सीप तालिमले देशभित्रै आत्मनिर्भर

 असोज १३, २०७७ मंगलबार १३:१६:३७ | रासस

कास्की – छ महिनाअघि न्युजिल्यान्ड जान ठीक्क पर्नुभएकी पोखरा महानगरपालिका–११, काँहुकी २२ वर्षीया आस्मी नेपाली यतिबेला पोखरा–५ मालेपाटनस्थित विन्स क्याफेमा कफीमा विभिन्न चित्राकृति सजाउँदै हुनुहुन्छ । 

कोरोना भाइरसको महामारीका कारण विदेश जाने योजना रोकिएपछि एक महिना वरिष्ता तालीम लिएर सीपयुक्त बन्नुभएकी आस्मीको दैनिकी पारखीहरुलाई कफी तयार गर्दै बित्छ । आफूले नसोचेको व्यावसायिक यात्रा अघि बढेपछि उहाँ दङ्ग हुनुहुन्छ । 

व्यवस्थापनमा स्नातक तेस्रो वर्ष अध्ययरत उहाँले लकडाउनको समयमा सिकेको सीपले यो व्यवसायको ढोका खोलिदिएको हो । यो महामारीको समयमा तालिम आफ्नो लागि वरदान साबित भएको बताउनुहुन्छ । 

‘व्यवसाय गर्छु भन्ने सोचेको थिइनँ, अझ यो समयमा त झन् के सम्भव देख्नु र ? तालीमपछि मेरो सोच बदलियो, आत्मबल बढ्यो र व्यवसाय थालेँ,’आस्मी भन्नुुहुन्छ ।

विदेश जाने योजनालाई कोरोनाले रोकेपछि उहाँले फुर्सदको समयमा तालिम लिनुभयो । तालिम लिएपछि उहाँले आफ्नो भाइसँग व्यवसाय गर्ने आफ्नो सोच सुनाउनुभयो । दिदीभाइको कुरा मिलेपछि आफ्नो योजना दुवैले आमासँग साटे । आमाको पनि साथ मिलेपछि आस्मीको सार्थकता पायो ।

पोखरा महानगरपालिका–५ मा विन्स क्याफे एन्ड फास्ट फुड खोल्नुभयो । महिनाको १८ हजार भाडा तिर्नपर्छ । विदेश जानका लागि साचेको लगानी व्यवसायमा लगाउनुभयो । 

परदेश जान ठिक्क पर्नुभएकी आस्मीले अहिले त दुई जनालाई रोजगारी पनि दिनुभएको छ । 

महामारीकै समय भए पनि स्वास्थ्य मापदण्ड पूरा गरी का गर्दा महिनाको ६ हजारदेखि १५ हजारसम्म व्यापार भएको हुन्छ । सीप सिकेर थालेको काममा मिलेको सफलताले अहिले उहाँलाई विदेश जानुभन्दा सीप सिकेर स्वदेशमै काम थाल्नु बेश रहेछ भन्ने लागन थालको छ । 

लेकसाइडस्थित होटल स्विस इन्टरनेसनलमा कार्यरत पोखरा–१७ विरौटाका २१ वर्षीय युवा पवन बोगटी पनि प्राविधिक शिक्षाले रोजगारमा जोडिएको अनुभव सुनाउनुहुन्छ ।

‘मैले २०७२ सालमा एसएलसी दिएपछि प्राविधिक विषय रोजेँ, पोखरा पर्यटकीय शहर भएकाले यस क्षेत्रमा सम्भावना देखेर पोखरा प्राविधिक शिक्षालयबाट तीनवर्षे होटल म्यानेजमेन्ट विषय अध्ययन गरेको हुँ, लगत्तै रोजगार पाइहालेँ सन्तुष्ट छु, मलाई विदेश जाने मोह जागेको छैन ।’

बोगटीले आजका युवाको सोच नै विदेश हुने र स्वदेशमा केही सम्भावना नदेख्ने गर्दा प्रतिभा पलायन भएको बताउनुहुन्छ ।

‘परिवारबाट छुटिएर लाखौँ रुपैयाँ खर्च गरेर खाडीमा आठ–दश घण्टा घोटिएरभन्दा आफ्नै मुलुकमा परिवारको साथ मीठो मसिनो खाएर श्रम गर्नु धेरै जाती’, बोगटी भन्नुहुन्छ, ‘विदेशमा गएर कमाउने जति पैसा स्वदेशमै कमाउन सकिने भएकाले हातमा सीप भए जागिरका लागि भौँतारिनु पर्दैन ।’  विदेश जानै पर्ने भए पनि सीप सिकेरमात्र जान उहाँको सुझाव छ । 

यसैगरी स्वदेशमै आत्मनिर्भर भएका अर्का युवा हुनुहुन्छ, खुशीराम चौधरी । कञ्चनपुर हरपालका २५ वर्षीय चौधरी २०७१ सालमा होटल म्यानेजमेन्ट पढ्न पोखरा आउनुभयो । पोखरा प्राविधिक शिक्षालयमा तीनवर्षे कोर्ष पूरा गरेसँगै उहाँ रोजगारमा जोडिनुभयो ।

अहिले पोखरा लामागाउँमा रहेको हिमालयन फ्रन्ट रिसोर्टमा काम गर्नुहुन्छ । प्राविधिक शिक्षाले रोजगार पाइहालेको अनुभवसँगै चौधरी अन्य युवालाई पनि प्राविधिक शिक्षा लिन सुझाउनुहुन्छ । 

कोभिड –१९ को प्रभाव पर्यटन क्षेत्रमा देखिएकामा चिन्तित चौधरी अब आन्तरिक र बाह्य उडान तथा सडक यातायात सञ्चालनपछि पर्यटन गतिविधि बढ्नेमा आशावादी हुनुहुन्छ । उहाँले सरकारले पनि युवा स्वरोजगार कार्यक्रममार्फत विभिन्न तालीमदेखि न्यूनतम शुल्कमा कर्जा लगानी गरिरहेको भन्दै यसमा युवाहरु लाग्नसके समृद्धि हासिल गर्न सकिने तर्क गर्नुहुन्छ । 

पछिल्लो समय प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनतर्फ युवाको चासो बढ्दै गएको बताउनुहुन्छ पोखरा प्राविधिक शिक्षालयका प्रमुख हर्कलाल श्रेष्ठ । ‘पछिल्ला वर्षहरुमा प्राविधिक शिक्षाप्रति युवाको चासो बढिरहेको छ, सीप सिकेपछि स्वदेश तथा विदेशमा जहाँ गए पनि सजिलै रोजगार पाइने भएकाले पनि यसप्रति युवाको चासो बढ्दै गएको हो,’ श्रेष्ठ भन्नुहुन्छ, ‘प्राविधिक र व्यावसायिक शिक्षाभन्दा बित्तिकै कम पढेका वा राम्रो विषय लिएर पढ्न नसकेकाहरुले पढ्ने भनेर हेर्नेहरुले अहिले यसको महत्वलाई बुझ्न थालेका छन्, माग बढ्दै गएको छ  ।’

अझै पनि आवश्यक क्षेत्रहरुमा दक्ष जनशक्तिको अभाव भएकाले प्राविधिक जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।  

अन्तिम अपडेट: असोज २७, २०७७

तपाईको प्रतिक्रिया