मेरो असल मित्र मुख्यसचिव बन्नुभयो, खुसी नै छु : सापकोटा

 असोज १५, २०७७ बिहिबार १३:२७:५५ | उज्यालो सहकर्मी

काठमाण्डाै – कात्तिकको १ गते कार्यकाल सकिने मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएपछि भावी मुख्य सचिवमा तीन जनाको नाम चर्चामा थियो ।

परराष्ट्र सचिव शंकरदास वैरागी, पर्यटन सचिव केदारबहादुर अधिकारी र सार्वजनिक खरिद अनुगमनको कार्यालयका सचिव मोहनकृष्ण सापकोटा मुख्य सचिवको दौडधुपमा हुनुहुन्थ्यो । तीनैजनाको कार्यकाल असोज २२ गते सकिँदै थियो ।

रेग्मीले कात्तिक १ गतेसम्म राजीनामा नदिइ बसेको भए शंकरदास वैरागी, केदारबहादुर अधिकारी र सचिव मोहनकृष्ण सापकोटामध्ये कोही पनि मुख्य सचिव बन्न पाउने थिएनन् । 

तर सरकारकै योजना र आग्रहअनुसार लोकदर्शन रेग्मीले राजीनामा दिनुभयो । सरकारले उहाँलाई बेलायतको लागि राजदूतमा सिफारिस ग‍र्‍याे । सरकारले शंकरदास वैरागीलाई मुख्यसचिव बनायो । दौडमा रहेका मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी असोज २२ गते अनिवार्य अवकाशमा जानैपर्ने भयो । 

हामीले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटालाई सोध्यौँ– 'एकै दिन अवकाशमा जानुपर्ने सहकर्मीलाई सरकारले मुख्यसचिव बनायो, दुःख लाग्यो कि खुसी ?'

सापकोटा एकछिन मज्जाले हाँस्नुभयो र भन्नुभयो, ‘सरकारले हामी तीन जना मध्येबाट एक जनालाई मुख्य सचिव बनाउनुपर्ने थियो, वैरागीजीलाई बनायो, यो सामान्य प्रक्रिया हो । मेरा असल मित्र मुख्य सचिव बन्दा म खुसी छु ।’

सापकोटाले यो एउटा नियमित प्रक्रिया भएको र आफूले चित्त दुखाउनुपर्ने कुनै कारण नरहेको पनि बताउनुभयो । 

‘आफ्नै ब्याची ठूलो पदमा पुग्दा कसैले चित्त दुखाउँछन्, राजीनामा दिएका पनि उदाहरण छन् तर मैले त यसलाई निकै सामान्य रुपमा लिएको छु’, सापकोटाले भन्नुभयो । 

अन्तिम अपडेट: असोज २२, २०७७

1 Comments

  • Ram Bihari Chaudhary

    Oct. 1, 2020, 1:54 p.m.

    विधि र प्रक्रिया मिचेर लाेभमा, म्याच फिक्सिंग गरेर, कुनै देश र जनताकाे भलाे हुदैनन् ? RIP

  •  0 Reply

तपाईको प्रतिक्रिया