डा. केसीका माग पूरा नभए भाेलि निम्तिन सक्ने दुर्घटनाकाे जिम्मा सरकारले लिनुपर्छ : कांग्रेस

 असोज १९, २०७७ सोमबार १३:५५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीका माग पूरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । 

डा. केसीले चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशन बसेको २२ दिन पुग्दा पनि वार्ताका लागि तयार नभएको सरकारले भोलि निम्तिन सक्ने दुर्घटनाको जिम्मा लिनुपर्ने कांग्रेसको भनाइ छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले समयमै माग सम्बोधनका लागि सरकारसँग आग्रह गर्नुभयो । डा. केसीले उठाएका मागहरु समयमै सम्बोधन गर्न नसके भोलि उत्पन्न हुने दुष्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने उहाँले बताउनुभयो ।

अनशनको २२ दिन पुग्दा पनि सरकारले वार्तासमेत सुरु नगर्दा लोकतान्त्रिक आवरणभित्र कम्युनिस्टतन्त्र जागृत भइरहेको शर्माले बताउनुभयो । अधिनायकवादी आकाङ्क्षा राखेर अगाडि बढेको सरकारले केसीका मागहरु सुनुवाइ गर्न ढिलाइ गरिरहेको उहाँले बताउनुभयो । 

नेपाली कांग्रेसको सरकारले गरेका निर्णयहरु उल्ट्याउँदा अहिलेको अवस्था आएको उहाँले बताउनुभयो । कांग्रेसले शुल्क समायोजन, अध्यादेशमार्फत ७५ प्रतिशत छात्रवृत्ति, काठमाण्डौमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँच मेडिकल कलेजलाई मात्रै सञ्चालनको अनुमति दिने निर्णय गरे पनि सरकारले सबै निर्णय उल्ट्याउँदा अहिलेको अवस्था आएको प्रवक्ता शर्माले बताउनुभयो ।

आइतबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले डा. केसीका माग पूरा गर्न सरकारलाई अपिल गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया