वजनिक गाडीमा विशेष सुरक्षा मापदण्ड आवश्यक, यातायात सञ्चालन कार्यविधि छलफलकै क्रममा

 भदौ ३१, २०७७ बुधबार ११:३७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लामो दूरीको गाडीमा यात्राका लागि विशेष सुरक्षाको मापदण्ड बनाएर लागू गर्नुपर्ने यातायात क्षेत्रका जानकारहरुले बताएका छन् । यातायात क्षेत्रका जानकार आशिष गजुरेलका अनुसार लामो दूरीको यात्रा १०-१५ घण्टाभन्दा बढी हुन सक्ने भएकाले कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना बढी हुने हुँदा यसतर्फ सजक हुन जरुरी छ ।

सरकारले नजिकिएको चाडपर्व, बाढी पहिरोको जोखिम, कोरोना संक्रमणको सम्भावना लगायत समस्यालाई मध्यनजर गरेर लामो दूरीका गाडी सञ्चालनको कार्यविधि र सुरक्षा मापदण्ड ल्याउनुपर्ने उहाँको भनाई छ ।

व्यवसायीले पनि लामो समयसम्म नचलाई राखेका गाडीको उचित मर्मत सम्भार गरेर मात्र सडकमा गुडाउन थाल्नुपर्ने गजुरेलले सुझाव दिनुभयो । उहाँले लामो दूरीको गाडीमा सुरक्षा मापदण्ड पालना नगरे स्थिति भयावह हुन सक्ने भन्दै सरोकारवाला निकायलाई सचेत समेत गराउनुभएको छ ।

सरकारले भोलि असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि यातायात सञ्चालनका लागि आवश्यक कार्यविधिको टुंगो लागेको छैन । लामो दूरीको गाडी सञ्चालनका  लागि कार्यविधि नहुँदा व्यवसायी र यातायात क्षेत्रका मजदुरहरु अन्योलमा परेका छन्  ।

यद्यपी सरकारले लामो दूरीका गाडी चलाउने निर्णय गरेसँगै व्यवसायीहरुले  भने आफ्नो तर्फबाट तयारी गर्न थालेका छन् । सरकारले मापदण्ड उपलब्ध गराए असोज १ गते विश्वकर्मा पूजा गरेर गाडी चलाउन सकिने राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो । 

यो महामारीको समयमा सार्वजनिक सवारी सञ्चालनका लागि आवश्यक सुरक्षाका मापदण्ड, यात्रुहरुको सुरक्षा, खाना खाने ठाउँको व्यवस्था लगायतका कुरामा सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

सुरक्षा मापदण्ड र यातायात सञ्चालन कार्यविधि बनाउन छलफल सुरु

लामो दूरीका सार्वजनिक गाडीमा आवश्यक सुरक्षा मापदण्ड र यातायात सञ्चालन कार्यविधि छलफलको क्रममा रहेको छ ।

बिहीबारदेखि गाडी चलाउन सकिने र गाडी सञ्चालनका लागि मापदण्ड बनाउने विषयमा छलफल चलिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, यातायात मन्त्रालय, यातायात व्यवसायी र मजदुर संगठनमा प्रतिनिधि सहभागी छन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया