प्रदेश ५ काे प्रदेश सभामा कांग्रेसकाे नाराबाजी, बैठक स्थगित

'राजधानी जहाँ भए पनि औचित्य प्रमाणित गर्नुपर्छ, राजधानी ख्याल–ठट्टाको विषय होइन'

 असोज १९, २०७७ सोमबार १४:३९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – प्रदेश नं ५ को प्रदेश सभाको बैठक अहिले केहीबेरका लागि स्थगित भएको छ । बैठकमा सरकारका तर्फबाट प्रस्तावित प्रदेश राजधानीका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका  सदस्यले नाराबाजी गरेपछि अपराह्न २ बजे बस्ने गरी स्थगित भएको हो ।

सुरुमै कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बोलेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सञ्चालन गर्नेक्रममा प्रतिपक्षी दलका सांसदले नाराबाजी गरेका हुन् । बैठकमा संसदीय दलका नेता कनौडियाले संसदीय मूल्य, मान्यता विपरीत राजधानीको प्रस्ताव आएको जनाउँदै यो आफ्नो दललाई मान्य नहुने बताउनुभयो । उहाँले रुपन्देहीबाट राजधानी सार्नुपर्ने औचित्य प्रमाणित गर्न सरकारलाई चुनौती पनि  दिनुभयो । 

'राजधानी जहाँ भए पनि त्यसको औचित्य प्रमाणित गर्नुपर्छ । राजधानी ख्याल–ठट्टाको विषय होइन', उहाँले भन्नुभयो, 'महत्त्वपूर्ण संरचना हुँदाहुँदै पनि कुनै एउटा दलको नेताकै कारण राजधानी तोकिनु गलत हो', उहाँले भन्नुभयो ।

संसदीय दलका नेता कनौडियाले प्रदेशको राजधानीको नामकरण र केन्द्र तोक्न विज्ञको समिति बनाइए पनि समितिको सुझाव नसुनिकन राजधानी तोकिनु मान्य नभएको धारणा राख्नुभयो । उहाँले आफ्नो भेगीय राजनीतिक स्वार्थभन्दा माथि उठेर राजनीतिक सहमतिका आधारमा अघि बढ्न मुख्यमन्त्रीलाई सुझाव दिनुभयो ।

रुपन्देहीमै अन्तर्राष्ट्रिय विमानस्थललगायत महत्त्वपूर्ण संरचना हुँदाहुँदै राजधानी सार्ने विषय उपयुक्त नभएको जनाउँदै उहाँले यसलाई सच्चाउनुपर्ने बताउनुभयो । ‘गाउँपालिका र नगरपालिकाको भवन अहिलेसम्म बन्न सकेका छैनन् । प्रदेशका संरचना कहिले बन्छन् ?’ उहाँले प्रश्न गर्नुभयो । 

राजधानी र नामकरणसम्बन्धी प्रस्ताव पारित गराउन नेकपा संसदीय दलको निर्देशन 

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ को संसदीय दलले सरकारले ल्याएको राजधानी र नामकरणसम्बन्धी प्रस्ताव पारित गराउन प्रदेशसभाका सदस्यलाई निर्देशन दिएको छ । संसदीय दलको साेमबार बसेको बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टीको प्रदेश नं ५ इन्चार्जकाे हैसियतले प्रदेश सभाका सदस्यलाई सरकारले ल्याएको प्रस्ताव पारित गराउनका लागि लाग्न निर्देशन दिएको नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । 

बैठकले देउखुरीलाई प्रशासनिक राजधानी बनाउने र लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ । यही असोज १६ गते प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेश सभामा प्रस्ताव पेस भएको थियो ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया