युक्रेन कुनै दिन रुसी भाग हुनसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – कोरोना भाइरस महामारी नियन्त्रण गर्न सरकारले लकडाउन गरेदेखि नेपालमा आँखा स्वास्थ्य समस्या तीव्र रुपले बढेको दृष्टि विज्ञहरुले बताएका छन् ।
देशका विभिन्न ठाउँमा पुगेर गरिब र असहायलाई निःशुल्क नेत्र सेवा दिँदै आएको युवा नेत्र सेवाद्वारा आयोजित बढ्दो आँखा स्वास्थ्य समस्यासँग जुध्न युवा प्रशिक्षण कार्यक्रमका प्रशिक्षक विमल पौड्यालले यस निष्कर्षबारे जानकारी गराउनुभएको हो ।
वर्तमान समयमा आँखासम्बन्धी नयाँ समस्याहरु उत्पन्न भएको नेपाल आँखा अस्पतालका नेत्र विज्ञ विमल पौड्याल बताउनुहुन्छ । जलबिन्दु, रतन्धो साथै खस्रे रोगहरुलाई उन्मूलन गर्न सफल भए पनि आधुनिक जीवनशैलीमा नभइ नहुने प्राविधिक उपकरणहरु बढी प्रयोग गरेर, असन्तुलित जीवनशैली तथा वातावरणीय प्रदूषणका कारण उत्पन्न धुँवा-धुलोका कारण वर्तमानमा आँखाका समस्या भएकाहरुको सङ्ख्या बढेको उहाँको ठम्याइ छ ।
आराम, आहार र व्यायामको मात्रा नमिल्दा मानिसहरुलाई मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरुले समात्ने गर्दछ भने त्यस्ता रोगहरुको असर सिधै आँखामा पनि हुने गर्छ । मधुमेह तथा उच्च रक्तचाप भएका मानिसलाई मोतिबिन्दु, डाइबिटिज, रेटिनोप्याथी जस्ता समस्याहरु हुने सम्भावना बढी हुने गरेको छ । यदि यस्ता रोगहरुको समयमै उपचार गर्न सकिएन भने अन्धोपन हुन सक्ने विज्ञ पौड्यालले जानकारी गराउनुभयो ।
विद्युतीय उपकरणहरुबाट निस्कने हानिकारक यूवी किरणहरुले मानिसका आँखामा नकारात्मक असर पारिरहेको छ । हानिकारक यूवी किरणहरुले गर्दा टाढाको नदेख्ने (मायोपिया), नजिकको नदेख्ने (हाइपर मायोपिया), आँखा सुख्खा हुने जस्ता समस्याहरु निम्तिने गर्दछन् ।
सानो उमेरदेखि धेरै समयसम्म स्क्रिनमा मात्रै हेरिरहने बानी भएका स-साना बालबालिकाहरुले पनि हानिकारक यूवी किरणहरुको असरले गर्दा चस्मा लाउनुपर्ने अवस्था छ । त्यस्तैगरी वातावरणीय प्रदूषणका कारण फैलने धुँवा–धुलोले गर्दा पनि आँखामा असर पर्छ । आँखामा बाह्य पदार्थभित्र छिरेमा पनि आँखाभित्रका अभिन्न भागहरुमा सङ्क्रमण एवं चोटपटकहरु लाग्न सक्दछ ।
आँखा स्वास्थ्य सेवा प्रदान गर्नका निमित्त विभिन्न सरकारी एवं गैरसरकारी संस्थाहरु अग्रसर भएका छन् । नेपाल आँखा अस्पताल, नेपाल नेत्रज्योति सङ्घ, तिलगङ्गा आँखा अस्पताल, रेड क्रस सोसाइटी, लायन्स क्लब, युवा नेत्र सेवा जस्ता संस्थाहरुले वर्षौंदेखि निरन्तर रुपमा आँखासम्बन्धी सेवा दिँदै आएका छन् ।
कुनै समयमा भारतमा गएर नेपालीहरुले मोतिबिन्दुको शल्यक्रिया गर्न जानुपर्ने अवस्था थियो भने अहिले भारतीयहरु नेपालमा आँखासम्बन्धी रोगहरुको उपचार गर्न आउने गरेका छन् । शहरी क्षेत्रहरुमा आँखा स्वास्थ्य सेवा दिने थुप्रै संस्थाहरु भेटिन्छन् । तर ग्रामीण भेगमा भने अझै पनि आँखासम्बन्धी शिक्षा एवं सुविधाहरु पुगेको छैन । अझै पनि गाउँघरमा आँखामा केही समस्या भयो भने पूर्व जन्मको पापको रुपमा लिने चलन छ ।
शहरी क्षेत्रमा धेरै विद्युतीय उपकरण चलाएर आँखामा समस्या हुने गरेको छ भने भने गाउँघरतिर भने अव्यवस्थित जीवनशैली तथा आँखा स्वास्थ्यसम्बन्धी ज्ञान नभएको हुनाले कम उमेरमै विभिन्न आँखा समस्या भोग्नु परिरहेका हुन्छन् जसका कारण कम उमेरमै दृष्टिविहीन हुने सम्भावना बढ्छ ।
नेपाल सरकारले आखाँसम्बन्धी विभिन्न समस्याको बारेमा जानकारी गराउन, समुदायस्तरमा गएर आँखासम्बन्धी जनचेतना फैलाउन र विभिन्न आँखासम्बन्धी सेवा प्रदान गर्न आवश्यक स्वयंसेवकहरुलाई युवा नेत्र सेवाले डाँडागाँउ, बूढानीलकण्ठमा रहेकाे ग्रीन भ्याली रिर्सोटसँग समन्वय गरेर युवाहरुलाई प्राथमिक आँखा स्वास्थ्य शिक्षा प्रदान गरेको छ ।
समुदायस्तरमा गएर विभिन्न आँखासम्बन्धी निःशुल्क सेवा प्रदान गर्ने बेलामा चाहिने जनशक्तिलाई आवश्यक पर्ने ज्ञान दिनु प्रशिक्षणको मुख्य उद्देश्य रहेको आयोजक युवा नेत्र सेवाका अध्यक्ष सिद्धार्थ रञ्जितले बताउनुभयो ।
प्रशिक्षणमा सहभागी युवाहरुलाई आँखाको संरचना, नेपालमा रहेका आँखा रोगी एवं दृष्टिविहीन सम्बन्धी तथ्याङ्क, आँखासम्बन्धी विभिन्न रोगहरुको बारेमा जानकारी प्रदान गरिएको थियो । साथै आँखासम्बन्धी सेवा प्रदान गर्दा कसरी काम गर्ने भन्ने कुराको पनि जानकारी दिइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।