दशैँमा अग्रिम टिकट बुकिङ खुल्ला कि नखुल्ला ?

 असोज २०, २०७७ मंगलबार २०:२५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – दशैँमा लामो र मध्यम दुरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा परेको छ । 

यातायात व्यवस्था विभागले यात्रुको चापको अवस्थालाई हेर्दा अग्रिम टिकट बुकिङको आवश्यकता नै नपर्ने देखिएको बताएको छ । विभागका निर्देशक डा. लोकनाथ भुसालले अग्रिम टिकट बुकिङ खुला गर्ने वा नगर्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरेर मात्रै निर्णयमा पुगिने बताउनुभएको छ ।

यस वर्षको दशैँमा चार/पाँच लाखको सङ्ख्यामा मात्रै यात्रु बाहिरिने देखिएकोले अग्रिम टिकट बुकिङ आवश्यक नपर्ने देखिएको उहाँले बताउनुभयो । अहिले पनि काठमाण्डाैबाट मध्यम र लामो दुरीका सवारी साधनमा आधा सङ्ख्यामा पनि यात्रु उपलब्ध नभएको पाइएको उहाँले बताउनुभयो । तर पनि २५ गतेपछि यात्रुको सङ्ख्या बढ्ने सम्भावना देखिएकोले टिकङ बुकिङको व्यवस्था कसरी मिलाउने भन्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरी टुङ्गोमा पुगिने उहाँले बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सङ्क्रमणको स्थितिलाई हेरेर आफू जहाँ छौँ त्यहीँ दशैँ मनाउन अर्थात् यात्रा नगर्न आग्रह गरेकाले पनि मानिसहरुको आवागमन कम हुने आँकलन आफूहरुको रहेको भुसालले बताउनुभयो । तर अग्रिम टिकट बुकिङको व्यवस्था नभए पनि दशैँमा घर जान चाहने यात्रुलाई व्यवस्थित रुपमा सुरक्षित तरिकाले सरकारले तोकेको भाडादरमा सहजै यात्रा गर्न पाउने व्यवस्था मिलाउने उहाँले बताउनुभयो ।

गएकाे वर्ष दशैँको बेलामा झण्डै २० लाख मानिसहरु काठमाण्डाैबाट बाहिरिएका थिए । तर अहिले चार/पाँच लाखको सङ्ख्यामा मात्रै यात्रु बाहिरिने सम्भावना देखिएकाले अग्रिम टिकट बुकिङको आवश्यकता नपर्ने देखिएको भुसालको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया