लामो दुरीका सार्वजनिक गाडीमा यात्रा गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

 असोज २, २०७७ शुक्रबार २०:४३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – व्यवसायीहरुले लामो दुरीका गाडी सञ्चालन गर्न थालेका छन् । उनीहरुले सरकारले गरेको निर्णयअनुसार असोज १ गतेदेखि लामो दुरीका गाडी चलाउन थालेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात सम्बद्ध तीनवटै ट्रेड युनियनका प्रतिनिधिहरुले छलफल गरेपछि व्यवसायीहरुले लामो दुरीका गाडी चलाउन थालेका हुन् ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेकाले सरकारले उचित मापदण्ड र बस सञ्चालनको कार्यविधि नबनाउँदा गाडी चलाउने विषयमा केही समय व्यवसायीहरु अलमलमा परे । तर मन्त्रालयले बस सञ्चालन कार्यविधि बनाउने जिम्मा यातायात व्यवस्था विभागलाई दिएलगत्तै विभागले कार्यविधि तयार पारेर व्यवसायीलाई दिएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बस सञ्चालन गर्ने कार्यविधिमा सरकारले तोकेको स्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै सवारी साधन सञ्चालन गर्न पाइने व्यवस्था गरिएको बताउनुभयो ।

बस सञ्चालन कार्यविधिमा के छ ?

यातायात व्यवसायीले पालना गर्नुपर्ने कुरा

  • बसमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने 
  • भौतिक दुरी कायम हुने गरी एक पङ्क्तिको एक सिटमा एक जनामात्र यात्रु राख्नुपर्ने 
  • सिटबाहेक अन्यत्र यात्रु राख्न नपाइने 
  • तोकिएको भाडादर भन्दा ५० प्रतिशत अतिरिक्त भाडा लिन सक्ने
  • सवारी साधनको ढोकामा र भित्र अनिवार्य रुपमा स्यानिटाइजर राख्नुपर्ने

गाडीका कर्मचारीले पालना गर्नुपर्ने कुरा

  • चालक र सहचालकले भाइजर, पन्जा र मास्क अनिवार्य लगाउनुपर्ने
  • चालक बस्ने सिट र आसपास सकेसम्म बेर्नुपर्ने
  • दैनिक रुपमा बस डिस्इन्फेक्ट गर्नुपर्ने
  • खाजा र खाना खाने ठाँउमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गनुपर्ने
  • गाडीमा बाहिरबाट हावा पास हुने गरी झ्याल ढोका खाेल्ने 

यात्रुले ध्यान दिनुपर्ने कुरा

  • गाडी चढ्दा यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने 
  • गाडीमा चढ्न सामाजिक दुरी कायम गरेर लाईन बस्नुपर्ने
  • गाडीभित्र बेलाबेला हातमा स्यानिटाइजर लगाउनुपर्ने तर साबुन पानीले हात धुन मिल्ने ठाँउमा त्यसकै प्रयोग गर्ने 
  • सकेसम्म अनलाइनमार्फत टिकट काट्नुपर्ने 
  • बिरामी भए सकेसम्म यात्रा नगर्ने

माथि उल्लेखित कार्यविधि पालना भएकाे/नभएको अनुगमन गर्न यातायात व्यवस्था विभाग, यातायात कार्यालय, ट्राफिक प्रहरी, प्रहरी, पालिकालगायतको संयोजकत्वमा अनुगमन संयन्त्र बनेको छ । अनुगमनका क्रममा स्वास्थ्य सुरक्षा र सतर्कता अपनाएर सार्वजनिक यातायात सञ्चालन कार्यविधि र मापदण्ड पालना नभएमा कानुनअनुसारको कारबाही हुने र गाडी नै होल्ड गर्न पनि सकिने विभागले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • Madan

    Sept. 20, 2020, 4:13 a.m.

    मापदण्ड बनाएर मात्र हुँदैन कडाइका साथ अनुगमन हुनु पर्यो।

  •  0 Reply

तपाईको प्रतिक्रिया