यो पटकको दशैँमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम

आवश्यक परे घटस्थापनाको एक/दुई दिनपछि मात्रै खोलिने

 असोज २६, २०७७ सोमबार ८:४४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - यो पटकको दशैँमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम भएको यातायात व्यवस्था विभागले जनाएको छ । 

अहिले नै गाडी खाली चलिरहेकाले अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक नदेखिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । विगतको दशैँमा जस्तो भीडभाड र चहलपहल नभएकाले यसपालि गाउँ फर्कने मानिसको संख्या निक्कै कम छ । यही अवस्था रहेमा अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक नपर्ने महानिर्देशक हमालको भनाइ छ ।

उहाँले आवश्यक परिहालेमा  घटस्थापनाको एक/दुई दिनपछि मात्रै खोल्ने बताउनुभयो । घटस्थापना आउन अब पाँच दिन मात्र बाँकी छ । गएको वर्ष यात्रुको चापका कारण अरु रुटमा चल्ने गाडीसमेत ल्याएर बढी चाप भएका रुटमा चलाउनुपर्ने बाध्यता थियो । तर यसपालि चलेका गाडीलाई नै यात्रु नपुगेको उहाँले बताउनुभयो ।

पहिला दशैँमा घर जाने विद्यार्थी धेरै हुन्थे । तर अहिले स्कुल, कलेज, विश्वविद्यालयमा खासै पठनपाठन नभएको र विद्यार्थीहरु अगाडि नै घरगाउँ गइसकेका छन् । एउटा रुटमा चल्ने १० वटा गाडीमध्ये २ वटा गाडीलाई नै यात्रु नपुगेको अवस्था रहेको उहाँले बताउनुभयो ।

यातायात व्यवसायीले पनि यात्रु नपाएको बताउँदै आएका छन् । गएको वर्ष दशैँका बेला २० लाखभन्दा बढी यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिन्थे । अहिले ४ देखि ६ लाख मात्र जाने भएकाले सामान्य तरिकाले चलेका गाडीले पनि पुग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

गएको वर्ष असोजको १८ गतेदेखि दशैँ सुरु भएको थियो । दशैँका लागि उपत्यका छाड्नेहरुका लागि यातायात व्यवसायीहरुले असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खोलेका थिए । यो वर्ष कात्तिक ७ गतेदेखि दशैँ सुरु हुने भएकाले योभन्दा अगाडि नै अग्रिम टिकट बुकिङ खुला हुनुपर्ने भए पनि खुल्न सकेको छैन ।

गएको शुक्रबार यातायात व्यवस्था विभाग यातायात व्यवसायी, यातायात मजदुर, ट्राफिक प्रहरी र पालिकाका प्रतिनिधि बसेर छलफल गरे पनि टिकट बुकिङ खुलाउनुपर्ने पक्षमा कोही नरहेको विभागले जनाएको छ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया