ओलीलाई प्रचण्डको आग्रह : ‘कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धकाे अविश्वास प्रस्ताव तत्काल रोकाैँ’

 असोज २६, २०७७ सोमबार १४:२४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव रोक्न आग्रह गर्नुभएको छ ।

बालुवाटार पुगेर अध्यक्ष प्रचण्डले तत्काल अविश्वासको प्रस्ताव रोक्न अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको हो । अविश्वासको प्रस्ताव दर्ता हुने र मुख्यमन्त्री हट्ने कुराले राम्रो सन्देश नजाने भएकोले अध्यक्ष प्रचण्डले तत्काल त्यसलाई रोक्न आग्रह गर्नुभएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डको आग्रहलाई प्रधानमन्त्री ओलीले भने ठोस जवाफ नदिएको नेकपा स्रोतले जनाएको छ ।

शाहीलाई नेकपा संसदीय दलको नेताबाट हटाउन भन्दै १८ सांसदले आइतबार प्रदेश सभा संसदीय दलको कार्यलयमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । प्रधानमन्त्री ओली निकट मानिने प्रदेश सभा सदस्य तथा नेकपा कर्णालीका सहइन्चार्ज यमलाल कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव अगाडि बढेको हो ।

संसदीय दलमा अविश्वासको प्रस्ताव लैजाने अभ्यास नेपालमा अहिलेसम्म भएको थिएन । कर्णाली प्रदेशमा ४० सदस्यीय प्रदेश सभामा नेकपासँग ३३ सांसद रहेका छन्, त्यसमध्ये पूर्व माओवादीका १३ र पूर्व एमालेका २० जना रहेका छन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया