युक्रेन कुनै दिन रुसी भाग हुनसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् ।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफूहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका छन् । उखु उत्पादक सङ्घका सचिव सफिन्द्रप्रसाद यादवले समिति सभापति विमलप्रसाद श्रीवास्तवलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।
श्रीराम सुगर मिल्सले २०७७ साउन ११ गते सूचना प्रकाशन गरी सदाको लागि उद्योग बन्द भएको जानकारी गराएको थियो । त्यससँगै आफूहरुले पाउनुपर्ने भुक्तानी दिन उद्योगले असक्षम भएको बताएपछि आफूहरु मारमा परेको गुनासो सचिव यादवले गर्नुभयो । उद्योगबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ दशैँअघि नै पाउने व्यवस्था मिलाइदिन पनि किसानहरुले समितिसमक्ष माग गरेका छन् ।
त्यसबाहेक उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महिनाको तलब–भत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी झण्डै चार करोड रुपैयाँ नपाएको भन्दै दशैँ अगाडि नै सबै भुक्तानी पाउनुपर्ने माग गरेका छन् । आफ्ना मागहरुको सम्बोधन गराउन मन्त्रालय र समितिले निर्देशनात्मक आदेश दिनेमा आफूहरु आशावादी रहेको पनि किसानहरुको भनाइ छ । चिनी मिल सञ्चालकसँग भुक्तानी माग्दा जग्गा बिक्री भएपछि मात्रै भुक्तानी दिने जवाफ आएकाले आफूहरु अन्योलमा परेको किसानहरुकाे गुनासो छ ।
किसानहरुले आर्थिक वर्ष २०७१/०७२ को १२ करोड रुपैयाँ, आर्थिक वर्ष २०७५/०७६ को २८ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०७६/०७७ को ५० लाख रुपैयाँ गरी कुल ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् ।
उद्योग बन्द हुँदा त्यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएका हजारौँ व्यक्ति समस्यामा परेकोले उनीहरुकाे आयस्रोत नै बन्द भएकाले उद्योगलाई फेरि सुरु गर्ने वातावरण मिलाइदिन समेत माग गरेका छन् ।
रौतहटमा झण्डै १८ हजार किसानले उखु खेती गर्दै आएको तर उखु मिल नै बन्द भएपछि सबै किसानको आम्दानी बन्द हुँदा हजारौँ घरपरिवारको आयस्रोत बन्द भएको किसानहरुको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।