बझाङमा जबरजस्ती करणीकाे घटना मिलापत्र गर्ने ६ जना प्रहरीकाे नियन्त्रणमा

 असोज २०, २०७७ मंगलबार १९:५:२२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङमा जबरजस्ती करणीको घटनालाई गाउँमै मिलापत्र गराउने ६ जनालाई जिल्ला प्रहरी कार्यलयले नियन्त्रणमा लिएको छ । 

जबरजस्ती करणी गर्न खोजेको घटनालाई गाउँमा मिलाएको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङले मष्टा गाउँपालिका २ का गल्फे बोहरा, लालबहादुर बोहरा, धनचडी बोहरा, थमकला दमाई, पिरु दमाई र वडा नं ३ का झलक दमाईलाई सोमबार पक्राउ गरेको हो । गएको  साउन २९ गते मष्टा गाउँपालिका २ की १३ वर्षीया  बालिकालाई गाउँ नजिकै रहेको घट्ट गएका बेला स्थानीय २० वर्षीय राजेन्द्र बोहराले जबरजस्ती करणी गरेका थिए ।

घटनालाई ६ जनाले गाँउ मै बसेर मिलापत्र गरेका थिए । बालिकाको पेटमा बच्चा बसेको खण्डमा जबरजस्ती करणी गर्न खोज्ने बोहराकै जिम्मा लगाउने गरी कागजात बनाइएको थियो । पाँच सय रुपैयाँ दिएर घटना ढाकछोप गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले बताउनुभयो । 

यसैबीच यो घटना भएको डेढ महिना नबित्दै राजेन्द्र बोहराले १२ वर्षीया सम्झना कामीको गाँउ नजिकैको मन्दिरमा बलात्कार गरी हत्या गरेको खबर बाहिरिएपछि यसअघिको घटना मिलापत्र भएको कुरा सार्वजनिक भएको थियो । बोहराले गाउँमा गरेका चोरी डकैती तथा बलात्कारका घटनाहरु एकपछि अर्को गरी बाहिर आउन थालेपछि प्रहरीले समेत अनुसन्धानलाई तीव्र पारिरहेको डीएसपी खड्काले बताउनुभयो । 

पक्राउ गरिएका ६ जनाविरुद्ध समेत आवश्यक अनुसन्धान गरी कारबाही अघि बढाउने उहाँले बताउनुभयो  । उनीहरुलाई जबरजस्ती करणी मुद्दामा प्रमाण दबाउन नहुने कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया