डा. केसीलाई सरकारकाे आग्रह : 'याे बेला अनशन सुहाउँदाे विषय हाेइन, फिर्ता लिनुस्'

 असोज १५, २०७७ बिहिबार १८:५६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले अनसनरत डाक्टर गोविन्द केसीलाई अहिले अनशन बस्न उपयुक्त समय नभएको बताएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बस्नुभएका डा. गोविन्द केसीका अधिकांश माग पूरा हुने चरणमा रहेको भन्दै सत्याग्रह तोड्न आग्रह गरेको हाे ।

बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले कोरोना महामारीको समयमा अनसन बस्नु उपयुक्त नहुने बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘एकातिर डाक्टरहरु, सुरक्षाकर्मीहरु कोभिडबाट नागरिकलाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहनु भएको छ । यो असमान्य अवस्थामा अनसन, सत्याग्रह, धर्ना, हड्ताल यो बेला सुहाउँदो विषय हो र ? पक्कै पनि होइन ।’

साथै उहाँले डाक्टर केसीका अधिकांश माग कार्यान्वयनमा गइसकेको र बाँकी रहेका विषयमा पछि पनि छलफल गर्न सकिने तर अहिले सबै जना कोभिडविरुद्धको लडाइँमा एक हुनुपर्ने बताउनुभयो । 

डा. केसी चिकित्सा क्षेत्रको माग गर्दै केही दिनदेखि जुम्लाबाट सत्याग्रह सुरु गर्दै अहिले काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा रहनुभएको छ । मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो । डा. केसीको मागअनुसार चिकित्सा शिक्षासम्बन्धी ऐन बनाइ त्यसको आधारमा उच्चस्तरीय आयोग निर्माण गरिसकेको पनि उहाँले बताउनुभयो ।

त्यस्तै चिकित्सा शिक्षाका लागि गएकाे आर्थिक वर्षमा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयनमा आइसकेको पनि मन्त्री ज्ञवालीले बताउनुभयो । मन्त्री ज्ञवालीले सातवटै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेज खोल्न राखेको मागअनुसार सबै प्रदेशमा मेडिकल कलेज सञ्चालनमा आउन लागेको पनि बताउनुभयो ।

अन्य विषयमा पनि सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म प्रयत्न गरिरहेको पनि उहाँले बताउनुभयो । पीसीआर परीक्षण बढाउनुपर्ने मागमा पनि सरकारले परीक्षणको दायरालाई बढाइ अहिलेसम्म १० लाख बढीको परीक्षण भइसकेकाले केभिडको महामारीको अवस्थामा पूरा भइसकेका विषयलाई माग बनाएर दबाब नदिन मन्त्री ज्ञवालीले आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया