लकडाउन गर्ने/नगर्ने भन्ने कुरा नागरिककाे क्रियाकलापमा भर पर्छ : सरकार

 असोज २५, २०७७ आइतबार १८:२६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना भाइरसकाे सङ्क्रमण नियन्त्रणका लागि फेरि लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ ।

सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए फेरि लकडाउन हुन सक्नेतर्फ सरकारले सचेत गराएको हो । नागरिकको जीवन रक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उहाँले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताउनुभयो । चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उहाँको भनाइ छ । लकडाउन गर्ने/नगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन् भन्ने कुरामा भर पर्ने उहाँले बताउनुभयो ।

यस्तै उहाँले सङ्क्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरुलाई सचेतना अपनाउन अपिल गर्नुभएको छ । काठमाण्डाै उपत्यकामा ६० प्रतिशत बढी सङ्क्रमित देखा पर्न थालेको भन्दै उहाँले नागरिकहरुलाई सचेतना अपनाउन अपिल गर्नुभएको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले सङ्क्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गर्नुभयो । दशैँ, तिहार र छठजस्ता चाडपर्वहरुमा भिडभाड हुने र सङ्क्रमण झन् बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उहाँले आग्रह गर्नुभयो । ज्येष्ठ नागरिकहरुको सुरक्षा महत्त्वपूर्ण भएको उल्लेख गर्दै उहाँले सानो लापर्वाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन आग्रह गर्नुभयो ।

काठमाण्डाैमा सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा उहाँले बाँकेको नरैनापुर, उदयपुर र वीरगञ्जलगायतका क्षेत्रमा सङ्क्रमण नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले खेलेको भूमिकालाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

राजनीतिक र सामाजिक परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका खेलेको काठमाण्डाै महामारीविरुद्धको लडाइँमा पछाडि परेको उल्लेख गर्दै उहाँले विगतमा हटस्पट भएका ठाउँमा जनप्रतिनिधिहरुले कोरोना नियन्त्रणमा लिन गरेको असल अभ्यासहरु काठमाण्डाैमा लागू गर्न आवश्यक रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया