ललितपुर नगर प्रहरीलाई नमुना बनाउन पहल सुरु, फुटपाथ व्यवस्थापन तीव्र

 असोज ८, २०७७ बिहिबार १३:५३:५५ | मल्लिका थापा
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकामा फुटपाथ (सडकपेटी) अतिक्रणविरुद्धको अभियान सञ्चालन भइरहेको छ ।  महानगरपालिकाको नगर प्रहरी बलले अभियान चलाएको हो । अभियान अन्तर्गत महानगरपालिकामा फुटपाथ कब्जा गरी सञ्चालन भइरहेका व्यापार व्यवसाय हटाएर समग्र फुटपाथ व्यवस्थापन गर्ने नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुले बताउनुभयो ।

यसअघि ट्राफिक व्यवस्थापनमा सफल मानिएका पूर्वट्राफिक प्रहरी निरीक्षक हाछेथुलाई गएको भदौमा ललितपुर महानगरले नगर प्रहरी प्रमुखको जिम्मेवारीमा नियुक्त गरेसँगै उहाँ अहिले सडकको छेउछाउमा अव्यवस्थित तरिकाले भइरहेका व्यावसायिक गतिविधि नियन्त्रण गर्न लागिपरेको बताउनुहुन्छ । उहाँँ अहिले सडक किनारमा पैदल यात्रुलाई सहज आवत जावत गराउने, शहर सफा र स्वच्छ राख्ने र नगर प्रहरीप्रति नागरिकको नकारात्मक सोचाइलाई रहेको परिवर्तन गर्ने प्रयासमा हुनुहुन्छ ।

फुटपाथ व्यवस्थित गर्ने

नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुले पहिलो चरणमै  नेपाल अटो मेकानिक्स व्यवसायी सङ्घसँग छलफल गरी वर्कशप व्यवस्थित गर्न आवश्यक काम कारबाही अघि बढाउनुभएको छ । अटो वर्कशपहरुले फुटपाथमै काम गर्ने र कतिपयले व्यवसाय नै सञ्चालन गरेको पाइएको र पैदलयात्रीलाई आवत जावत गर्न पनि समस्या भइरहेकाले अभियान आवश्यक रहेको उहाँको भनाइ छ । उहाँँले भन्नुभयो, 'मोटरसाइकल वर्कशपले वर्षौदेखि सडक पेटी ओगटेर काम गरिरहेकाले पैदल हिँड्ने बाटो साँघुरिएको छ तर अब भने यसरी सडक कब्जा गर्नेलाई कारबाही गर्छु । त्यसरी व्यवसाय गर्ने र हटाउँदा अटेर गर्नेलाई नियन्त्रणमा लिएर १० हजार रुपैयाँसम्म जरिबाना गर्ने कानुनी व्यवस्था छ ।’

योसँगै चरणबद्ध रुपमा फुटपाथबाट निर्माण सामग्री र पसलहरु हटाउँदै जाने योजना रहेको हाछेथुले बताउनुभयो । उहाँँ भन्नुहुन्छ, 'सडकमै निमार्ण सामग्री राखेर विभिन्न घर, भवन तथा अन्य काम गर्न पनि पाइँदैन । यस्ता कामलाई पनि रोकिनेछ भने सडक छेउमा कुनै पनि व्यापार व्यवसाय गर्न दिइने छैन ।’

नगर प्रहरीको गुमेको साख फर्काउने  

अचेल नागरिकले नगर प्रहरीलाई नकारात्मक दृष्टिकोणले हेर्ने गरेको पाइएको छ । त्यसैले काम गरेरै अब उनीहरुको सोच परिवर्तन गर्ने हाछेथुले प्रतिबद्धता जनाउनुभएको छ । नगर प्रहरीले फुटपाथमा रहेका पसल हटाउने, नागरिकलाई दु:ख दिने, सामान जफत गर्ने मात्र गर्छ भनेर धेरैले ठान्दछन् । उनीहरुलाई देख्नेबित्तिकै गाली गर्ने अनि भाग्ने गरेको पनि देखिन्छ ।

उहाँ भन्नुहुन्छ, 'नगर प्रहरीलाई नागरिकले मान्छे गन्दैनन्, उनीहरुमा  नगर प्रहरीप्रति थोरै इज्जत पनि रहेनछ । त्यसैले अब म काम गरेरै ललितपुर नगर प्रहरीलाई नेपालकै नमुना बनाउने छु ।’

नगर प्रहरीको काम

नगर प्रहरीले अब पार्किङ ब्यवस्थापन, नक्सा पास विनाका घर भत्काउने , दमकल व्यवस्थापन  गर्ने, सडकमा खाल्डो परे सडक विभागसँग समन्वय गर्ने, बिजुलीको पोल ढल्न लागे प्राधिकरणलाई जानकारी दिने, ढल व्यवस्थापन गर्ने जस्ता १२ वटा प्रमुख काममा आफ्नो उपस्थिति देखाउने छ । यी कामहरु नगरिकसँगको प्रत्यक्ष सहकार्यमा गरिने छ ।

उहाँले नागरिकले पनि सहजै आफ्नो गाँउ ठाँउमा भएका समस्या जानकारी गराएर नगर प्रहरीलाई काम गर्ने मौका दिन आग्रह गर्नुभएको छ । उहाँका अनुसार नगर प्रहरीले गर्न सक्ने काम सम्बन्धित निकायसँग समन्वय गरेर नागरिकलाई घरदैलो सेवा दिने व्यवस्था मिलाउने योजना छ ।

अनुभवकै आधारमा काम गर्ने
२९ वर्ष ट्राफिक प्रहरी भएर काम गर्नुभएका सीताराम हाछेथुले अब नगर प्रहरीले नागरिकसँग गर्ने व्यवहार र बोल्ने तरिकामा परिवर्तन गर्ने बताउनुभएको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई नमस्कार भनेर लाइसेन्स लिन र थप कारबाही गर्न सक्छ भने नगर प्रहरीले नमस्कार भनेर फुटपाथबाट हटाउन अनि कारबाही गर्न नसक्ने कुरै हुँदैन । नमस्कार गरेरै नगर प्रहरी र नागरिकको सम्बन्धलाई सुमधुर बनाएर हातोमालो गर्दै काम अघि बढाउने हाछेथुको योजना छ । उहाँले आफू मातहतका नगर प्रहरीलाई नम्र भाषा प्रयाेग गरी सबै सर्वसाधारणसँग समान व्यवहार गर्न पनि आग्रह गर्नुभएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाका नगर प्रहरीको क्षमतालाई अझै चुस्त बनाउने विश्वासका साथ आफूलाई नगर प्रहरी बल प्रमुखमा नियुक्त गरेको हाछेथुले बताउनुभयो । उहाँँ भन्नुहुन्छ, 'महानगरपालिकाका प्रमुख महर्जनलगायत नागरिकसम्मले मलाई विश्वास गर्नुभएको छ । पूर्वट्राफिक प्रहरीको अनुभवले ललितपुर महानगरका नगर प्रहरलाई अझै दक्ष बनाउन म दिनरात खटिन्छु । नमुना नगर प्रहरी बनाएर सबैको मन जित्ने मेरो चाहना छ तर सबैको साथ र सहयोग मलाई चाहिन्छ ।’

अन्तिम अपडेट: बैशाख १३, २०८१

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया