युक्रेन कुनै दिन रुसी भाग हुनसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – संसदीय समितिले काठमाण्डाै–तराई–मधेश द्रुतमार्ग (फास्ट–ट्र्याक) आयोजनाको म्याद एकैपटक तीन वर्ष थपिनुको कारण सरकारसँग माग गरेको छ ।
सङ्घीय संसद् अन्तर्गतकाे प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको मङ्गलबारको बैठकले काठमाण्डाै–तराई–मधेश द्रुतमार्गको समय एकैपटक तीन वर्ष थपिनुको कारण र आधारहरु समितिमा पेस गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलाई निर्देशन दिएको छ ।
काठमाण्डाै–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको अहिलेसम्मको प्रगति र आगामी कार्ययोजनाको सम्बन्धमा छलफल भएपछिका निर्णयहरु सुनाउँदै समितिका सभापति कल्याणीकुमारी खड्काले एकैपटक तीन वर्षको समय थपिनुको आधार र कारणहरु समितिमा पेस गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, ‘काठमाण्डाै–तराई–मधेश द्रुतमार्ग आयोजनाको म्याद फेरि थप गरिएको अवस्थामा आयोजनाको समयावधि एकैपटक फेरि तीन वर्ष थपिनुको कारण एवं आधारहरु के–के हुन्, स्पष्ट रुपमा समितिमा पेस गर्नसमेत समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलाई निर्देशन दिन्छ ।'
समितिले कुनै पनि राष्ट्रिय गौरवका आयोजनाहरुको सुरुवात गर्नुअघि नै देशकाे आर्थिक क्षमता स्राेत साधनलगायतका विषयको अध्ययन गरी आयोजना निर्माणको सुरु गर्नसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।
निर्देशनमा भनिएको छ, ‘कुनै पनि आयोजना सुरु गर्नुपूर्व देशकाे आर्थिक क्षमता स्राेत साधनलगायतका आयोजना निर्माणमा आइपर्ने विविध पक्षहरु आँकलन गरेर मात्र अघि बढ्न समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देश गर्दछ ।’
यस्तै काठमाण्डाै–तराई–मधेश द्रुतमार्गको कार्य समयमा सम्पन्न गर्न छनाेट गरिएको अन्तर्राष्ट्रिय कन्सल्ट्यान्ट कम्पनी र निर्माण व्यवसायी कालोसूचीमा परेको विषय पनि आएकोले त्यस सम्बन्धमा १५ दिनभित्र विस्तृत विवरण समितिमा पेस गर्न समितिले आयोजनालाई निर्देशन दिएको छ ।
समितिले याे द्रुतमार्ग आयोजना समयमा नै सम्पन्न होला भन्ने आमनागरिककाे आकाङ्क्षा पूरा गर्न र नेपाली सेनाको प्रतिष्ठा कायम गर्नसमेत आयोजनालाई निर्देशन दिएको छ । समितिले आयोजनाको निर्माणमा संलग्न पक्षले कार्य प्रगतिको चौमासिक प्रतिवेदन एवं आगामी कार्ययोजनाको वार्षिक कार्ययोजनासमेत तयार गरी त्यही अनुरुप काम गर्न र त्याे प्रतिवेदन समितिमा पेस गर्न निर्देशन दिएको छ ।
त्यस्तै द्रुतमार्गको ठेक्कासम्बन्धी कार्यहरुका बारेमा जनताबाट प्रश्न उठिरहेको भन्दै पारदर्शी र विश्वसनीय ढङ्गले काम गर्न समितिले द्रुतमार्ग आयोजना र नेपाली सेनालाई निर्देशन दिएको छ । नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको अवस्थाको बारेमा विस्तृत विवरण सात दिनभित्र समितिमा पेस गर्नसमेत समितिले नेपाल सरकारकाे रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।