दशैँ नजिक आयाे, एअरलाइन्सलाई यात्रु पाउनै मुस्किल

 असोज २७, २०७७ मंगलबार १८:३५:४६ | रासस
unn.prixa.net

काठमाण्डौ – दशैँको सङ्घारमा नेपालको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपर्थ्यो तर यस पटकको दशैँका लागि हवाई उडानमा बुकिङ सामान्य छ । 

काठमाण्डौबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाण्डौ फर्कँदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायु सेवा कम्पनी बताउँछन् । सामान्य अवस्थामा दशैँ आउने दुई हप्ताअघि नै अधिकांश गन्तव्यको बुकिङ भइसकेको हुन्थ्यो । अधिकतम भाडादरमा पनि टिकट पाउन यात्रुले निकै सास्ती खेप्नुपर्थ्यो, अहिले जहाजको भाडादर अति सस्तो (गाडी भाडा बराबर) हुँदा पनि यात्रुको चाप छैन । नजिकिएको दशैँ लक्षित हवाई टिकटको बुकिङ धमाधम हुनुपर्ने बेला यतिखेर बुकिङ राम्रो छैन । एअरलाइन्सलाई सस्तो टिकटमा पनि यात्रु पाउनै मुस्किल छ ।

हवाई सेवा प्रदायक कम्पनीले भाडादर सस्तो हुँदा पनि यस पटक बुकिङ उत्साहवर्द्धक नभएको बताउँछन् । आन्तरिक उडानका ठूला वायु सेवा कम्पनी बुद्ध एअर, यती एअरलाइन्स, श्री एअरलाइन्स, सौर्य एअरलाइन्सलगायत कम्पनीको बुकिङ अहिले उत्साहजनक छैन । भएका बुकिङ पनि काठमाण्डौबाट बाहिर जाने एकतर्फी मात्रै सामान्य छन् । 

बुद्ध एअरका बजार निर्देशक रुपेश जोशीले नजिकिएको दशैँका लागि हवाई टिकट बुकिङ उत्साहजनक नरहेको बताउनुभयो । उहाँका अनुसार काठमाण्डौबाट एकतर्फी बुकिङ सामान्य छ । फर्कदा आधाभन्दा पनि कम यात्रु हुन्छन् । यस पटक दशैँको एक र दुई दिनअघि पनि यात्रुले सहजै टिकट पाउने निर्देशक जोशीले बताउनुभयो । बुद्धले अहिले दैनिक दुवैतर्फी गरी ६४ उडान गर्दै आएको छ ।

सामान्य अवस्थामा दशैँका बेला विशेष गरी फूलपातीदेखि विजयदशमीसम्मको १५ दिनअघि नै टिकट बुकिङ भइ सक्थ्यो । यो पटक सस्तो भाडादर कायम गर्दा पनि यात्रुको आकर्षण बढेको छैन । यती एअरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौला यसपालिको दशैँको बुकिङ पहिलाको जस्तो उत्साहवर्द्धक नभएको बताउनुहुन्छ । कोभिड–१९ महामारीका कारण यात्रुमा एकखालको त्रास रहेकाले हवाई भाडादर सस्तो हुँदा पनि बुकिङ राम्रो छैन । प्रवक्ता बर्तौलाका अनुसार तुम्लिङटार बाहेकका गन्तव्यमा सधैँका लागि सहजै टिकट पाइनेछ । यो गन्तव्यमा बुद्ध र यतीका सानो ३० सिट क्षमताका जहाजले उडान भर्ने हुँदा हरेक वर्ष अत्यधिक चाप हुने गरेको छ । यतीले दैनिक दुईतर्फी ३८ उडान गर्दै आएको छ ।

श्री एअरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धर पनि कोरोना महामारीले अस्तव्यस्त पारेका कारण दशैँका लागि बुकिङ सन्तोषजनक नभएको बताउनुहुन्छ । अहिले दशैँका लागि टिकट सहज र सस्तो भएको र एकतर्फी अकुपेन्सी राम्रै रहेको उहाँले बताउनुभयो । श्रीले पोखरा, सिमरा, जनकपुर, राजविराज बाहेक अन्य सबै गन्तव्यमा उडान गरिरहेको छ । 

वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले यस पटकको दशैँका लागि हवाई उडानमा उत्साहजनक नभएको बताउनुभयो । उहाँका अनुसार अहिले उडिरहेकै जहाजमा पनि फूल अकुपेन्सी छैन । दशैँको तीन र चार दिन दुई र चार उडान थपिने प्रवक्ता शर्माले बताउनुभयो । भद्रपुर, विराटनगर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी गन्तव्यमा दशैँका लागि केही उडान थपिन सक्ने उहाँको भनाइ छ ।

विगतका दशैँ, तिहार, छठलगायत चाडपर्वका बेला हवाई जहाजको टिकट पाउनै यात्रुलाई हम्मे पर्दथ्यो । कोभिड–१९ महामारीका कारण ६ महिनापछि आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालनमा छ । राजधानी काठमाण्डौलगायत कतिपय जिल्लामा महामारी उच्च बिन्दुमा पुगेको छ । महामारीबाट जोखिन यस पटकको दशैँमा विगतको जस्तो चहलपहल हुने छैन । त्यही कारण पनि हवाई क्षेत्रमा उत्साह छैन । सरकारले पनि दशैँ जहाँ जस्तो अवस्थामा रहेको त्यही मनाउन, भिडभाड नगर्न आग्रह गरिरहेको छ । आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया