धरहरा पुनर्निर्माणकाे समय थप

 असोज २३, २०७७ शुक्रबार १७:१०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विसं २०७२ सालकाे भूकम्पमा भत्किएर पुनर्निर्माण थालिएकाे धरहराकाे निर्माण अवधि थपिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० गते (२०२० अक्टोबर ६ तारिख) भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी रमन कन्स्ट्रक्शनसँग २०७५ सालमा सम्झौता गरेको थियो । त्यसलगत्तै रमन कन्सट्रक्शनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो ।

कोभिड–१९ को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्शनले २१ महिना थप समय माग गरे पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नौ महिना समय थपेको छ । रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर श्यामचन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले समय थप्नुपरेको बताउनुभयो ।

अहिलेसम्म धरहराको १६ तलाकाे ढलान भइसकेको जानकारी पनि श्रेष्ठले दिनुभयो । त्यसबाहेक धरहराको अन्डरग्राउण्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भइ ट्रिपल बेसमेन्टको काम भइरहेको उहाँले बताउनुभयो । जसमा चार सय वटा सानो गाडी र सात सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने छ ।

त्यस्तै मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले धेरै काम बाँकी रहेको उहाँले बताउनुभयो । कोभिड–१९ का कारण कामको रफ्तारमा असर पर्दा समयमै निर्माण सम्पन्न गर्न नसकिएको उहाँको भनाइ छ । अहिले थपिएको समयमा पनि पूर्णरुपमा काम सम्पन्न गर्न चुनौती रहेको श्रेष्ठ बताउनुहुन्छ । 

२२ तला रहेको धरहराको कुल लागत भ्याटसहित तीन अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कुल क्षेत्रफल ४२ दशमलव २ रोपनी रहेको छ । धरहराको निर्माण कार्यमा लकडाउन अघि कुल तीन सय ५० जनाले काम गरेका थिए । लकडाउनको बेला २०/२५ जनाको सङ्ख्यामा कामदार राखेर निर्माण गरिरहेको कम्पनीले अहिले भने दुई सय ५० जना कामदारहरुमार्फत कामलाई तीव्रता दिएको बताएको छ ।  

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया