कोरोना विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा विश्वका १ सय ५६ देश सहभागी

 असोज ६, २०७७ मंगलबार ९:४८:१९ | एजेन्सी
unn.prixa.net

विश्वका एक सय ५६ देशले कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा सहभागिता जनाएका छन् ।

कोभ्याक्स नाम दिइएको कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा अमेरिका र चीन बाहेक विश्वभरिका दुई तिहाई जनसंख्या प्रतिनिधित्व गर्ने १ सय ५६ देशले सहभागिता जनाएको विश्व स्वास्थ्य सङ्गठनले बताएको हो ।

कोभ्याक्स नामक सुविधाले भविष्यमा खोप वितरणमा गरिब देशहरुलाई सहजिकरण गरिदिने संगठनका प्रमुख डाक्टर टेड्रोस अधानोम गेहब्रेयसले जानकारी दिनुभयो । उहाँले महामारीबाट छिटो पार पाउन सबै देशका केही मानिसलाई खोप लगाउनु उत्तम रणनीति हुने बताउनुभयो । उहाँले देशका सबैलाई खोप लगाउनु सही नहुने बताउनुभयो ।

सन् २०२१ सम्ममा २ अर्ब खोपको मात्रा उपलब्ध गराउने लक्ष्य राखिएको छ । कोभ्याक्स अन्तर्गत स्वास्थ्यकर्मी, बुढाबुढी तथा पुरानो रोग रहेका र जोखिममा रहेकाहरूलाई खोपमा प्राथमिकता दिइने छ । खोप वितरणका लागि ३ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिए पनि अहिलेसम्म स्रोत नजुटिसकेको संगठनले जनाएको छ ।

अहिलेसम्म विश्वभर ३ करोड १४ लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २ करोड ३१ लाख निको भएका र ९ लाख ६९ हजारको ज्यान गैसकेको वल्डोमिटरले जनाएको छ । वल्डोमिटरका अनुसार उपचार गराइरहेका ७४ लाख मध्ये साढे ६१ हजारको अवस्था जटिल रहेको छ भने ७३ लाख ४१ हजारको अवस्था सामान्य छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया