'बूढीगण्डकी कमिसन प्रकरण' मा ओली, देउवा र प्रचण्डमाथि छानबिन गर : विवेकशील

 असोज २६, २०७७ सोमबार १३:२७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वप्रधानमन्त्री तथा नेता डाक्टर बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् परियाेजनामा भ्रष्टाचार भएकाे भन्ने अभिव्यक्ति दिएपछि विवेकशील नेपाली दलले पनि त्यसप्रति चासाे देखाएकाे छ । 

केही दिनअघि नेता भट्टराईले गाेरखामा भएकाे एक कार्यक्रममा ‘बूढीगण्डकी जलविद्युत् परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवाले नौ अर्ब रुपैयाँ बाँडेर खाएकाे र परियोजना अलपत्र पारेको’ आराेप लगाउनुभएकाे थियाे । 

विवेकशील दलले साेमबार विज्ञप्तिमार्फत गम्भीर भ्रष्टाचारजन्य आरोप लगाएकाले यो प्रकरणको अविलम्ब छानबिन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) लाई आग्रह पनि गरेकाे छ । आफूसँग त्यसको प्रमाणसमेत रहेको बताउनुभएका पूर्वप्रधानमन्त्री भट्टराईलाई ती प्रमाणहरू अदुअआमा बुझाएर अनुसन्धान कार्यमा सहयोग गर्न विवेकशीलले अनुराेध गरेकाे छ । 

'साथै यस प्रकरणमा आरोपित व्यक्तिहरूमध्ये दुई जना भूतपूर्व र एक जना बहालवाला प्रधानमन्त्री रहेका कारण व्यक्तिगत पहुँच तथा पदीय दुरुपयोग गरी प्रमाण नष्ट गरिन सक्नेतर्फ पनि अदुअआको ध्यान जानु जरुरी छ । यो विषय सामान्य अनुचित कार्य मात्र नभएर सार्वजनिक हित प्रतिकूलको विषय र राष्ट्रिय महत्त्वको विषयसमेत भएकाले अदुअआले उच्च प्राथमिकतामा राखेर छानबिन अघि बढाउनुपर्दछ', विज्ञप्तिमा भनिएकाे छ ।

'एक अर्को प्रसङ्गमा अदुअआमा रिक्त प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त गर्ने विषयमा संवैधानिक परिषद्को अध्यक्ष र सदस्यको रूपमा क्रमशः प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलको नेता शेरबहादुर देउवाले आफ्नाविरुद्धको छानबिन गर्नका लागि कस्ता पात्रहरू कुन प्रक्रियाबाट छनौट गर्ने हुन् ?  हरेक नेपालीले गम्भीरतापूर्वक हेर्नुपर्ने छ ।'  

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया