युक्रेन कुनै दिन रुसी भाग हुनसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिस्ट डाक्टर बाबुराम मरासिनीले बताउनुभएको छ । पछिल्लो समय सङ्क्रमणको दर उच्च गतिमा बढिरहेकाे र पूर्णरुपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको सङ्क्रमणको स्थितिलाई चौथो चरणमा प्रवेश गरेको रुपमा लिनुपर्ने डा. मरासिनीकाे भनाइ छ ।
समग्र देशको सङ्क्रमणको स्थिति भन्दा पनि काठमाण्डाै उपत्यकाको सङ्क्रमण चौथो चरणमा प्रवेश गरेको उहाँले बताउनुभयो । काठमाण्डाै उपत्यकाभित्रको सबै समुदायभित्र, घरभित्र, कार्यालयलगायत सबै क्षेत्रमा सङ्क्रमण फैलिइसकेकोले स्थिति नियन्त्रणबाहिर गइसकेको उहाँले बताउनुभयो ।
सरकारले सही नीति लिन नसक्दा सङ्क्रमणको जोखिमलाई नियन्त्रणमा लिन नसकिएको पनि उहाँले स्पष्ट पार्नुभयाे । नेपालका लागि कोरोनाको मुख्य स्रोत सीमापारको क्षेत्र भएको तर सरकारले मानिसहरुको आवत जावतलाई व्यवस्थापन नगर्दा सङ्क्रमण फैलिएको उहाँले बताउनुभयो ।
सरकारले सीमा नाकामा आउने मानिसलाई अव्यावहारिक व्यवहार गरेकाले पनि सङ्क्रमण समुदायमा फैलिएको उहाँले बताउनुभयाे । उहाँले कोरोना सङ्क्रमणको सुरुवातमा नेपालबाट भारतमा जान चाहनेलाई सीमामा १४ दिन राख्ने र भारतबाट नेपाल आउन चाहने नागरिकलाई १४ दिन सीमानामै रोक्नु गलत नीति भएको बताउनुभयो । त्यसको परिणामस्वरुप अहिलेको स्थिति देखा परेको डा. मरासिनीले बताउनुभयो ।
त्यस्तै सरकारले कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग नगर्ने र स्वाब सङ्कलन गरेपछि नाैदेखि १० दिनसम्म परीक्षणको नतिजा नदिने अवस्थाले पनि समुदायमा सङ्क्रमण फैलिन सहयोग पुर्याएको उहाँको भनाइ छ ।
गएकाे शनिबार नेपालमा एकैदिन पाँच हजार आठ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये दुई हजार ६ सय ७२ जना सङ्क्रमित काठमाण्डाै उपत्यकामा भेटिएका थिए । आइतबार देशैभर दुई हजार ७१ जना मानिसमा सङ्क्रमण पुष्टि हुँदा काठमाण्डौ उपत्यकाका एक हजार चार सय १६ जना थिए । त्यस्तै सोमबार नेपालभर चार हजार ४७ जनामा सङ्क्रमण पुष्टि हुँदा काठमाण्डाै उपत्यकाका दुई हजार दुई सय ८३ जना सङ्क्रमित भेटिएका छन् ।
सोमबार नेपालमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार आठ सय ८० पुगेको छ । सङ्क्रमणको दर बढ्दै जानुले सङ्क्रमण समुदायस्तरमा फैलिएको र चौथो चरणमा प्रवेश गरिसकेको पुष्टि गरेको भाइरोलोजिस्ट डा. मरासिनीले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।