नेपालसहित ६ देशका ५ हजार बालबालिकालाई क्यान्सरको औषधि निःशुल्क प्रदान गर्ने प्लेटफर्म शुरू

 माघ २९, २०८१ मंगलबार १८:१४:० | एजेन्सी
unn.prixa.net

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले निम्न र मध्यम आय भएका देशहरूमा बसोवास गर्ने हजारौं बालबालिकाका लागि क्यान्सरको औषधि निःशुल्क प्रदान गर्ने नयाँ प्लेटफर्म शुरू गरेको छ ।

डब्ल्यूएचओले पहिलो चरणमा औषधिहरू मङ्गोलिया र उज्बेकिस्तानमा पुर्‍याउने तथा परियोजनाको पाइलट चरणका रूपमा इक्वेडर, जोर्डन, नेपाल र जाम्बियामा थप ढुवानीको योजना बनाएको एएफपीले जनाएको छ । यी ६ वटा देशका कम्तीमा ३० वटा अस्पतालमा यस वर्ष क्यान्सर भएका झन्डै पाँच हजार जना बालबालिकासम्म उपचार पुग्ने अपेक्षा गरिएको छ ।

डब्ल्यूएचओका अनुसार न्यून तथा मध्यम आय भएका देशहरूमा बाल क्यान्सर जीवित रहने दर प्रायः ३० प्रतिशतभन्दा कम छ भने उच्च आय भएका देशहरूमा यो झन्डै ८० प्रतिशत छ । धेरै लामो समयदेखि क्यान्सर भएका बालबालिकाहरूको जीवन बचाउने औषधिमा पहुँच नभएको डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानम गेयब्रेयससले बताउनुभयो ।

प्लेटफर्ममा सामेल हुन थप ६ वटा देशलाई आमन्त्रित गरिएको छ । यसबाट आउँदो पाँचदेखि सात वर्षमा ५० वटा देशमा झन्डै एक लाख २० हजार बालबालिकालाई औषधि उपलब्ध गराउने डब्ल्यूएचओको लक्ष्य छ ।

डब्ल्यूएचओका अनुसार विश्वभर हरेक वर्ष अनुमानित चार लाख बालबालिकामा क्यान्सर विकसित हुन्छ । तीमध्ये धेरैजसो सीमित स्रोत भएका वातावरणमा बस्छन् । यस्ता वातावरणका ७० प्रतिशत बालबालिकाले उपयुक्त उपचारको अभाव, उपचारमा अवरोध वा कम गुणस्तरको औषधिजस्ता कारणले क्यान्सरबाट ज्यान गुमाउने अनुमान छ ।

यो प्लेटफर्म संयुक्त राज्य अमेरिकाको टेनेसीको मेम्फिसमा रहेको सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल र डब्ल्यूएचओबीचको संयुक्त उद्यम हो ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया