गुरुयोजनाको विराेध गर्दै पशुपति क्षेत्रमा स्थानीयको आन्दोलन

 असोज १९, २०७७ सोमबार १२:५०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् ।

​पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको भन्दै सोमबारदेखि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । पशुपति क्षेत्रको विकासको नाममा परापूर्वदेखिको बस्ती नै मास्ने र स्थानीय संस्कृति तथा जात्राको विनाश गर्ने गरी गुरुयोजना ल्याइएको स्थानीयको आरोप छ ।

पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान संगतले पशुपति क्षेत्र विकास कोषले ल्याएको गुरुयोजनाको विरुद्धमा आन्दोलन सुरु गरिएको बताउनुभयो । गुरुयोजनाले स्थानीय धार्मिक, समाजिक, सांस्कृतिक सम्पदा नष्ट गर्ने भएकाले त्यसको जगेर्नाका लागि गुरुयोजना खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रनुपरेको संगतले बताउनुभयो । उहाँले पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको चार किल्लाभित्र बसोबास गर्दै आएका पुरानो बस्तीलाई विस्थापित गर्ने र जात्रा पर्वहरुको विनाश गरी व्यापारीकरण गर्न लागेको बताउनुभयो । 

काठमाण्डौ महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष दिनेश सिंह डंगोलले पशुपति क्षेत्र विकास कोषले स्थानीय बासिन्दा र स्थानीय निकायहरुसँग समन्वय नगरी गुरुयोजना तयार पारेकाले समस्या देखिएको बताउनुभयो । उहाँले पनि यस क्षेत्रको धर्म, संस्कृति, जात्रा, पर्वको विनाश हुने गरी गुरुयोजना ल्याएकोले विरोध गर्नुपरेको बताउनुभयो । 

पशुपति क्षेत्र विकास कोषले गएकाे साउन महिनामा सिफलसम्म बस्ती खाली गराउने प्रस्तावसहितको संशोधित गुरुयोजना मन्त्रालयमा पठाएको छ । कोषले तयार पारेको १ सय वर्षे गुरुयोजनाले कालान्तरमा भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको छ ।

कोषले २०५२ सालमा तयार गरेको पहिलो गुरुयोजना २०५६ सालमा स्वीकृत भएको थियो भने २०५८ सालदेखि लागू भएको थियो । पुरानो योजनाको समीक्षा नगरिकन नयाँ गुरुयोजना तयार पारिएकाले पनि विरोध गर्नुपरेको स्थानीयले बताएका छन् । 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया