‘एसिड छ्याप्नेहरु २० वर्ष जेल बस्नुपर्छ, एक सेकेण्ड पनि‍ छुट हुँदैन’

 असोज १२, २०७७ सोमबार १६:२९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेले एसिड आक्रमणकारीलाई कुनै पनि अवस्थामा छुट नहुने गरी नयाँ अध्यादेश आएको बताउनुभएको छ ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुने प्रावधानसहितको अध्यादेश जारी गरेको बताउँदै मन्त्री तुम्बाहाम्फेले कानुनमा आक्रमणकारीलाई २० वर्ष सजाय तोकिएको र २० वर्ष नै सजाय काट्नुपर्ने बताउनुभयो ।

‘कुनै पनि व्यक्तिको शरीरमा एक थोपा वा दुई थोपा मात्रै परे पनि कडा कारबाही हुन्छ, तेजाब आक्रमण गर्नेलाई एक सेकेण्ड पनि कैद छुट हुने प्रावधान छैन । आक्रमणकारी कुनै पनि हालतमा २०  वर्ष जेलमा बस्नैपर्छ’, मन्त्री तुम्बाहाम्फेले भन्नुभयो ।

महिला वा पुरुष दुवैमाथि हुने तेजाब आक्रमणलाई न्यूनीकरण गर्न कानुन ल्याइएको उल्लेख गर्दै उहाँले तेजाब आक्रमण गरेको जतिसुकै समय पछाडि पनि उजुरी दिन सक्ने प्रावधान रहेको बताउनुभयो । आक्रमणमा परेपछि जुनसुकै मितिमा उजुरी दिए पनि त्यो मुद्दालाई प्राथमिकताका आधारमा सुनुवाइ गर्ने व्यवस्था गरिएको मन्त्री तुम्बाहाम्फेको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘मुद्दा फिर्ता लिने प्रावधान छैन, माफी मिनाहा पनि हुँदैन, कैद कट्टा पनि हुँदैन, जति तोकियो त्यति समय नै जेलमा बस्नुपर्छ ।’

यस्तै अभियन्ता उज्ज्वल थापाले एसिड आक्रमणलाई गम्भीर अपराधका रुपमा व्याख्या गर्दै सरकारले कानुन बनाएर दक्षिण एसियामै गर्व गर्न लायक काम गरेको बताउनुभयो । छिमेकी देशको तुलनामा नेपालमा एसिड आक्रमणका घटना कम भए पनि सरकारले कडा कानुन ल्याएर प्रशंसनीय काम गरेको थापाको भनाइ छ । 

‘सरकारी तथ्याङ्कअनुसार नेपालमा १७ वटा घटनामा १९ जना पीडित भएका छन्, यो सङ्ख्या छिमेकी देशहरुको तुलनामा कमी हो तर पनि सरकारले यस्तो कडा कानुन बनाएको छ, त्यसमा म नेपाल सरकारप्रति कृतज्ञ छु’, अभियन्ता थापाले भन्नुभयो । 

उहाँले एसिडको घरायसी प्रयोग नभएकाले पूर्णरुपमा बिक्री बन्द गर्नुपर्ने बताउनुभयो ।  तर उद्योगको आवश्यकताअनुसार प्रयोग गर्ने वातावरण सरकारले बनाउनुपर्ने उहाँले बताउनुभयो ।

नेपालमा जतिसुकै कडा कानुन बने पनि कार्यान्वयन पक्ष फितलो हुने गरेको उल्लेख गर्दै अभियन्ता थापाले कार्यान्वयनको पक्षमा विशेष जोड दिन सरकारलाई आग्रह गर्नुभयो ।  

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ramchamdra Paudel

    Sept. 29, 2020, 10:01 a.m.

    ठिक स्वागतयोग्य छ । ज्यान मार्नेहरुले आफ्नो कुन स्वार्थको लागि मार्छ पैसा सम्पत्ति वा कुनै । तर एसिड छ्याप्ने कुनै पनि महिलालाई जीवन भर कुरुप बनाएर तमाशा हेर्न खाेज्छ । त्यसैले संसदमा विचार र छलफल गरेर मृत्युु दण्ड राखे पनि फरक पर्दैन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया